नेकपा सचिबालय बैठक कात्तिक २७ गते राख्न प्रचण्डको प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको औपचारिक बैठक यही कात्तिक २७ गते राख्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अनुरोध गरेका छन् ।

मंगलबार बालुवाटार पुगेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उक्त मितिमा बैठक राख्न प्रस्ताव गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन ।

तर, प्रधानमन्त्री तथा अध्यक्ष ओली भने सचिवालय बैठक बोलाउने कुरामा सहमत भइनसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ । पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बसेको बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठकमा उक्त दिनसम्म कुर्ने निर्णय भएको छ ।

धुम्बाराही जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष दाहालले ओलीसँग भेटघाट गरी छिटोभन्दा छिटो बैठक डाक्न अनुरोध गरेको उनले धुम्बाराहीमा बहुमत सचिवालय सदस्यलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओली बुधबार (भोलि) किमाथांका जाने भएकाले २७ गते बिहीबार सचिवालय बैठक बोलाउन अध्यक्ष दाहालले प्रस्ताव गर्नुभएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यसअघि, कात्तिक २२ गतेपनि पार्टी अध्यक्ष दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टी मुख्यालय धुम्बाराहीमै अनौपचारिक छलफल गरी सचिवालय बैठक राख्न लिखितरूपमै अध्यक्ष ओलीसँग माग गरेका थिए । तर, ओली तयार नभएपछि कसरी अघि बढ्ने भन्नेबारे मंगलबार सामान्य छलफल भएको जनाइएको छ ।

टिप्पणी थप्नुहोस्