कांग्रेस देशव्यापी प्रदर्शनमाः अदातलको फैसला कुर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गरेको छ ।

विघटित संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गरेको हो । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली निस्केको छ भने सभामा नेताहरुले सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेस पनि वैचारिक रुपले विभाजित छ । औपचारिकताका लागि विरोध कार्यक्रम तय गरेपनि सभापति शेरबहादुर देउवा नै निर्वाचनको पक्षमा रहेको अर्को पक्षको आरोप छ ।

कांग्रेसले अदालतको फैसला कुर्छ : देउवा

सभापति देउवाले संसद विघटन सम्वन्धि सर्वोच्च अदालतको कोर्टबाट हुने फैसलालाई कांग्रेसले कुर्ने बताएका छन ।

भक्तपुर २ मा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी भएको र अदालतको आदेशको समेत पालना गर्ने पार्टी भएकाले संसद विघटनका विषयमा पनि अदालतको निणर्य हेरेर थप निर्णय लिने बताए ।
संसद विघटको मुद्दा अदालत पुगिसकेको छ, अदालतमा विचराधीन मुद्दामा कांग्रेस यो गर त्यो गर भन्दैन, निर्णय कुर्छ, कांग्रेस कानुन मान्ने पार्टी हो,’ सम्बोधनका क्रममा देउवाले भने ।

प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्छ : बरिष्ठ नेता पौडेल

वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।

कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले सोमबार भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गरे ।

वरिष्ठ नेता पौडेलले भने, “सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।” मुलुकलाई सङ्कटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने उनको जिकिर थियो ।

ओली सरकारले चुनाव गराउनै सक्दैन : डा.शंशाक

महामन्त्री डा।शशांक कोइरालाले वर्तमान केपी ओली सरकारले चुनाव गराउनै नसक्ने बताएका छन् । नवलपुरमा आयोजित विरोधसभालाई संवोधन गर्दै महामन्त्री कोइरालाले अरुलाई देखाउन मात्रै ओली सरकारले चुनावको मिति घोषणा गरेको बताएका हुन् ।

महामन्त्री कोइरालाले केही गर्न नसकेको ओली सरकारले संसद विघटन गरेको बताए । ओली सरकारले तीन वर्ष व्यर्थै बितायो, उनले भने, समृद्धि मुखमा मात्रै छ, व्यवहारमा छैन । महामन्त्री कोइरालाले चुनाव भइहालेमा कांग्रेसलाई विजयी गराउन आग्रह गरे ।

भागबण्डा नमिल्दा संसद विघटन : विश्वप्रकाश

प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको राजनीतिक दुर्घटनाको पहिलो दोषी केपी ओली र दोस्रो दोषी पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन् ।

कांग्रेसले आयोजना गरेको देशव्यापी विरोध प्रदर्शन अन्तर्गत काठमाडौंको कोटेश्वरमा आयोजित काठमाडौं क्षेत्र नम्बर २ को विरोधसभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले ओली र प्रचण्डबीचको भागबण्डा नमिल्दा संसद विघटन गरिएको बताएका हुन् । प्रवक्ता शर्माले ओली सरकारले शासन गर्ने नैतिक आधार गुमाइसकेको दाबी गरे ।

अदालतको निर्णय स्वीकार्य : डा.शेखर

कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा सोमबार र्‍याली र कोणसभाको आयोजना गरेको छ । वीरेन्द्र सभागृहबाट निकालिएको र्‍याली नगरपरिक्रमा पश्चात जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो ।

सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने बताएका छन् ।

श्रीमान न्यायको हत्या नहोस : गगन थापा

युवा नेता गगन थापाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले न्याय दिने आशा धेरै जनाले लिएको बताएका छन् । प्रतिनिधि सभा विघटनको बिरुद्ध पार्टीले देशैभर आयोजना गरेको बिरोध प्रदर्शनलाई नेपालगंजमा सम्बोधन गर्दै थापाले अदालतले न्याय दिने आशा व्यक्त गरे ।

‘अदालतले न्याय देओस श्रीमान्, अदालत प्रति जनताको आस्था र सम्मान छ, श्रीमान न्यायको हत्या नहोस,’ सम्बोधन क्रममा नेता थापाले भने । उनले सम्बोधनका क्रममा कांग्रेसले अदालतको आदेशको पालना गर्ने समेत स्मरण गर्दै ‘अदालतप्रति कांग्रेसको भरोसा छ, कांग्रेसले अदालतको आदेशको पालना गर्छ,’ भने

 

टिप्पणी थप्नुहोस्