रुकुम पूर्वका सबै स्थानीय तहमा एम्बुलेन्स

-राजु लामिछाने

रुकुम पूर्व । रुकुम पुर्वमा रहेका तीन वटै स्थानीय तहले एम्बुलेन्स सेवा संचालनमा ल्याएका छन् । जिल्लाका सिस्ने, भुमे र पुथाउत्तरगंगा गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएका हुन् ।

सिस्ने गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनको क्रममा गाउँपालिका भित्रका सुत्केरी बेथा लागेका महिलाहरुलाई निशुल्क सेवा दिने जनाएको छ । ‘सुत्केरी बेथा लागेका महिलालाई जिल्ला अस्पतालसम्म निशुल्क पुर्‍याउँने योजना रहेको छ,’ सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले भनिन्, ‘आवश्यकता अनुसार सेवा प्राथमिकिकरण गरेर संचालन गर्नेछौं ।’

भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले विरामीको प्रकृति अनुसार सहुलीयतको व्यवस्था गर्ने जनाए । यसका साथै गरिव, विपन्न र जटिल प्रकतिका विरामिहरुलाई विशेष छुटका साथ सेवा दिने योजना पनि अध्यक्ष बुढाले उल्लेख गरे ।

पुथाउत्तरगंगा गाउँपालिकाले भने आफैंले संचालन गर्नेकी समितिमार्फत संचालन गर्ने भन्ने विषयमा टुङगोमा पुग्न बाँकी रहेको प्रमुख प्रशासकिय अधिकृत रविन्द्र बुढाक्षेत्रीले बताए ।

जिल्लाका तीन स्थानीय तहका आ–आफ्नै एम्बुलेन्स भएपछि जो जस्ले जसरी संचालन गरेपनि गम्भिर विरामीहरुलाई सम्बन्धित स्वास्थ्य संस्थासम्म पुर्‍याउन सजिलो हुने नागरिकहरुले आशा लिएका छन । यसअघि जटिल प्रकृतिका बिरामीहरुलाई सार्वजनिक सवारी साधन मार्फत स्वास्थ्य संस्थामा पुर्‍याउनु पर्ने झन्झटिलो अवस्थाको अव अन्त्य हुने समेत बिश्वास गरिएको छ ।

सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकाले आफ्नै लगानीमा एम्बुलेन्स ल्याएका हुन् भने भूमे गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारले दिएको अनुदानको रकमले एम्बुलेन्स ल्याएको हो । सिस्ने र पुथाले गत आर्थिक वर्षमा खरिद प्रक्रिया अगाडि बढाएकोमा विभिन्न कारणले गत वर्ष खरिद गर्न नसकि यस वर्ष ल्याइएको बताएका छन् ।

सिस्ने र भुमेले जिल्ला प्रशासनले बनाएको एम्बुलेन्स संचालन कार्यविधि अनुसार नै एम्बुलेन्स संचालन गर्ने तयारी गरेका छन् । यसअघि जिल्लामा जिल्ला अस्पताल मातहत रहनेगरी लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको एउटा एम्बुलेन्स संचालनमा रहेको थियो । अब भने जिल्लामा चारवटा एम्बुलेन्स संचालनमा आएका छन ।

टिप्पणी थप्नुहोस्