अध्यक्ष दाहालसहित पाँच सचिवालय सदस्यले ओलीलाई बुझाए लिखित पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सचिवालय बैठक आह्वानका लागि लिखित अनुरोध गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष दाहालसहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र श्रेष्ठले तत्काल बैठक बोलाउन लिखित माग गरेको उनले बताए ।

उनले भने, सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वयन गर्ने दिशातिर जाने गरी निष्कर्ष निकालौं भनेर अनुरोध गरिएको हो ।’

कोभिड–१९ ले पैदा गरेको स्वास्थ्य संकट, जनतामा देखापरेको समस्या, आर्थिक संकटलगायतका विषयमा छलफल गर्न बैठकको माग गरिएको श्रेष्ठले बताए ।

यस्तै, स्थायी कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयन अगाडि बढ्न नसकेको अवस्थाको समीक्षा र पार्टीमा उत्पन्न संकटको सम्बन्धमा छलफल गर्दै पार्टी एकताको रक्षा गर्न पनि बैठक आवश्यक रहेको उनले बताए ।

कार्यकारी अध्यक्ष दाहालले पटक–पटक बैठकका लागि आह्वान गर्दा पनि बस्न नसकेको अवस्थालाई मध्यनजर गर्दै शनिबार लिखित अनुरोध गरिएको श्रेष्ठको भनाइ छ ।

बैठक बस्नेबारेमा भने ओलीले शनिबार निष्कर्ष नदिएको उनले बताए । यसअघि, शनिबारै बिहान कार्यकारी अध्यक्ष दाहालसहितका सचिवालय सदस्यहरुको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो ।

टिप्पणी थप्नुहोस्