रुकुम पश्चिममा १४ हजार बढी बेरोजगार सुचिकृत

-राजु लामिछाने
रुकुम पश्चिम । रुकुम पश्चिमका ६ ओटा स्थानीय तहमा १४ हजार बढी वेरोजगारहरु सुचिकृत भएका छन् । जिल्लामा रोजगारीको माग गर्दै १४ हजार २ सय ६६ वेरोजगार सुचिकृत भएका हुन् ।

संघको प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रदेशको मुख्यमन्त्री रोजगार कार्यक्रम र केही स्थानीय तहको नगर प्रमुख रोजगार कार्यक्रममा जोडिनका लागि वेरोजगारहरुले स्थानीय तहमा नाम दर्ता गराएका छन् ।

६ वटै स्थानीय तहले निश्चित समय तोकेर रोजगारीका लागि नाम दर्ता गराउन बेरोजगारहरुलाई समय दिएका थिए । तोकिएको समयमा चालु आर्थिक वर्ष ०७७/०७८ का लागि ठुलो संख्यामा बेरोजगारहरु रोजगारीको माग गर्दै स्थानीय तहमा आएको स्थानीय तहहरुले बताएका छन् ।

तीन नगरपालिका र तीन गाउँपालिका रहेका जिल्लामा सबैभन्दा बढी त्रिवेणि गाउँपालिकामा ३ हजार ३ सय ५२ जना वेरोजगारहरु सुचिकृत भएका छन् । गाउँपालिकाका सबै १० वडाबाट उस्तै उस्तै संख्यामा वेरोजगारहरु सुचिकृत भएको गाउँपालिकाको रोजगार केन्द्रले जनाएको छ ।

त्यस्तै बाँफिकोट गाउँपालिकामा २ हजार ७ सय ५९, चौरजहारी नगरपालिकामा २ हजार ४ सय ३०, मुसीकोट नगरपालिकामा २ हजार १ सय ३६, आठबीसकोट नगरपालिकामा १ हजार ८ सय ४० र सानीभेरी गाउँपालिकामा १ हजार ७ सय ४९ वेरोजगारले रोजगारीको माग गरेका छन् ।

रोजगारीका लागि ७ करोड बढी बजेट
प्रधानमन्त्री रोजगार, मुख्यमन्त्री रोजगार कार्यक्रमका साथै मुसीकोट र चौरजहारी नगरपालिकाले नगर प्रमुख रोजगार समेत घोषणा गरेका छन् । मुसीकोट र चौरजहारीमा तीन वटा र अन्य स्थानीय तहमा दुई वटा कार्यक्रम मार्फत रोजगारी प्रदान गरिदै छ । जसका लागि संघ सरकारले दुई चरणमा बजेट पठाइसकेको छ ।

युवा स्वरोजगार कार्यक्रम र कामका लागि पारिश्रमिक कार्यक्रमका लागि भन्दै हालसम्म जिल्लामा सवा ७ करोड बजेट प्राप्त भएको छ । युवा रोजगार कार्यक्रमका लागि ३ करोड १० लाख २० हजार र कामका लागि पारीश्रमिक अन्तरगत ४ करोड १ लाख ६५ हजार गरी कुल ७ करोड ११ लाख ८५ हजार बजेट आउने निश्चित भएको स्थानीय तहहरुको भनाई छ ।

चौरजहारीमा सबैभन्दा बढी
सबैभन्दा बढी बजेट चौरजहारी नगरपालिकामा १ करोड ७८ लाख ७० हजार आएको छ । त्रिवेणि गाउँपालिकामा १ करोड ३३ लाख ७२ हजार, सानीभेरी गाउँपालिकामा १ करोड ३३ लाख २१ हजार, मुसीकोट नगरपालिकामा १ करोड ४ लाख, बाँफिकोट गाउँपालिकामा ८६ लाख र आठबीसकोट नगरपालिकामा ७२ लाख बजेट प्राप्त भएको छ । स्थानीय तहबाट छनौट गरेर पठाएका योजनाका आधारमा बजेट आएको हो । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि भने योजना छनौट गरेर पठाईएको र बजेट आईनसकेको स्थानीय तहहरुले जनाएका छन् ।

चौरजहारी नगरपालिकाले पहिलो चरणमा डेढ सय जनालाई रोजगारी दिदैं छ । दैनिक पाँच सय १७ रुपैंका दरले एक जनालाई सय दिनको रोजगारी दिने तर माथिबाट जति बजेट आउँछ त्यसका आधारमा कति व्यक्तिले रोजगारी पाउँने भन्ने निश्चित हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत रामवहादुर केसीले जानकारी दिए ।

मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत नरविर खड्काले सुचिकृत भएका सबैलाई रोजगारी दिने योजना रहेको र नभए बढी भन्दा बढीलाई रोजगारी प्रदान गर्ने बताए । कतिलाई रोजगारी दिने भन्ने माथिबाट आउँने बजेटमै निर्भर रहेको उनको भनाई छ ।

रोजगार सम्बन्धी कार्यविधिमा वेरोजगारहरुलाई कम्तिमा १ सय दिनसम्मको रोजगारी दिने व्यवस्था छ । गत वर्षहरुमा सुचिकृत भएकाहरुलाई दामासाहि तरिकाले सबैलाई रोजगारीमा जोडिएको थियो । यसो गर्दा वेरोजगारहरुले बढीमा ८/१० दिनसम्म मात्र रोजगारी पाएका थिए ।

 

टिप्पणी थप्नुहोस्