भारतीय विदेश सचिब नेपालमा, सम्बन्ध हार्दिक बनाउने प्रयास

काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ ।

बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन् ।

बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव पौड्याल नेतृत्वको प्रमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत तथा विदेश सचिव श्रृङ्गला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर) विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी रहेका छन् ।

त्यसअघि परराष्ट्रसचिवद्वयबीच सहसचिवद्वय हमाल र बाग्ची तथा राजदूत क्वात्राको उपस्थितिमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लागि सचिव श्रृङ्गला विहीबार काठमाडौ आएका हुन ।

उनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सचिव पौड्याल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा राजदूत क्वात्रा एवं भारतीय दूतावासका वरिष्ठ अधिकारीले स्वागत गरेका हुन ।

उनले बिहीबार र शुक्रबार आफू उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने जानकारी दिँदै शुक्रबार गोरखा पुुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने बताए । गोरखामा ५० हजार घर बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणानुरुप ४० हजार घर बनिसकेको जानकारी दिँदै विदेश सचिव श्रृङ्गलाले मनाङमा निर्माण गरिएको बौद्ध गुम्बाको पनि शुक्रबार नै उद्घाटन हुने बताए ।

विदेश सचिव श्रृंगलाले विहीबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका छन् । श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एक वर्षभन्दा बढी समयदेखि बिग्रेको सम्बन्ध हार्दिक बनाउन विदेश सचिव नेपाल भ्रमणमा काठमाडौं आएका हुन । दुई देशबीच सम्बन्ध चिसिएको बेला भारतले भने नेपाली भाषासमेत राम्रो बोल्ने विदेश सचिवलाई नेपाल पठाएको हो ।

 

टिप्पणी थप्नुहोस्