कम्युनिष्ट आन्दोलनका मलामी

-विशेष संवाददाता

काठमाडौं । अहिले धेरैको चासो रहेकोछ-कोमामा रहेको एकीकृत कम्युनिष्ट पार्टी व्युँतिन्छ की अस्ताउँछ ? मंसिरको जाडोमा यही चर्चाले संघीय राजधानीको बजार गर्माएको छ ।

पार्टी भित्र सैद्धान्तिक र वैचारिक मतभेद चुलिएको छ । कात्तिक २८ गतेसचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले ‘१९ बुँदे प्रस्ताव’ पेस गरेपछि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडको काउन्टर दिने तयारीमा छन् । मंसिर ३ गतेको सचिवालय बैठकमा मौखिक खण्डन गरेका ओलीले आउँदो सचिवालय बैठकमा प्रचण्डको प्रस्तावमाथि लिखित जवाफ पेशगर्ने घोषणा गरेका छन । मंसिर १३ को सचिवालय बैठकमा हुने ओलीको प्रस्तुतिले कम्युनिष्ट आन्दोलनको मलामी को को बन्ने? त्यसको खाका कोर्ने छ ।

पौडेलको दोहोरो भूमिका

स्पष्ट दुई धारमा विभाजित भएको पार्टीभित्र महासचिव विष्णु पौडेल मध्यमार्गी भूमिकामा देखिन प्रचारबाजीमा जुटेका छन् । ३ मंसिरमा सचिवालय बैठकमा उनले व्यक्त गरेको धारणाले उनी कम्युनिष्ट आन्दोलनको मलामी जान तयार भएका त होइनन ? भन्ने प्रश्न खडा गरेको छ ।

त्यो दिन पार्टी महासचिव पौडेलले समस्या सिर्जनागर्ने थलोको रुपमा सचिवालयलाई चित्रण गरेका थिए । ‘सचिवालय समस्या समाधानको थलो हुनुपर्ने हो । समस्या सिर्जना गर्ने थलो हुन पुग्यो । हामी समस्या समाधान गर्न सक्दैनौं ।समस्या मात्र सिर्जना गरिरहने हो भने हामी कम्युनिष्ट आन्दोलनको मलामी बन्ने स्थिति सिर्जना हुन्छ । हामी कम्युनिष्ट आन्दोलनको मलामी हुन पुग्छौं ।’ उनको भनाई उध्दृत गर्दै एकजना सचिवालय सदस्यले रुपान्तरणलाई बताए ।

अहिले कोर लिडरसिपमा रहेका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीचको विवाद उत्कर्षमा रहेको छ । पार्टी एकताको दिशामा होइन, फुटको दिशामा गइरहेको देखिन्छ । महासचिव पौडेलले यसतर्फ इँगित गर्दै भने,लौ अब तपाईहरु तयार हुनुहोस् । यता सामुहिक राजीनामा दिएर हामी स्थायी कमिटिमा जाऔं ।’

महासचिव पौडेलले सचिवालय बैठकमा अन्तिम धारणा राखेका थिए । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायत पार्टीका वरिष्ठ नेताहरुले स्थायी समिति, केन्द्रीय समितिको बैठक तोक्नुपर्ने बताएपछि महासचिव पौडेलले बोलेका हुन् । महासचिव पौडेलको अचानक आएको प्रस्तावले नेताहरु झस्किएका छन् । यही सचिवालयले नै स्थायी कमिटि बैठकको मिति तोक्न प्रस्ताव गरेको थियो ।

तर महासचिव कमरेडले स्थायी समिति बैठकको मिति तोक्नबाट रोक्नका लागि बैठकमा अचानक अभिब्यक्ति दिएका हुन, बैठकमा रहेका एक सचिवालय सदस्यले भने । ती सदस्यका अनुसार अध्यक्ष ओलीको बोलीमा लोली मिसाउन महासचिव पौडेलको यो भनाई प्रकट भएको हो । सचिवालय बैठकपछि बुटवल पुगेका अर्थमन्त्री पौडेललाई निर्वाचन क्षेत्रबासीले कालो झण्डा देखाएका थिए । बुधबार बुटवलमा बोल्दै अर्थमन्त्री समेत रहेका पौडेलले वर्तमान सरकार पाँच वर्ष टिक्ने दावी गरे ।

वर्तमान संसद विघटन गरि नयाँ चुनावमा जाने तयारीमा रहेकाओलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी तगारो बनिन् । मध्यावधिमा मन नलैजान राष्ट्रपति भण्डारीले आग्रह गरेपछि ओलीको कदममा ब्रेक लागेको छ । अहिले उनी सीमा र मर्यादा नाघेर पार्टीका शीर्ष नेतालाई खुइल्याउन लागिपरेका छन् । ओली प्रवृत्तिलाई काँध थाप्दैमलामीमा सामेल हुन महासचिव पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतको गुट तयार देखिएको छ ।

प्रधानमन्त्री ओली अहिले संसद विघटन गर्ने चाहनाबाट पछि हटेकोभेउ पाएका महासचिव पौडेलले प्रेस संगठन नेपालले बुटवलमा बुधबार गरेको एक कार्यक्रममा नेकपाको भविष्य कठिन मोडमा पुगेको बताए । कमजोरी सच्याएर जाने प्रतिबद्धता अध्यक्ष ओलीबाट व्यक्त नभए कम्युनिष्ट आन्दोलनको मलामी जानेहरुलाई जनताको सामु मुख देखाउन कठिन हुने अवस्था उत्पन्न भएकोछ । पार्टी अध्यक्ष द्धय ओली र दाहाल प्रतिबद्धता सहित संयुक्त प्रस्ताव ल्याउन सफल भएनन भने संकट गहिरिने देखिएको छ ।

 

 

टिप्पणी थप्नुहोस्