नेपालमा कोरोना भाइरसविरुद्धको खोप र औषधि प्रयोग गर्न बाटो खुल्यो

काठमाडौं । औषधिसम्बन्धी अध्यादेश–२०७७ जारी भइसकेकाले अन्तर्राष्ट्रियस्तरमा उत्पादन भइरहेका कोरोनाभाइरसविरुद्धको खोप र औषधि अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधिसम्बन्धी अध्यादेश–२०७७ जारी गरेपछि महामारीको समयमा विदेशमा प्रयोग गरिएका औषधि र खोप नेपालमा पनि प्रयोग गर्न र ‘क्लिनिकल ट्रायल’समेत गर्न सकिने भएको हो ।

तत्काल नेपालमा खोप ल्याउनका लागि झन्डै ७० अर्ब रुपैयाँ बराबर खर्च हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरसविरुद्धको खोप वा औषधि आपत्कालीन प्रयोगका लागि नेपाल ल्याउन सकिने अध्यादेश जारी भएसँगै महामारीको समयमा अन्य देशले प्रयोग गरेको औषधि र खोप नेपालमा प्रयोग गर्ने बाटो खुलेको छ ।

यसअघि, कोरोनाभाइरसविरुद्ध बनिरहेको खोप नेपालमा प्रयोग गर्न सकिने सरकारले निर्णय गरेको थियो । जसका लागि अध्यादेश बनाउने निर्णय भएको थियो । सोअनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि तेस्रो संशोधन अध्यादेश जारी गरेकी हुन ।

योसँगै महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम र निर्मूलीकरण गर्न विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेका र सम्बन्धित देशमा दर्ता भएका औषधि वा खोप ती देशले आपत्कालीन प्रयोग गर्न स्वीकृत दिए नेपालमा प्रयोग गर्न सकिन्छ ।

ती औषधि औषधि व्यवस्थापन विभागमा दर्ता गरेरमात्र प्रयोग गर्नुपर्ने अध्यादेशमा उल्लेख गरिएको छ ।आपत्कालीन प्रयोगका लागि दर्ता भएका औषधि वा खोपको क्लिनिकल ट्रायल गर्नुपर्दैन ।

अध्यादेशले अब विदेशमा बनेका खोप र औषधि नेपालमा क्लिनिकल ट्रायल गर्न सकिने कानुनी बाटोसमेत खुलाएको छ

टिप्पणी थप्नुहोस्