विरोध प्रदर्शन नियन्त्रण गर्न प्रशासनको तयारी

धरान । प्रतिनिधि सभा विघटन असंबैधानिक भएको भन्दै राजनीतिक दलका साथै नागरिक समाज सडकमा उत्रिएपछि विकसित विरोध प्रदर्शनप्रति जिल्ला प्रशासनहरु सतर्क बनेका छन् । सरकारको विरोधमा राँके जुलुस निकाल्ने, सडकमा टायर बाल्ने युवाहरुको आक्रोशित रुपमा प्रदर्शन हुन थालेकाले प्रशासन सकृया भएको हो ।

विरोध प्रदर्शनलाई संयमीत बनाउन स्थानिय प्रशासनले सुरक्षा निकाय र दलहरुको उपस्थितिमा ६ सुत्रिय आचार संहिता बनाएका छन् । सुनसरी जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकार फणिन्द्र पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको सर्वदलीय बैठकले विरोध प्रदर्शन गर्दा सार्वजनिक सम्पत्ती तोडफोड गर्न नहुने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ ‘सार्वजनिक सम्पत्ती सम्पूर्ण नेपाली जनताको सम्पती भएकोले सडकमा आगो टायर बाल्ने, तोडफोड गर्ने, रेलिङ भाँच्ने जस्ता कृयाकलाप कसैले नगर्ने, नगराउने ।’ विरोध प्रदर्शन गर्दा सरकारी वा सार्वजनिक कार्यालयको सेवा प्रवाहमा अवरोध हुन नदिने गरी र सुरक्षाकर्मीसंग मर्यादित किसिमले व्यवहार गर्नेगरी कार्यक्रमको व्यवस्थापन गर्ने राजनीतिक दलहरुले सहमति गरेका छन् ।

वर्तमान राजनैतिक परिस्थितिको बारेमा राजनीतिक दलहरु संग छलफल गरी दलहरुले विरोध कार्यक्रम गर्दा स्थानिय प्रशासन संग समन्वय गरेर संयमताका साथ गर्ने सहमति भएको जिल्ला प्रशासनद्वारा प्रकाशित विज्ञप्तीमा जनाइएको छ । छलफलमा जिल्ला प्रहरी, शसस्त्र प्रहरीका अधिकृतहरु र नेपाली कांग्रेस, नेकपा, जनता साजवादी पर्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेतृत्वहरुको उपस्थित थिए ।

 

टिप्पणी थप्नुहोस्