उखु किसान र सरकारबीच चार बुँदे सहमति

काठमाडौं । माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगित गर्न किसान प्रतिनिधि तयार भएका छन् । मन्त्रालयका अनुसार किसानको बक्यौता रकम २१ दिनभित्र उद्योगीबाट दिलाउन मन्त्रालयले पहल गर्ने र त्यो पनि सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति भएको हो ।

उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी १२० दिनभित्र सुझाव पेस गर्न एक संयुक्त प्राविधिक समिति गठन गर्ने पनि सहमति भएको छ ।

उक्त समितिले बक्यौता भुक्तानी हुनपर्ने रकमउपर उद्योगी र उखु किसानको दाबी फरक फरक भएको हुँदा यस सम्बन्धमा यथार्थ यकिन गरी भुक्तानीका सम्बन्धमा सुझाव पेस गर्ने बताइएको छ । त्यस्तै उखु किसानले नेपाल सरकारद्वारा निर्धारण गरिएको समर्थन मूल्य नपाएको गुनासो गरेकाले त्यस सम्बन्धमा पनि सत्य तथ्य यकिन गरी सुझाव पेस गर्नेछ ।

टिप्पणी थप्नुहोस्