एकैदिन सय जना कर्मचारी गयल, स्पष्टीकरण मागियो

रुकुम पश्चिम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गरेको छड्के अनुगमनको क्रममा जिल्लामा रहेका सरकारी कार्यालय मध्ये १७ कार्यालयका करिब सयजना कर्मचारी एकैदिन कार्यालयमा अनुपस्थित रहेको पाइएको छ ।

संघ तथा प्रदेश मातहत कार्यालयमा बुधबार जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनको क्रममा ९८ जना कर्मचारी अनुपस्थित रहेको पाइएको हो ।

अनुगमन गरिएका १७ वटा कार्यालय मध्ये ६ वटा कार्यालयका प्रमुख नै कार्यालयमा हाजिर नभएको पाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । १७ कार्यालय मध्य १३ कार्यालयका कर्मचारी अनुपस्थित भेटिएका प्रजिअ गैह्रेले बताए । विना जानकारी र विदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित भएको तथा केही कर्मचारीहरु लामो समयदेखि कार्यालयमा अनुपस्थित भएको समेत पाइएको पाइएको प्रजिअ गैह्रेले जनाए ।

प्रमुखसहित कर्मचारीलाई तीन दिने स्पष्टिकरण

नियमित र तोकिएको समयमा कार्यालयमा उपस्थित नहुने कार्यालय प्रमुख सहितका ९८ कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयले ३ दिनभित्र स्पष्टिकरण सोधेको छ ।

कर्मचारीलाई नियमितता र समयको पालना नगराउने, विदा स्वीकृत नगराई विदामा छाड्ने तथा कर्मचारीको उपस्थिति अभिलेख व्यवस्थित नगराउने कार्यालय प्रमुखलाई समेत स्पष्टीकरण सोधिएको छ ।

छड्के अनुगमनको क्रममा समयमा कार्यालयमा उपस्थित नभएको, हाजिरी रजिष्टरमा कैफियत देखिएको भन्दै के कस्तो कारणले उपस्थित नभएको ? समयको पालना किन नगरेको ? बिदा स्विकृत नगरी बिन बिदामा बसेको ? निजामती सेवा ऐन २०४९ को दफा ४१ बमोजिमको आचरण किन पालना नगरेको लगायतका प्रश्न स्पष्टिकरणमा सोधिएको छ ।

यसका साथै सम्बन्धित कार्यालयका प्रमुखलाई समेत स्पष्टिकरण सोधिएको छ । कार्यालय प्रमुखले कर्मचारीको उपस्थिति नियमित गर्न नसक्नुको कारण, समय पालना गराउन नसक्नुको कारण, बिदा स्विकृत नगराई बिदामा छोड्नको कारण, हाजिरी रजिष्टर अद्यावधिक नगर्नुको कारण तीन दिन भित्र खुलाउन पत्र पठाइएको प्रशासन कार्यालयले जनाएको छ । चित्त बुझ्दो स्पस्टीकरण नदिएमा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने समेत जनाईएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयले जिल्ला समन्वय समिति, ग्रामिण पुन निर्माण तथा पुर्नस्थापना आयोजना, जिल्ला हुलाक कार्यालय, जिल्ला मालपोत कार्यालयको छड्के अनुगमन गरेको थियो । यसैगरी खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय, नापी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, स्वास्थ्य सेवा कार्यालयको पनि छड्के अनुगमनमा परेका हुन् ।

तरकारी बीउ उत्पादन केन्द्र चापा, डिभिजन वन कार्यालय, पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आशा) परियोजना, तथ्याङ्क कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, समाजिक विकास कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र कृषि विकास कार्यालय छड्के अनुगमनमा परेका हुन् ।

टिप्पणी थप्नुहोस्