हान्ने राँगोजस्तो सरकार

-किशोर नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधि सभाको बिघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि उनको सरकारको हैसियत स्वतः कामचलाउ भएकोछ । यो लोकतन्त्रको सर्वमान्य ब्यबहार हो । तर, नेपालमा अहिले यसका बिपरित काम भएकोछ । प्रधानमन्त्री ओलीले आफना सम्पूर्ण बिधि ब्यबहार आफूलाई कुनै फरक नपरेको आभाश दिन खोज्दै चलाएका छन । नेपाली जनता बिशुध्द संघीय लोकतान्त्रिक गणतन्त्रबाट सीमित समाजमा आइ पुगेका छन । एउटा मानिसको अहंकारले देश र पध्दति कसरी बरबाद हुन्छन भन्ने प्रष्ट देखिएकोछ अहिले । यसबारे कसैले प्रश्न उठायो भने सरकारका तालुकदार मन्त्रीहरु जवाफ दिन तयार छन । अस्ति भरखर, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए, राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई कामचलाउ प्रधानमन्त्री भनेकी छैनन । त्यसैले ओली पूरा प्रधानमन्त्री हुन । प्रतिनिधि सभा भंग भएपछि सरकार आफै स्वचालित तवरले कामचलाउमा परिवर्तित हुन्छ भन्ने मान्यता पनि राष्ट्रपति भण्डारीले लागूगर्ने हो र ?

कामचलाउ प्रधानमन्त्री ओली अहिले मन्त्रीहरु नियुक्तगर्न ब्यस्त छन । यो गैर संबैधानिक काम हो । प्रतिनिधि सभा पुनस्र्थापनाको मुद्दामा वहसमा रहेका कानूनबिदहरुले सर्वोच्च अदालतलाई दुनियाँको प्रचलनका बारे सुनाउनु पर्दछ । प्रतिनिधि सभा नै नरहेको अवस्थामा बनेका मन्त्रीहरुको बैधता के हो ? यो कुरा स्पष्ट हुनु पर्दछ । प्रतिनिधि सभा बिघटनका बिरुध्द परेका रीट निवेदनहरुमा सर्बोच्च अदालतमा सुनुवाई शुरु भै सकेकोछ । सर्वोच्च अदालतले प्रतिनिधि सभा बिघटनको बैधता अमान्य गरिदियो भने अहिले मन्त्री बनेका ब्यक्तिहरुको के हुन्छ ? यो कुराको पत्तो कसैलाई छैन । कामचलाउ सरकार ‘हान्ने रांगो’ जस्तै, नियुक्तिदेखि खेतीपातीसम्म, हरेक कुरामा जताततै झम्टिदै हिडेकोछ । निश्चय पनि, यसलाई राम्रो संकेत मान्न सकिदैन ।

एकातिर यो अवस्थाको सरकारी ब्यबहार छ भने अर्कोतिर बिभाजित अवस्थामा रहेको नेपाल कम्युनिष्ट पार्टीको दुबै हिस्साका दायित्वहरु स्पष्ट हुन सकेको छैन । प्रधानमन्त्री ओली नेतृत्वको नेकपा बैधानिक हो वा पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा ? यसको निक्र्योल नभएसम्म अहिलेको समस्या सल्टिदैन । निर्वाचन आयोगले निर्णय नदिएसम्म केही भन्न सकिदैन । निर्वाचन आयोगले तथ्यका आधारमा न्यायाचित निर्णयगर्न सकेन भने अथवा निर्वाचन आयोगको निर्णयमा बिबाद भयो भने यो कचिंगल अझै लम्बिनेछ ।

अहिले नेकपा पार्टी केन्द्रमा मात्रै बिभाजित भएको भनिन्छ । तर, यसको असर प्रदेश सरकार र गाउँ नगरका स्थानीय सरकारसम्म पर्न थालेकोछ । यो स्वाभाविक पनि हो । नेकपा आफैंमा भीमकाय पार्टी भएकोले पनि बिभाजनका समस्या तत्काल सल्ट्याउन गार्‍हो छ । अहिले प्रदेश सभामा आफना बिश्वासपात्र मुख्यमन्त्रीहरुका बिरुध्द अबिश्वासको प्रस्ताव दर्ता हुन थालेपछि प्रधानमन्त्री ओलीको ‘मूड’ प्रदेश सरकारहरु बिघटन गर्नेतिर हौसिएको छ । उनका बिश्वासपात्रका रुपमा चिनिएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका बिरुध्द अबिश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री निकै आक्रोशमा देखिएका छन । देशमा अहिले अस्तित्वशील सातवटा प्रदेश मध्ये पाँचवटा प्रदेशका सरकारहरु स्पष्ट संकटमा देखिएकाछन । दुइ नम्बरमा जनता समाजवादी पार्टीको सरकार रहेकोछ । सुदुर पश्चिमान्चल प्रदेशको सरकारमा नेकपा प्रचण्ड-माधव समूहको पकड रहेको बताइन्छ ।

प्रमुख प्रतिपक्षी पार्टीका रुपमा रहेको नेपाली कांग्रेसको संस्थापन पक्ष प्रतिनिधि सभा बिघटनको बिपक्षमा सक्रिय रुपले लाग्न अनकनाइ रहेकोछ । सभापति शेरबहादुर देउवाले यसलाई नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक मामिलाका रुपमा लिएका छन । त्यो भन्दा पनि, सभापति देउवा प्रधानमन्त्री ओलीका प्रति कृतज्ञ देखिएका छन । अर्कोतिर, संसद बिघटनका बिरुध्द बरिष्ट नेता रामचन्द्र पौडेल उत्साहका साथ लागेका छन । यो मामिलामा बरिष्ठ नेता पौडेलले लोकप्रिय नारा समेटेका छन । अब, पुस १६ गतेको मेलमिलाप दिवस नसकिएसम्म कांग्रेसले कोल्टो फेर्ने देखिदैन ।
मधेशको पार्टी भनेर चिनिने जनता समाजवादी पार्टी मधेशदेखि पहाडसम्म संसद बिघटनका बिरुध्द जनमत तयारगर्न लागेकोछ । निश्चयपनि, यो उत्साहप्रद कुरा हो । देश आन्दोलनमय भएको छ । आन्दोलनमा समन्वय देखिएको छैन । जबसम्म संघीय लोकतान्त्रिक गणतन्त्रका मान्यताप्रति समान बिचार राख्ने पार्टीबीच समन्वय हुँदैन तबसम्म आन्दोलनका अर्थहरु स्थापित हुँदैनन ।

अहिलेको स्थितिमा प्रधानमन्त्री ओलीका समर्थकहरु कुनैपनि प्रदेशमा सरकार टिकाउन सक्ने स्थितिमा देखिएका छैनन । स्वयं ओलीको निर्वाचन क्षेत्र रहेको प्रदेश – एक, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सरकारमा ओली पक्षको पकड निकै कमजोर रहेकोछ । यी राज्यहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार निर्माणका लागि निर्णायक भूमिकामा रहेको देखिन्छ । कांग्रेस र प्रचण्ड-माधव नेतृत्वको नेकपाका बीच गठबन्धन भयो भने यी पाँचै प्रदेशका सरकार तत्काल परिवर्तन हुन सक्दछन । बागमती प्रदेशमा त कांग्रेससंग सहमति हुने बित्तिकै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुने लगभग निश्चित नै छ । तर, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँ र मुख्यमन्त्री डोरमणि पौडेलको मित्रता यसमा बाधक बनेको बताइन्छ ।

बिश्वमा कोरोना महामारीको अवस्था के रहने हो ? नेपालमा त्यसको अवस्था के रहने हो ? यो निश्चित छैन । कोरोनाकै सन्दर्भमा नेपालको आर्थिक हैसियत बिश्व बजारबाट समयमा नै भ्याक्सिन किनेर ल्याउने छैन । बिश्व स्वास्थ्य संगठनको दानमा मात्रै नेपालीहरुले भर गर्नुपर्ने हो कि ? के भन्न सकिन्छ र ? अधिकांश दाता राष्ट्रहरु आफैं कोरोना पीडित भएको अवस्थामा कतैबाट सहयोगको भरलाग्दो आशा पनि गर्न सकिदैन । मानव जीवनका लागि अत्याबश्यक औषधिमा समेत बिदेशी सहयोगको भरगर्नुपर्ने हाम्रो दारुण अवस्थाका बारेमा के नै भन्न सकिन्छ र ? कोरोनाकै कारण यो बर्ष आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेकोछ । बेलायत र युरोपमा यतिबेला जसरी ‘कडा’ संस्करणको कोरोनाले आक्रमण गरी रहेकोछ, त्यो आक्रमण भारत, नेपाल, पाकिस्तान, बांगलादेश र भूटानसम्म आइपुग्दैन कसले भन्न सक्दछ ?

सरकारसंग चुनाव गराउन चाहिने अरबौंको बजेट छैन । कांग्रेसका नेताहरुले यो कुरालाई नबुझेका छैनन । कांग्रेसका नेताहरु राष्ट्रिय बिसंगतिका बिरुध्द पार्टीलाई सशक्त ढंगले उभ्याउन चाहन्छन । तर, पार्टी सभापति शेरबहादुर देउवा आफू अलमलमा परेको अभिनय गर्दैछन । नेपालको राजनीतिक समाजले उनलाई प्रधानमन्त्री ओलीसंग निकट रहेको आरोप लगाएकाछन । अहिलेसम्मका सरकारी नियुक्तिहरुमा जसरी सभापति देउवाको प्रभाव देखिएकोछ त्यसले उनका प्रति पार्टीभित्र नयाँ प्रकारको अबिश्वास उत्पन्न हुन थालेकोछ ।

बजारमा प्रतिदिन नयाँ नयाँ हल्लाले जन्म लिइ रहेका छन । सामाजिक सन्जालमा नेकपाका दुबै पक्षको आन्द्रभुँडी खोतल्ने काम भइ रहेकोछ । संघीयतासंग कुनै सम्बन्ध नभएका मानिसहरु संघीयताको सर्वनाशको कामनागर्दै स्टाटस लेख्न लागेकाछन । अहिलेको अवस्था अत्यन्त तरल छ । यो तरल अवस्थामा जनता मुछिए भने परिणाम राम्रो निस्किदैन । अहिलेको यो चन्चल समयमा सरकार गम्भीर बन्नुपर्ने हो । तर, प्रधानमन्त्री ओली अहिलेको राजनीतिक बिग्रहबाट मनोरन्जन लिइ राखेका छन । यो दुःखद अवस्था हो । नेपाली जाति आफनै नियतिको दुरावस्थाप्रति अकिंचन रहेका छन । कुनैपनि देशका जनतामा यस्तो प्रवृत्ति रहनु डरलाग्दो कुरा हो । (जनकपुर टुडे/रुपान्तरण ।)

टिप्पणी थप्नुहोस्