ख्रिष्टमसको अवसरमा विदा दिइने

धरान । अंग्रेजी सम्बत्को नयाँ वर्ष शुरु हुनुअघि इसाई धर्मावलम्वीले मनाउने ख्रिष्टमस पर्वमा धरान उपमहानगरपालिकाले स्थानीय सरकारको मातहतमा रहेका निकायहरुलाई स्थानीय विदा दिने निर्णय गरेको छ ।

कार्यपालिका बैठकद्वारा निर्णय गरी ख्रिष्टमसमा सार्वजनिक छुट्टी दिइने पहिलो पटक औपचारिक निर्णय भएको हो । शुक्रवार संसारभरका इसाईहरुले ख्रिष्टमस पर्व मनाउँदैछन् । नयाँ अंग्रेजी सम्बत् २०२१ एकसाता पछि शुरु हुँदैछ ।

मेयर तिलक राईका अनुसार ख्रिष्टमश डेमा स्थानीय विदा दिने निर्णय विहीवार बसेको कार्यपालिकाको बैठकले गरेको छ । स्थानीय इसाई समुदायले उनीहरुको धार्मिक पर्व ख्रिष्टमसमा विदाको माग गर्दै आएका थिए ।

यसअघि उनीहरुको मागका बारे उपमहानगरका सबै वडा अध्यक्षहरुलाई जानकारी गराई वडा समितिको राय मागिएको उनले बताए । प्रायः सबै वडाबाट ख्रिष्टमस डेमा स्थानीय विदा दिइनु उचित हुने राय आधारमा कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

ख्रिष्टमसको विदा दिने निर्णय भएकाले उपमहानगरका विद्यालयहरु सबै छुट्टि हुनेछन् । उपमहानगरपालिका तथा वडा कार्यालयहरु तथा स्थानीय सरकार र मातहतका निकायहरु शुक्रवार बन्द रहने उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

२०६८ सालमा भएको जनगणनाको नतिजा अनुसार नेपालमा इसाई धर्मावलम्बीको संख्या कुल जनसंख्याको १ दशमलब ५ प्रतिशत छ । धरानमा इसाईहरुको संख्या एकिन नभएतापनि जिल्लाका अन्य नगरपालिकाहरु मध्ये सबै भन्दा बढी रहेको अनुमान गरिएको छ ।

नेपाल धर्म निरपेक्ष मुलुक भएकोले सबै समुदायका धार्मिक, सांस्कृतिक पर्वको सम्मान गर्दै विदा दिनुपर्ने माग गरिँदै आएको छ । यसअघि गएको वर्ष प्रदेश १ सरकारले ख्रिष्टमशमा सार्वजनिक विदा दिएको थियो ।

टिप्पणी थप्नुहोस्