दाहाल-नेपाल समूहद्धारा चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनविरूद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ।

बिहीबार बबरमहलमा बसेको बैठकले ‘काठमाडौंलगायत सहरहरूमा प्रतिगमनविरूद्ध दैनिक आन्दोलन गर्ने’ लगायत विरोधका कार्यक्रम तय गरेको हो।

जसअनुसार १० पुस अर्थात शुक्रबार बिहान १० बजे सबै केन्द्रीय सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्दै सर्वोच्च अदालत जानेछन। यस्तै त्यहाँबाट निस्किएपछि १२ बजे निर्वाचन आयोग जाने तयारी छ।

यसैगरी ११ पुसका दिन सातै प्रदेशमा प्रदेश कमिटि बैठक गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला गर्ने र १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन गर्ने निणर्य गरिएको छ। यस्तै २० पुस भित्र सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला गरिने तथा २५ गते भित्र वडास्तरमा पार्टीका बैठक र भेला गर्ने र्बैठकको निणर्य छ।

बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको हो। पहिलो चरणको आन्दोलनको कार्यक्रमपछि दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने प्रचण्ड-माधव समूहको तयारी छ।

टिप्पणी थप्नुहोस्