भारत र नेपालका मन्त्रीद्वारा जमुनाह नाकामा आइसिपी निर्माणको सिलन्यास

रुपान्तरण सम्वाददाता

नेपालगञ्ज । सम्झौता भएको १५ वर्षपछि नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा निर्माण गरिने एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को निर्माण कार्य विहीबारबाट शुरु भएको छ ।

विहीबार अपरान्ह भारतका उद्योग वाणिज्य मन्त्री पियुष गोयल र नेपालका सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले संयुक्तरुपमा भिडियो कन्फ्रेन्स मार्फत यहाँ निर्माण गरिने एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को निर्माण कार्यको सिलन्यास गरेका छन् ।

सो अवसरमा भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन गर्दै दुबै देशका मन्त्रीले निर्माण शुरु हुन ढिला भएकोमा चिन्ता व्यक्त गर्दै अब चाहि समयमै काम पुरा हुने विश्वास दिलाए । परियोजना पुरा भएपछि नेपाल भारत व्यापारमा बृद्धि हुनुका साथै दुबै देशको सम्बन्ध झनै प्रगाढ हुने पनि दुबै मन्त्रीले जनाए ।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई बाँकेका प्रमुख गणेश कर्माचार्यका अनुसार दुबै देशका मन्त्रीले निर्माणस्थलमै आएर सिलन्यास गर्ने कार्यक्रम रहेपनि कोभिड १९ का कारण सो संभव नहुँदा भिडियो कन्फ्रेन्स मार्फत सिलन्यास गरिएको बताए ।

उनले सो अवसरमा निर्माणस्थलमा नेपाल र भारत दुबैतर्फका सांसद, सभासद, उच्च सरकारी अधिकारी, उद्योगी व्यवसायीलगायतको उपस्थिति रहेको बताए । लामो समयमको अन्योलपछि आइसीपी निर्माणका लागि राइट्स लिमिटेडलाई परामर्शदाता तोकिएको छ भने भारतको राजदीप बिल्डकन कम्पनीले निर्माणको जिम्मा पाएको छ ।

आगामी दुई वर्षभित्र एकीकृत भन्सार जाँच चौकीको निर्माण पुरा हुनेगरि काम शुरु गरिने जनाइएको छ । आइसीपीका लागि नेपाल सरकारले भारतको रुपैडिया नाकासँग जोडिएको साढे ९० बिघा जग्गा अधिग्रहण गरी तारवार गर्नुका साथै सुरक्षा पोष्ट समेत स्थापना गरिसकेको छ ।

आइसीपी निर्माणका लागि नेपाल सरकारले जग्गा अधिग्रहण गरेको दस वर्षपछि भारत सरकारले निर्माणको प्रकृया अघि बढाएको हो । भारत सरकारको सहयोगमा २ अर्ब ३५ करोड रुपैयाँ लागतमा आइसीपी निर्माण हुनेछ ।

आइसीपी निर्माण कार्य शुरु गरिएकोमा बाँकेका उद्योगी व्यवसायीले खुशी व्यक्त गर्दै समयमै काम पुरा गर्नु पर्नेमा विशेष जोड दिएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सम्झौता भएको १५ वर्षपछि आइसीपीको निर्माण कार्य शुरु गरिएकोमा दुख व्यक्त गर्दै ढिलै भएपनि काम शुरु गरिएकोमा सन्तोष जनाए ।

उनले अब निर्धारित दुई वर्षमै काम पुरा गरेर आइसीपी सञ्चालनमा ल्याउनु पर्ने यस क्षेत्रका सम्पुर्ण उद्योगी व्यवसायीको माग रहेको बताए ।

टिप्पणी थप्नुहोस्