रुकुम पूर्वमा राडीपाखीको माग बढी, उत्पादन कम

-राजु लामिछाने

रुकुम पूर्व । चिसो मौसमका लागि बढी उपयुक्त हुने राडिपाखीको उत्पादन घट्दै गएको छ । चिसो समय सुरु हुनसाथ अध्याधिक मात्रामा बढ्ने राडिपाखीको कारोबार पछिल्लो समय भने जिल्लामा घट्दै गएको छ ।

पछिल्ला केहि वर्षयता जिल्लामा भेडाको ऊन, अल्लो, केतुके, केरा लगायतका रेसाबाट निकालिने धागोबाट तयार पारिने न्यानो कपडाको उत्पादन घट्दै गएको स्थानीयले बताएका छन् । राडीपाखी उत्पादन गर्ने क्रम घट्दै गएपछि कारोबार पनि घटेको हो ।

स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपी लगायतका वस्तुहरु पहिले जसरी सहजै रुपमा पाउँन मुस्किल हुने गरेको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तोपे सेन ठकुरीले बताए । अहिले विशेष गरेर राडिपाखी बनाउँने चलन घट्दै गएको उनले जनाए ।

सीपको पुस्तान्तरण हुन सकेन

राडीपाखी तयार पार्न समय लाग्ने र झन्झटीलो हुने भएकाले पनि त्यसतर्फ पछिल्लो पुस्ताको ध्यान जान सकेको छैन । बुढापाखा र सीप भएका व्यक्तिहरुबाट नयाँ पुस्तामा उक्त सीप हस्तान्तरण हुन नसक्नु र युवा पुस्ताले पनि यस सीप तर्फ खासै ध्यान नदिएकै कारण राडीपाखी निर्माणको पेशा धरापमा पर्दै गएको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तोपे सेन ठकुरीको भनाई छ । स्थानीय रुपमा पाईने कच्चा पदार्थको उपयोग, बजार माग र आवश्यता अनुसार राडिपाखीको उत्पादन व्यबसायीक बनाउँन सीप हस्तान्तरण आवश्यक देखिन्छ ।

सिरकतर्फ आकर्षण

पछिल्लो समय स्थानीय स्तरमै न्यानो सिरक पाइन थालेपछि राडीपाखी निर्माणतर्फ चासो घटेको पाइन्छ । छोटो समय र कम मेहनतमै सिरक तयार पार्न सकिने र खरिदको लागि समेत पाइने हुनाले स्थानीयहरु सिरकतर्फ आकर्षित भएको बताइन्छ । एउटा राडी (कम्बल) तयार पार्न १५ देखि २० दिनसम्म लाग्छ भने सिरक बनाउन थोरै समय लाग्ने गर्दछ ।

एउटा राडीपाखीको मूल्य एक हजार ५ सयदेखि दश हजार सम्मपर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–६ मयाङकी पूर्णचरी मल्लले बताइन । भेडाको ऊन तथा अल्लोबाट बनेका कपडाको माग बजारमा बढ्दै गएको तर उत्पादन घट्दै गएकाले माग अनुसारको राडीपाखी बजारमा पु¥याउन नसकिएको मल्लले जनइन । जिल्लाको तकसेरा, कोल राङ्सी, मयाङ, सिस्ने, हुकाम, मैकोट, जाङ, काँक्री लगायतका ठाउँका राडिपाखी तयार गर्ने गर्दछन् ।

राडीपाखी खोज्दै घरमा
बजारको माग अत्याधिक र उत्पादन न्यून भएपछि मानिसहरु राडिपाखी खोज्दै घरमै पुग्ने गरेको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ मयाङका तारा सेनले बताइन् । जिल्लामा उत्पादित राडीपाखी न्यानो, बलियो र गुणस्तरीय हुने भएकाले जिल्लाका विभिन्न ठाउँका साथै पोखरा, काठमाडौँ, नेपालगञ्ज, सुर्खेत लगायत शहरमा यसको माग बढ्दो छ । यहाँ उत्पादित राडीपाखीको जिल्ला बाहिरबाट आएका पाहुनाहरुलाई उपहार लागि समेत दिने चलन रहेको छ ।

जिल्लाको पुथाउत्तरगंगा र भूमे गाउँपालिकामा प्रशस्त मात्रामा भेडा पालिन्छ । विगतका वर्षहरुमा जिल्लामा असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोवार बढ्ने गरेको थियो । राडीपाखी उत्पादनको कामलाई व्यवसायिक उद्योगको रुपमा विस्तार गर्न सके स्वरोजगार सिर्जना हुने देखिन्छ ।

टिप्पणी थप्नुहोस्