कांग्रेस महाधिवशेन एक वर्ष सार्ने प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा आगामी फागुन ७–१० मा हुने भनिएको महाधिवशेन एक वर्ष सार्ने प्रस्ताव भएको छ ।

पार्टी संस्थापन पक्षले २०७८ साल भदौमा १४औं महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । पार्टीभित्रको विवाद समाधान गरेर नेता रामचन्द्र पौडेल पक्षले निर्धारित समय फागुन ७ देखि १० मै गर्नुपर्ने अडान राख्दै आएको छ ।

पार्टीको विधानअनुसार हरेक चार वर्षमा महाधिवशेन गर्नुपर्ने प्रावधान रहेको छ । नियमित चार वर्षपछि थप गरिएको एक वर्षमा पनि नहुँदा संविधानले दिएको अन्तिम ६ महिनाको समयमा महाधिवेशन गर्ने कानुनी बाध्यतमा कांग्रेस रहेको छ । विशेष समय भन्दै एक वर्षका लागि थपिएको म्याद पनि आगामी फागुन १९ बाट सकिँदै छ ।

सभापति शेरबहादुर देउवाले पौडेल पक्षको १६ बुँदे मागका विषयमा छलफल गर्न आफ्नै निवासमा बोलाएको पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यको बैठकमा संस्थापनपक्षकै नेता ज्ञानेन्द्रबहादुर कार्कीले २०७८ भदौमा महाधिवेशन गर्ने विषय उठाउनुभएको बताइएको छ । संस्थापनपक्षका नेताबाट महाधिवेशन भदौसम्म सार्ने विषय उठेपनि पौडेल पक्षले असन्तुष्टी जनाएको छ ।

महाधिवेशनको तयारी पूर्व गर्नुपर्ने आन्तरिक समायोजनका काम अझै सकिएको छैन । सबैभन्दा जटिल हुने र महाधिवेशनमा जितहारमा भूमिका खेल्ने सदस्यताको विषय पनि कांग्रेसमा टुंगिसकेको छैन । सदस्यताको विषय सधैं पेचिलो र विवादित बन्ने गरेको छ ।

टिप्पणी थप्नुहोस्