मकैले थप मनोरम महत गाउँ

– राजु लामिछाने
रुकुम पूर्व, मंसिर २२ । विज्ञहरुले अन्न भण्डारणका नयाँ-नयाँ तरिका निकालिरहेका छन, सिकाइरहेका पनि छन । अनाज भण्डारणका लागि आधुनिक भाँडावर्तन निर्माण भएका छन । अन्न सुरक्षित राख्न, रोग किराबाट जोगाउन औषधि पनि बनेका छन । तर रुकुम पूर्वका केही गाउँ त्यस्ता छन, जहाँको अनाज, विशेषगरी मकै, लाई प्रकृतिकै रेखदेखमा राखिएको छ ।

घामको न्यानो र शीतको चिसो सहन राखिएका मकैले यतिबेला रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर ६ को महतगाउँ झनै मनोरम बनाएको छ । यसै त लोभलाग्दो महतगाउँ, सजाइएका मकैले थप मनोरम भएको छ ।

यहाँका अधिकांश स्थानीयले बोक्रा (पोक) छोडाइसकेको मकैलाई खुला आकाशमुनि नै राख्ने गर्छन । घाम, पानी खुवाउनकै लागि बोक्रा छोडाइएका मकैलाई बाहिर राख्ने गरेको भुमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा बताउँछन । उनका अनुसार घाम, पानी पचाएका मकैमा किरा नलाग्नुका साथै त्यसबाट बनेको पिठो पनि राम्रो हुन्छ । शीत खाएको मकै बलियो हुने विश्वास र मकैबाट बन्ने ढिँडो र रोटी रसिलो हुने भएकोले यसरी प्रकृतिमै छोड्ने गरेको उनले जनाए । यसको साथै खाजाको लागि पनि यसरी राखेको मकै स्वादिष्ट हुन्छ ।

असोज देखि कात्तिक महिनामा बारीबाट निकालिएको मकै माघदेखि गेडा निकाल्न सुरु हुन्छ । गेडा निकाल्ने क्रम चैतसम्म जारी रहने स्थानीय कमल बुढाले बताए । यहाँ उत्पादित मकै स्थानीय स्तरमै बढी प्रयोग हुन्छ भने केही मात्रामा बजारीकरण पनि हुने गरेको छ । यति बेला महतका हरेक घरमा यसैगरी मकै भण्डारण गरेर राखिएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री