शेयर बजार: एकै दिन सात अर्बको कारोबार

-आरती शर्मा

काठमाडौं । मुलुकका सबै व्यवसायिक क्षेत्र धरासायी भइरहेका बेला शेयर (पुँजी) बजारमा भने हरियाली छाएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दैनिक नयाँ रेकर्ड कायम हुने क्रम जारी छ ।

आइतबार करिब ७ अर्बको शेयर कारोबार भएको छ । ६ अर्ब ९० करोड ६७ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । एकैदिन यति धेरै रकमको शेयर कारोबार भएको इतिहासमै पहिलो पटक हो । लगानीकर्ताले घरबाटै सेयरको कारोबार, रकम भुक्तानि तथा सेयर हस्तान्तरण गर्न सक्ने भएपछि कारोबार रकम लगायत सेयर बजारका अन्य परिसूचकहरुमा सकारात्मक प्रभाव परेको हो ।

बिहीबार ६ अर्ब ११ करोड ६७ लाखको कारोबार भएको थियो । ३० हजार लगानीकर्ता सहभागी भएको दिन थियो । बिहीबार भएको कारोबारमा ८६ दशमलव २४ प्रतिशत कारोबार अनलाइन मार्फत भएको थियो ।

साताको पहिलो दिन आज (आइतबार) १ करोड ६० लाख ३४ हजार ७ सय १७ कित्ता सेयर किनबेच भएको छ । नेप्से ४.६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ विन्दुमा पुगेकोे छ । आज कारोबार भएका समूहमध्ये बैंकिङ क्षेत्र बाहेक अन्य घटेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका लिमिटेडका प्रवक्ता मुराहरि पराजुलीका अनुसार, मंसिर ४ गते बिहीबार ५६ हजार ३ सय ४१ पटक कारोबार भएको थियो । जसमा अर्ब ११ करोड ६७ लाख ३० हजार रुपैयाँ बराबरका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच भएको थियो ।

यसअघि २०७६ फागुन ११ गते ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेन्जले दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउन अटोमेटेड अनलाईन ट्रेडिङ सिस्टम स्थापना गरेपछि कारोबारको आकार बढ्दै गएको हो ।

 

टिप्पणी थप्नुहोस्