लिम्बु समुदायको पहिचान नै संकटमा

-हर्ष सुब्बा

धरान । पहिचान सहितको संघीयतामा लिम्बुवान प्रदेशको माग हराइसकेको छैन् । प्रदेश १ को नामाकरण पहिचान सहितको हुनुपर्ने मागको आन्दोलनमा पनि यो जोडिएको छ । तर ऐतिहासिक पृष्टभूमि रहेको दाबी गर्दै आएका लिम्बु समुदायको पहिचानमा भने उनिहरुबीच नै बढेको विवादले संकट उत्पन्न भएको छ ।

बार्‍हौं राष्ट्रिय जनगणनामा यो समुदायको जाति, भाषा र धर्मको नामनै बदल्ने पक्षमा एकथरीले अभियान नै शुरु गरेका छन् । अर्काथरी २०४८ देखी उल्लेख हुँदै आएको नामै लेखाउनु पर्ने अडानमा छन् । सामाजिक सञ्जाल मार्फत संगठित र संस्थागत शुरु भएको यस्तो प्रचारले लिम्बु समुदायको पहिचानमानै संकट उत्पन्न हुने देखिएको हो ।

लिम्बु जातीको प्रतिनिधिमुलक संगठन किरात याक्थुङ चुम्लुङले मंसिर ८ गते विज्ञप्ती जारी गर्दै जनगणनामा जाती लिम्बु, पुर्खाको भाषा लिम्बु, मातृभाषा लिम्बु र धर्म किरात लेखाउन अपिल गरेको छ । मौलिकतावदीको दाबी गर्दै फरक धारणा लिएर गठन भएको युमा साम्यो महासभाले भने पर्चा जारी गर्दै जाति याक्थुङ लिम्बु, पुर्खाको भाषा याक्थुङ, मातृभाषा याक्थुङ, धर्म युमा धर्म लेखाउन अनुरोध गरेको छ ।

नेपालमा बार्‍हौं राष्ट्रिय जनगणनामा २०७८ बैशाख वैशाख २६ देखि जेठ १४ गते सम्पन्न गरिने सरकारले घोषणा गरेको छ । चुम्लुङले लिम्बु जाति नेपालमा अदिबासी जनजाति आन्दोलन समेतले स्थापित गरेको स्पष्ट, संगठित, प्रचलित, परिचित पहिचान भएको स्पष्ट गरेको छ । संविधानले राष्ट्रभाषाको रुपमा मान्यता दिएको मातृभाषा लिम्बु हो । केन्द्रिय अध्यक्ष योगराज वनेमले विज्ञप्तीमा भनेका छन् ‘जनगणा राजनीति र विज्ञानको समिश्रण हो । विकास र पहिचानको आधार हो ।’

यसपालीको जनगणनामा युमा साम्योको प्रभावमा लिम्बुको ठाउँमा याक्थुङ लेखाउनेको संख्या बढे समुदायले अहिले सम्म पाएको पहिचान खण्डित हुने देखिएको छ । तथ्याङकमा परिवर्तन ल्याउने मात्र नभई युमा साम्यो प्रचलित पहिचान बदल्ने अभियानमा अघि बढेको बुझिन्छ ।

साम्यो महासचिव डा.रमेश इजम भन्छन् ‘याक्थुङ नामले दिने मौलिक पहिचान लिम्बु नामले दिदैंन ।’ उनका अनुसार प्रागऐतिहासीक कालमा आआफ्ना गढीका राजा लाई लिम्बुहरु यकतुम्बा भन्दथे । अप्रभंस भएर याक्थुङबा भन्न थालियो । त्यसैबाट जातिको नाम बसेकोले मौलिक रुपमा लिम्बुहरु याक्थुङ हुन् । मातृभाषा याक्थुङ हो ।

लिम्बु नाम पछिल्लो कालखण्डमा इतिहासकार इमानसिंह चेम्जोङले राखेका हुन् । उनले धनुर्धारी पुर्खा लिलिमको सन्दर्भ उल्लेख गर्दै याक्थुङ भाषा लि-धनुष, आबु-भिरेको अर्थमा जातिको नाम लिआबु राखेकोमा अप्रभंस भई लिम्बु भएको बताए ।

समुदायको यो नयाँ पहिचानको तर्कलाई चुम्लुङले अहिलेसम्म लिम्बु समुदायको स्थापित पहिचानको विकल्पका तर्क र बहस जनसंख्या घटाउन कुटिल षडयन्त्र भएको बताएको छ । विज्ञप्तीमा भनिएको छ ‘हामीले स्थापित गरेको जाति, भाषा र धर्मको परिचय, जनसंख्या कम गराउन भइरहेका विभिन्न कुटिल षडयन्त्रहरुप्रति गम्भिर भई परास्त गरौं ।’

युमा साम्योले लिम्बुको सट्टा जाति, भाषा याक्थुङ, धर्म युमा भएको परापूर्वकाल देखी माङगेन्न, तङसिङ, चासोकसहित कुलको पूजा अर्चन गर्ने, गराउने गुरुहरु पेगिफङसामहरु, अगुवा तुतु तुम्याहाङहरुको मार्गनिर्देशन अनुसार नयाँ पहिचान स्थापित गर्न प्रचार समाग्रीमा लिम्बु समुदायलाई आव्हान गरेको छ ।

सामाजिक सञ्जालमा लिम्बु अगुवाहरु विच अहिले असली पहिचानबारे व्यापक दोहोरी चलेको छ । लिम्बुवानका पक्षधर दिलेन्द्र कुरुम्बाङले लेखेका छन् ‘लिम्बु र किरात शव्द आयातित हुन मौलिक होइनन् । यीनले हाम्रो मौलिक पहिचान लाई क्यारी गर्दैन (बोक्दैन)।’ मातृभाषा अभियन्ता मुक्साम लाओतीले लेखेका छन् ‘चुम्लुङ चाँही याक्थुङहरुको, जनगणनामा जाति चाँही ‘लिम्बु’ लेख्नुपर्ने ? स्वपहिचानको कुरा गर्ने, आफ्नै पहिचान स्थापित किन नगर्ने ?’

चुम्लुङकै आव्हानमा लिम्बु समुदायले २०४८, २०५८ र २०६८ सालमा भएको राष्ट्रिय जनगणनामा जाति लिम्बु, मातृभाषा लिम्बु र धर्म किरात लेखाएका थिए । यसअघि दोश्रो जनआन्दोलन लगत्तै चुम्लुङको छैठौं महाधिवेशन २०६५ ले अरुणपूर्व ९ जिल्ला स्वायत्त लिम्बुवान प्रदेश हुनुपर्ने प्रस्ताव पारित गरेको थियो । त्यो नेपालमा पहिचान सहितको संघीय प्रदेशको माग गरिएको पहिलो घट्ना भएको चुम्लुङका केन्द्रिय सचिव डा.योगेन्द्र पालुङवा बताउँछन् ।

पछिल्लो समय प्रदेश १ को नामाकरणको सवालमा चुम्लुङको भूमिकाप्रति असन्तुष्टहरु लिम्बु समुदायलाई छुट्टै धारमा संगठित गराउन युमा साम्योमा लागेको बुझिन्छ । पहिचानको आधारमा प्रदेश १ किरात वा लिम्बुवान हुनुपर्ने बहस प्रवल भएर आयो । किराँत नामसंग समझदारी गर्न नचाहने उनीहरु किरात धर्मलाई लक्षित गरेर अघि बढेका हुन् ।

साम्योका महासचि डा.इजम भन्छन ‘धर्मको सवालमा चुम्लुङ तटस्थ बस्नुपर्छ, किरात धर्मको वकालत गर्नु हुँदैन् ।’ इस्लाम धर्म मान्ने याक्थुङहरु पनि पाइएको दाबी गर्दै उनले इसाई, हिन्दु धर्म मान्ने याक्थुङहरुको मौलिक हक रक्षाका लागि पनि चुम्लुङ तटस्थ रहनुपर्ने उनको भनाई छ । उनले भने जस्तै अहिले सामाजिक सञ्जालमा चुम्लुङले लिम्बु समुदायलाई आदेश दिएको आरोप लगाउँदै विरोध गरेको पाइन्छन् । लिम्बु समुदाय विच उत्पन्न पहिचानको विवादले भौतिक व्दन्द पनि होला कि भन्नेमा उनि चिन्तित छन् ।

उनका अनुसार चुम्लुङले प्रचार प्रसारको अभियानमा घर–घर पुग्ने कार्यक्रम बनाएको बुझिएको छ । इजमले भने ‘यस्तो स्थितिमा गाउँघरमा आपसी विवाद उत्पन्न भए भौतिक द्वन्द्ध पनि हुनसक्छ ।’ चुम्लुङको पूर्वका ९ जिल्ला सहित काठमाडौं उपत्यका, चितवनमा जिल्ला तथ स्थानीय तहहरुमा संगठन सञ्जाल छ । किरात धर्म पक्षधरमा महागुरु फाल्गुनन्द पन्थीहरु पनि छन् । युमा साम्यो पनि विभिन्न जिल्लामा विस्तार भैरहेको छ । ठाउँ अनुसार लिम्बु समुदायको पहिचानको कुराले राजनीतिक संरक्षण पाउने सम्भावना पनि बढेको छ ।

लिम्बु समुदाय विच पहिचानको सवालमा उत्पन्न विचलनले सबै भन्दा बढी अप्ठारोमा संघीय लिम्बुवान मञ्च परेको छ । लिम्बुवान आन्दोलनलाई चलायमान राख्दै आएका मञ्च अहिले चुपचाप छ । मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले भने ‘धर्मको सवालमा मञ्च तटस्थ छ, अन्य विषयमा पार्टीले छलफल गरेको छैन् ।’

उनका अनुसार लिम्बुलाई लिम्बु भाषामा याक्थुङ भनिन्छ । पुख्र्यौली कालदेखी याक्थुङ जाति, भाषा लिम्बु भाषाका रुपमा सबै समुदायको जनजिब्रोमा बसेको कुरालाई नकार्न सकिन्न । लिम्बुवान प्रदेशलाई लिम्बु भाषामा याक्थुङ लाजे भन्न सकिएला तर, लिम्बुवानको पहिचान सजिलै बदल्न सकिन्न ।

 

टिप्पणी थप्नुहोस्