‘काँग्रेस चलमलायो, अब जाग्छ की ?’

-आरती शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस कोमामा रहेको टिप्पणी चलिरहेको बेला देशव्यापी रुपमा गरेको सडक प्रदर्शनले जीवित रहेको संकेत दिएको छ । यससँगै पार्टी व्यूँतिने आशा पलाएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अन्तर कलहको दलदलमा फसिरहेको बेला प्रतिपक्ष दल अचेत अवस्थामा देखिंदा दक्षिणपन्थी सलबलाउन खोजेको थियो । २०४६ सालमा प्रमुख परिवर्तनकारी शक्तिका रूपमा देखिएको कांग्रेस गणतन्त्रपछि निरिह देखिएको थियो ।

सत्तारुढ दलसँग समीकरण मिलाउँदा चर्को आलोचना खेपेको काँग्रेस अहिले सहि ट्रयाकमा आएको विश्लेषकहरुको दावी छ । काँग्रेस सभापति शेरबहादुर देउवाले हेटौडामा भएको जनसभालाई सम्बोधन गर्नेक्रममा सरकारकै कार्यशैलीका कारण नागरिकहरु आजित भएर ‘राजा आउ देश बचाउ’ भन्न पुगेको बताए ।

त्यस्तै काँग्रेसका युवा नेता एवं पूर्व मन्त्री गगन थापाले धनगढीमा आयोजित जनसभामा राष्टपति विद्यादेवी भण्डारीको भूमिकाको आलोचना गर्दै पदीय गरिमा एवं मर्यादा कायम गर्न नसकेको बताए । उनले भने, ‘राष्ट्रपति ज्यू आँखा नचम्काइबक्सियोस । हात नलम्काईबसिक्योस । हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइस्योस ।’

व्यूँतियो काँग्रेस

काँग्रेस भेन्टिलेटरमा रहेको चर्चा चलिरहेको बेला विश्लेषकहरु भने काँग्रेसको सडक प्रदर्शनलाई सकारात्मक रुपमा लिएका छन् । विश्लेषक डा. श्याम श्रेष्ठ प्रतिपक्षि कहाँ हरायो भन्दै प्रश्न गर्नेलाई सडक प्रदर्शन गरेर काँग्रेसले जवाफ दिने कोशिस गरेको बताए । उनले रुपान्तरण डटकमसँग भने, ‘अझैं पनि काँग्रेस निद्रामै छ । सडक प्रदर्शनलाई नाम मात्रको व्युँझाई भन्न सकिन्छ ।’

ओली सरकारको नेतृत्वमा प्रमुख प्रतिपक्षी काँग्रेस सदनमा हराएको अवस्थामा थियो । सडक प्रदर्शनले अलिअलि उपस्थिति देखाएको विश्लेषक श्रेष्ठको टिप्पणी छ । ‘लालटिन बालेर प्रतिपक्षी खोज्नुपर्ने भएको थियो । अस्तित्वहीन भएको हो । अस्तित्व देखाउनकै लागि अहिले शक्ति प्रदर्शन गरेको हो,’उनले भने ।

अर्का विश्लेषक सिके लालका अनुसार, सडक प्रदर्शनले काँग्रेस पार्टी जीवित भएको पुष्टि गरेको बताए । कोमामै थियो । ढुकढुकी बाँकी रहेछ भन्नेसम्म मिल्छ । जिउँदै रहेछ भन्ने बनायो,’ विश्लेषक लालले भने । विश्लेषक श्रेष्ठले कोरोना भाइरसको महामारीको बेला सडक प्रर्दशन उपर्युक्त नभएपछि सुरक्षात्मक मापदण्ड सडकमा उपस्थिति देखाउन सकिने बताए । ‘ राजनीतिक रुपमा यो प्रदर्शनलाई सकारात्मक रुपमा लिनुपर्छ,’उनले भने ।

विश्लेषक लाल पनि प्रतिपक्षी दलको खोजी सदनमा पनि हुने गरेको बताए । उनले भने, ‘सदन, सभाबाट केही हुन नसकेको अवस्थामा सडक नै अन्तिम विकल्प हो । सदन छोडेर सडक प्रदर्शन गरेको टिप्पणी गर्नु अघि पृष्ठभूमि हेर्नुपर्छ । कुन पहिले प्रयोग गर्ने भन्ने छनौटको कुरा हो ।’काँग्रेसमा ८ लाख भन्दा बढी क्रियाशील सदस्य भएको बताइन्छ । ‘काँग्रेसको यो सडक प्रर्दशनले कार्यकर्तामा उत्साह भर्ने देखिन्छ,’विश्लेषक लालले भने ।

 

 

 

टिप्पणी थप्नुहोस्