विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री रहेका खलिफाको निधन

एजेन्सी । विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहेका बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । बहराइनको सरकारी मिडियाकाअनुसार खलिफाको बुधबार ८४ वर्षको उमेरमा निधन भएको हो ।

खलिफाको अमेरिकामा उपचारको क्रममा निधन भएको बहराइनको समाचार संस्था बहराइन न्यूज एजेन्सीले जनाएको छ ।

सन् १९७१ देखि निरन्तर प्रधानमन्त्री रहेका खलिफाले ५४ वर्ष सरकार चलाए । अमेरिकाको मायो क्लिनिक अस्पतालमा खलिफाको मृत्यु भएको बताइएको छ । मृत्युको कारणबारे खुलाइएको छैन ।

बहराइनका राजा शेख हमाद बिन इसा अल खालिफाले एक हप्ताको औपचारिक शोकको घोषणा गरेका छन् । उनको पार्थिव शरीर बहराइन ल्याएपछि सीमित व्यक्तिहरुबीच अन्तिम संस्कार गर्ने कार्यक्रम रहेकोसमेत दरबारले बताएको छ ।

टिप्पणी थप्नुहोस्