कतारका राजकुमारले भने–नेपाल विश्वकै सुन्दर देश

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लागेका कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लालाई बधाई तथा सम्मान गरेका छन् ।

शनिबार आयोजित कार्यक्रममामन्त्री भट्टराईले कोभिड–महामारीबीच राजकुमार अब्दुल्लाले हिमाल आरोहण गरी नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाउनुभएकामा कृतज्ञता व्यक्त गर्दै राजकुमारसहितको आरोही टोलीलाई मायाको चिनो प्रदान गरी बधाई दिए ।

उनले पर्यटकीय गतिविधि क्रमशः चलायमान हुँदै गएकाले अब छिट्टै नेपालको पर्यटन पुरानै लयमा फर्किने विश्वास व्यक्त गरे । मन्त्री भट्टराईले भने “दुई विशिष्ट व्यक्तिको हिमाल आरोहणले नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएको छ । यो असाध्यै खुशीको कुरा हो । अब विस्तारै नेपालको पर्यटन पुरानै लयमा फर्किँदैछ, त्यसैले विदेशी पाहुनालाई स्वास्थ्य मापदण्ड पालना गरी नेपाल भ्रमणमा आउन आग्रह गर्दछु ।”

राजकुमारसहित १३ सदस्यीय टोलीले यही कात्तिक २६ गते बिहान ११ः२० बजे ६ हजार ८१४ मीटर अग्लो अमादब्लमको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । उक्त आरोहण अमादब्लम हिमालमा शरद् ऋतुको पहिलो थियो । राजकुमारसहितको आरोही टोलीमा ६ आरोही सदस्य थिए ।

त्यसमा केही अमेरिकी र क्यानडाली पनि सहभागी थिए । उक्त आरोहणमा म्यारेट मेडिसिनको नेतृत्वमा ६ विदेशी र आठ नेपाली सहभागी थिए । सन् २००९ देखि नेपाल आउन थालेका राजकुमार अब्दुल्लाको यो आठौं भ्रमण हो ।

सन् २०१३ मा सगरमाथा आरोहण गरेका उनी तीन पटक सो हिमालको आधार शिविर पुगेका थिए । नेपालका अन्य पर्यटकीय गन्तव्यको स्वाद लिएका अब्दुल्लाले नेपालको प्राकृतिक सुन्दरता र आतिथ्य सत्कारबाट आफू प्रभावित रहेको जनाउँदै नेपाल विश्वकै सुन्दर देश भएकाले फेरि पनि नेपाल आउने चाहना प्रकट गरे ।

उनीआइतबार स्वदेश फर्कने जनाइएको छ । यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोली आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री