डमी ट्राफिक प्रहरीले गीत बजाउँछन, यात्रु सुन्छन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ सुरु गरेको छ ।

सर्वसाधारणलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ‘सांगीतिक डमी अभियान’ सुरु भएको हो ।

उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियमसम्बन्धी विभिन्न गीतहरु बजाएर ट्राफिक नियमकोबारेमा जानकारी दिइनेछ ।

ट्राफिक नियमबारे नागरिकलाई सुसूचित गर्ने र नियमको पालना भए दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए ।

विश्वका अन्य देशहरुमा जस्तो विद्यालय शिक्षामा ट्राफिक नियमसम्बन्धी पाठ्यक्रम नसमेटिएको अवस्थामा ट्राफिक प्रहरीले आफ्नो पहलमा विभिन्न कार्यक्रम गर्दै सचेतना फैलाइरहेको उनले बताए ।

पहिलो चरणमा काठमाडौं उपत्यकामा पाँच स्थानहरु रत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ बानेश्वर र नयाँ बसपार्कमा सांगीतिक डमी अभियानको शुभारम्भ गरिएको छ ।

अभियानबाट प्रतिदिन तीन हजार र एक महिनामा तीन लाखलाई ट्राफिक नियमसम्बन्धी सचेतना जगाउने लक्ष्य ट्राफिक प्रहरीले लिएको छ ।

अहिले एकजना ट्राफिक प्रहरीले प्रतिदिन ११ सय सवारी हेर्नुपर्ने बाध्यता रहेको छ । करिब १२ लाख सवारी रहेको उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि १५ सय ट्राफिक प्रहरी कार्यरत् रहेका छन् ।

केही समयअघि जनचेतनामूलक सन्देशसहित ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक डमी राखिएको थियो । त्यो अभियानले सकारात्मक सन्देश दिएको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक नियमबारे जनचेतना जगाउन माइक समातेका डमी प्रहरीले स्पिकरमा रेर्कड गरिएका गीत बजाउने गर्छन ।

टिप्पणी थप्नुहोस्