सल्लाहकारबाट हटाउन माग गरेपछि भाइरल तस्बिर राखेर वामदेवलाई सूर्यको जवाफ, गाली आएपछि हटाए पोष्ट

आइतवार विहानै नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाकै उपाध्यक्ष वामदेव गौतमको गृहमन्त्रीकालिन तस्बिर फेसबुकमा राखेर लेखे को कस्तो ? तस्बिर काफि छ।

तस्बिर थियो नयाँ पत्रिकाको। दौरा सुरुवालमा रहेका उनी सडकमा डिभाइडरको रुपमा राखिएको डोरी नाध्दै गरेको सो तस्बिर भाइरलै भएको थियो। तर आइतवार थापाले सो तस्बिर र त्यसको क्याप्सन राख्नुको सम्बन्ध भने शनिवारको नेकपा सचिवालय बैठकसँग जोडिएको छ।

पार्टीभित्र बढेको किचलो समाधानको उपाय खोज्न बस्ने बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैलीसँगै उनका सल्लाहकारको शैली पनि चर्चामा आउने गरेको छ। मुख्यत थापा र अर्का राजनीतिक सल्लाहकार विष्णु रिमालको शैली र बोलीको आलोचना भइरहन्छ।
 
शनिवारको बैठकमा थापाको पछिल्लो अभिव्यक्तिप्रति लक्षितगर्दै उपाध्यक्ष गौतमले उनलाई बर्खास्त गर्न माग गरेका थिए। उनको शैलीले समस्या बढाइरहेको गौतमको भनाई थियो।
झलनाथ खनालले भने सरकारी पत्रिका गोरखापत्र केपी ओलीको मुखपत्र बनेको भन्दै आलोचना गरेका थिए। सहमती खोज्न बसेको बैठक थप चिसोपना बढाएर स्थायी कमिटिको बैठकको मिति र समय तोकेर सकियो।

आइतवार बिहानै थापाले फोटो राखेपछि भने यसले पून चर्चा पाउन थाल्यो। सचिवालय बैठकमा गौतमले गरेको कारवाहीको मागको प्रतिउत्तरमा थापाले फायर खोलेका थिए।

तर उनको फायर लामो समय टिक्न सकेन। उनी हटाउन बाध्य भए।

गौतम-सूर्य लफडा
यी दुइविचको लफडा र नोकझोक पहिलो हैन। तीन वर्षदेखि जारी छ। २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएपछि गौतमले त्यसको कारणमध्ये एक थापाको घात समेत रहेको बताउँदै आएका छन्।

काठमाडौंमा बसेर आफ्नाविरूद्ध बर्दियाका कार्यकर्ता भड्काएको भन्दै गौतमले छानवीन र कारवाहीका लागि पार्टीमा उजुरी नै दिएका थिए। तर पार्टीले उनलाई कारवाही गरेन।

तत्कालीन एमालेमा झलनाथ खनाल निकट भनेर चिनिएका थापाको पृष्ठभूमि पत्रकारिता हो। ओलीका प्रेस सल्लाहकार कुन्दन अर्याल हटेपछि शंकर पोखरेलको सहयोगमा उनी केपी क्याम्पमा पुगेका थिए।

सल्लाहकार भएपछिका उनका व्यवहार पटक-पटक विवादित हुँदै आएको छ। पटक-पटक प्रधानमन्त्रीको सामाजिक सञ्जाल टुइटरको दुरुपयोग गरेका उनी पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहविरुद्ध तितो टिप्पणी गर्दै आएका छन्। दुबै अध्यक्षसँगै सचिवालयका नेताहरू ओलीसँग टाढिनुमा उनीसँगै थापा लगायतका सल्लाहकारहरुको बोली र ब्यवहारसमेत कारण रहेका नेकपाभित्र पटक पटक बहस हुने गरेको छ।

टिप्पणी थप्नुहोस्