‘सर्वसत्तावाद’ विरुद्ध कांग्रेस सडकमा, ‘नेपालमा कम्युनिष्टकरण अमान्य’:पौडेल

काठमाडौं । नेपाली कांग्रेसले देशैभर एक साथ सरकारविरुद्ध प्रदर्शन गरेको छ । सडक देखि संसदसम्म सरकारलाई तीब्र दबाब दिने भन्दै कांग्रेसले देशैभर प्रदर्शन गरेको हो । लामो समय मौन रहेको कांग्रेस कोरोना महामारीको बढ्दो संक्रमणकै क्रममा पनि सडक प्रदर्शनमा उत्रिएको हो ।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले देशको ७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन गरेको हो ।भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा सरकार लिप्त रहेकालाई खबरदारीका लागि प्रदर्शनमा उत्रनु परेको कांग्रेसले जनाएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीसमेतमा भ्रष्टाचार गरेर सरकारले असंवेदनशीलताको पराकाष्ठा नाघेको भन्दै कांग्रेसले सडकमा उत्रन आफ्ना नेता कार्यकर्तालाई आह्वान गरको थियो ।

प्रधानमन्त्रीले केन्द्रकरण गरेको, अनेकन जनविरोधी विधेयकमार्फत जनताका अधिकार कुल्चँदै अधिनायकवादी बाटोमा अघि बढेको आरोप कांग्रेसले नेकपा नेतृत्वको केपी ओली सरकारमाथि लगाएको छ ।

महिला हिंसाप्रति सरकार पटक्कै संवेदनशील नभएको भन्दै कांग्रेसले महिला हिंसा र बलात्कार व्यापक हुँदा पनि सरकार असंवेदनशील बनेको अरोाप पनि लगाएको छ ।

काठमाडौं उपत्यकाको तीनै शहरदेखि देशैभरका शहरबजारमा कांग्रेसीहरु सडकमा उत्रिएका छन् ।

केपी ओली राजावादीहरुसँग मिले : देउवा

हेटौंडामा सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली राजावादीहरुसँग मिलेको आक्षेप लगाए ।

विरोध सभामा बोल्दै देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको भन्दै प्रधानमन्त्री ओली नै राजावादीसँग मिलेको त होइन ? भने ।

‘ओली नै तत्कालिन राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’ आफ्नै शैलीमा देउवाले भने, ‘कसैलाई भ्रम नहोस्, राजा आउनेवाला छैन ।’

राजाले प्रजातन्त्र नसहेकै कारण कांग्रेस गणतन्त्रमा जानु परेको प्रष्टीकरण दिँदै सभापति देउवाले प्रजातन्त्रविरुद्ध नजाऔंभन्दा तत्कालिन राजाले आफूलाई थुनेको दाबी पनि गरे ।

वर्तमान नेकपाको सरकारले एकदलीय सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै देउवाले कम्युनिष्टले चुनाव जिते भने हाँस्न र रुन पनि पाउने छैन भनेर आफूले भनेको मिल्न थालेको बताए ।

ओली सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै देउवाले कोरोना जस्तो महामारीमासमेत सरकारले लाजमर्दो भ्रष्टाचार गरेको बताए ।

ओलीको ‘सर्वसत्तावाद’विरूद्ध कांग्रेस सडकमा : डा.शंशाक

विराटनगरमा सम्बोधन गर्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले केपी शर्मा ओलीको ‘सर्वसत्तावाद’विरूद्ध कांग्रेस सडकमा आएको बताए । कोइरालाले ओली सर्वसत्तावादी शैलीमा सरकार सञ्चालन गरिरहेको बताए।

उनले आफूहरूले तीन वर्ष चुप लागेर बसेको बताए। ‘हामी तीन वर्षसम्म चुप लाग्यौं, सरकार भ्रष्टाचारमा लिप्त भएपछि सडकमा आएका हौं,’ कोइरालाले जनआन्दोलन चोकमा आयोजित कोणसभामा भने।

समावेशी लोकतान्त्रिक व्यवस्थामा कम्युनिष्ट सरकारको प्रहार : पौडेल

काठमाडौंमा सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यलाई कम्युनिष्टकरण गर्ने दुष्प्रयास भएको भन्दै आपत्ति जनाए ।

सभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘पञ्चायतमा रूख रोप्दा टाउको फुटालिन्थ्यो, कम्युनिस्ट शासनमा पुल बनाउँदा करंग भाँचियो ।’

सत्ताको घोर दुरूपयोग भएको र त्यो स्वीकार्य नहुने भन्दै पौडेलले भने, ‘कम्युनिष्टलाई कुनै मुद्दा कानुन लाग्दैन, राज्यको ढुकुटी मासेर, तहगत सरकारको अधिकार खोसेर, गाइजात्रा देखाएर सत्ताको दुरूपयोग गरिएको छ ।’

राजावादीहरुको प्रदर्शनप्रति इग्गित गर्दै पौडेलले सडकमा जथाभावी उल्टा नारा लाग्नु विचित्रको छ, ७० वर्षको अथक प्रयासबाट कायम गरेको व्यवस्थामा धावा बोलिन थालेको बताए ।

समावेशी लोकतान्त्रिक व्यवस्थामा कम्युनिष्ट सरकारले प्रहार गरेको भन्दै उनले भने, ‘समाजवादीको स्वर्ग भविष्यमा हुन्छ, प्रतिवादीको भविष्य अतितमा हुन्छ ।’

संविधानलाई, समावेशितालाई संकटमा पार्न खोजिएको भन्दै उनले स्थानीय निकायहरूको अधिकार प्रधानमन्त्री ओलीले खोस्दा प्रदेशहरू अदालत धाउनु परेको उल्लेख गरे ।

नेकपा भित्रको विवादले देश अप्ठ्यारोमा : डा. महत

कांग्रेस नेता डा.रामशरण महतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले देश अप्ठ्यारोमा परेको बताए । उनले नेकपाले प्राथमिकताका सबै विषयलाई पन्छाएर आफूआफैं लडिरहेको बताए।

भरतपुरमा कांग्रेसले गरेको विरोध सभालाई सम्बोधन गर्दै महतले एमसिसी पास गर्न बिलम्व गरेर कम्युनिष्ट सरकारले देशको विकासमा अवरोध पुर्‍याइरहेको आरोप लगाए।

सरकारबाट लोकतन्त्र र गणतन्त्र नै धरापमा : केसी

कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेकपाको सरकारबाट लोकतन्त्र र गणतन्त्र नै धरापमा परेको आरोप लगाए ।

कांग्रेसले सोमबार बाग्लुङमा गरेको विरोध र्‍याली र सभामा बोल्दै नेता केसीले सरकारले ‘निर्वाचित भस्मासुर’ बनेर देश र लोकतन्त्रको अस्तित्व बर्बादीमा धकेलेको बताए । ‘निर्वाचित भस्मासुरहरुले देश र व्यवस्थालाई नै धरापमा पारेका छन्,’ नेता केसीले भने, ‘जनताको मत लिएर लोकतान्त्रिक पद्धति सिध्याउने काम सरकार र नेकपाका नेताहरुले गरेका छन् ।’

उनले हिटलरले पनि आफू निर्वाचित भएर निरंकुशता लादेको इतिहास छ भन्दै वर्तमान सरकारले पनि निरंकुशता र संविधान विरोधी काम गरेर आफ्नो पतनको बाटो आफैं खनेको केसीले आरोप लगाए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस, वाइडबडी, ओम्नी र यति समूह, बुढीगण्डकी जलविद्युत आयोजना लगायतका दर्जनौं विषयमा भ्रष्टाचारलाई सरकारी संरक्षण भएको केसीको आरोप छ ।

कम्युनिष्ट सरकार कात्रोमा पनि भ्रष्टाचार गर्छ : विश्वप्रकाश

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाए । सरकार विरुद्धको प्रदर्शनमा सोमबार हेटौंडाको सभामा सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएका बताए ।

उनले कोरोना माहामारीका बेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको दुर्व्यवहारले सरकार सर्वसत्तावाद लागू गरेको बताउँदै कांग्रेस चुप लागेर नबस्ने बताए ।

भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबारमा गए पुग्छ : गगन

कैलाली पुगेका कांग्रेस सांसद एवं नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीसहित नेकपाका तीन शीर्ष नेतामाथि गम्भीर आरोप लगाए । थापाले प्रधानमन्त्री ओली सडकमा नाङ्गै हिंडिरहेको आरोप लगाए ।

थापाको भनाइ थियो, ‘प्रधानमन्त्री नाङ्गै सडकमा हिँडिरहनु भएको छ । हामीले भन्दा लागेन । अहिले प्रचण्ड र माधव नेपालले पनि भनिरहनुभएको छ ।’

थापाले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने प्रचण्ड र माधव नेपाल नाङ्गै भएको आक्षेप लगाउँदै भने, ‘प्रधानमन्त्री ओलीलाई कहिले अगाडि त कहिले पछाडि बोक्दा उहाँहरूले आफू पनि नाङ्गिएको थाहा पाउनुभएन ।’

भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबारमा गए पुग्ने भन्दै थापाले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा कामै गर्न नसकेको टिप्पणी गरे ।

 

 

टिप्पणी थप्नुहोस्