प्रचण्डको प्रतिवेदन सार्वजनिकपछि गगनले भने: दुई नेता मिल्दैमा क्षम्य हुनेछैन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीमाथि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोप सार्वजनिक चासोको विषय भएकाले दुई नेता मिल्दैमा क्षम्य नहुने धारणा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री असक्षम भइसकेको भन्दै दाहालको आरोपमा समर्थन जनाउँदै प्रमुख प्रतिपक्षी दलका नेता थापाले सरकारको नेतृत्व गर्न प्रधानमन्त्री ओली अयोग्य भइसकेको टिप्पणी एउटा लामो विज्ञप्तिमार्फत् गरेका हुन

थापाले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, पुष्पकमल दाहाल प्रचण्डज्यू कसले कसलाई फकाउने हो, कसले कसलाई तर्साउने हो, तपाईंहरू नै जान्नुहोस् । तर याद राख्नुहोस्, प्रधानमन्त्री ओली असक्षम, अनैतिक र भ्रष्ट हुनु भएकोले सरकारको नेतृत्व गर्न अयोग्य हुनु भएको नेकपा अध्यक्षको ठहर अब सार्वजनिक सरोकारको विषय भइसक्यो । जुन तपाईंहरूको मन पखालिएर पखालिँदैन ।’

प्रधानमन्त्री ओलीले विदेश मामिला र कूटनीतिमा नेपालको स्वतन्त्र नीतिसँग मेल नखाने व्यवहार देखाउँदै देशलाई क्षति पु¥याएको आरोप लगाउँदै थापाले नेकपाभित्रको आन्तरिक शक्ति सङ्घर्ष राष्ट्रिय सरोकारको विषय बनेको पनि उल्लेख गरेका छन ।

मुलुकमाथि गरिएको वेपर्वाह लापरवाहीका बारेमा सदन र सडक दुबैतिर आवाज उठाउने र हिसाब मागिने भन्दै उनले भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नु भएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनु भएको एकएक प्रकरणको हिसाब किताब अब संसद् र सडक दुबैबाट मागिने छ ।’

कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीमाथि गम्भीर आक्षेपसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

दाहालले एकल रुपमा १९ पृष्ठको प्रतिवेदनमा लेखिएको थियो, ‘नेकपाको संसदीय दलले चुनेर प्रधानमन्त्री बन्नु भएको खड्गप्रसाद ओलीले स्वच्छ सरकार र सुशासनको कार्यदिशा विपरीत सरकार चलाउनु भयो, त्यस्तै ‘भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसन खोरी’ नियन्त्रण गर्न सार्थक पाइला चाल्नुको सट्टा वाइडबडी विमान खरिद प्रकरण, सुरक्षण छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्ससँगको अपारदर्शी र शंकास्पाद कारोबार, स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहसँग साँठगाँठ र बजेट सार्वजनिक गर्नुपूर्व गोप्य राख्नुपर्ने करको दर-रेट परिवर्तनलाई चुहाएर विद्युतीय सवारी र चकलेट आयातमा अनियमितता जस्तो प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो, कोरोना महामारी विरुद्ध राष्ट्रिय एकताको साथ अगाडि बढ्नु पर्ने बेला पार्टी विभाजन र सत्ताको खेलमा लागेर ओलीले राजनीतिक विवाद मात्र सिर्जना गर्नु भएन कानुन सम्मतको विपद् व्यवस्थापनको राज्य संयन्त्रलाई निष्कृय तुल्याउनु भयो ।’

टिप्पणी थप्नुहोस्