सिरिजङगा: जो भाषा-लिपि, संस्कृतिका लागि शहिद भए

-हर्ष सुब्बा

धरान । आजभन्दा दुईसय उनासी वर्षअघि लिम्बु भाषा–लिपि तथा धर्म संस्कृतिका लागि शहादत प्राप्त गरेका त्येअङसी सिरिजङगालाई बुधवार लिम्बु समुदायले प्रकृति पूजा चासोक तङनाम मनाउँदै सम्झना गरेका छन् ।

लिम्बु भाषामा त्येअङसीको अर्थ अवतार हुन्छ । उनले नवौं शताव्दीमा राजा सिरिजंङगाले विकास गरेका वर्तमान नेपालको छुट्टै मौलिक सिरिजंगा लिपिको विकास गरेका हुन् । लिम्बु समुदायको भाषा–साहित्य, इतिहास तथा धर्म–संस्कृति यसै लिपिमा लेखन गर्न प्रचार प्रसारको क्रममा विसं १७९८ मा उनी हालको सिक्किमको तत्कालिन शासकहरुले हत्या गरेका थिए ।

प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइलाका अनुसार सिक्किमका बौद्ध धर्मावलम्बी तिब्बती भोटे राजपरिवारसंग लिम्बुवानका राजाहरुको वैवाहीक सम्बन्ध हुन्थ्यो । यस्तो सम्बन्धले लिम्बु जातिमा बढेको बौद्ध प्रभावलाई निस्तेज गर्न त्येअङसी सिरिजङगाले सिरिजंगा लिपीमा भाषा, धर्म-संस्कृतिको प्रचार बढाएका थिए । यस कार्यले बौद्धधर्म प्रभावित हुने आशंकाका कारण उनलाई सन् १७३४ मा तत्कालिन शासकहरुले हत्या गरेको इतिहासकार इमानसिंह चेम्जोङले उल्लेख गरेका छन् ।

चेम्जोङ अनुसार त्येअङसी सिरिजंगालाई रुखमा बाँधेर विषालु हानेर मारिएको थियो । त्यसैको प्रतिकका रुपमा पूर्व लिम्बुवानका विभिन्न स्थानमा उनको पूर्णकदका शालिकहरु स्थापना गरिएका छन् । किरात समुदायको उधौली पर्वलाई लिम्बु जातिले मनाउँदै आएको चासोक तङनामकै बेला त्येअङसी सिरिजंगाको शालिकहरुमा फुलमाला लगाई च्याब्रङ नाचेर उनलाई सम्झने गरिन्छ । धरानमा प्रवेश नाका, मोरङको पथरीशनिश्चरेको आदिबासी पार्क स्थित शालिकमा बुधवार उनिप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

नेपाल एकिकरण हुनभन्दा अघि नवौं शताव्दीमा लिम्बुवानका राजा प्रथम सिरिजंङगाले विकास गरेको लिपि उनी अवसान भएको झण्डै एक हजार वर्षपछि दोश्रो त्येअङसी सिरिजंगाले प्रबद्र्धन गरेका हुन् । त्यसैले लिपिको नाम सिरिजंङगा भनिएको हो । उनको जन्म सन् १७०४ मंसिरे पूर्णिमाको दिन भएको थियो । उनले अघि बढाएको लिपि नेपालको मौलिक प्राचिन लिपि मानिन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानव्दारा प्रकाशित लिम्बु-नेपाली-अंग्रेजी शव्दकोषको भूमिकामा भनिएको छ ‘ंबेञ्जामिनी सुल्जी (सन् १७४५) ले आफ्नो पुस्तक ग्रामाटिक हिन्दुस्तानिकाको भूमिकामा देवनागरी लिपिका व्यञ्जनवर्णको नमुना प्रस्तुत गर्दा लिम्बु लिपिका ‘क ङ म ग प य’ अक्षरहरु प्रकाशित गरेका छन् ।’ भाषा अनुसन्धाता विरही काईलाका अनुसार सिरिजङगा लिम्बु लिपिको पहिलो मुद्रित रुप त्यहीनै भएको उल्लेख गरेका छन् ।

भाषाविद बालचन्द्र शर्माका अनुसार सन् १८११ मा नेपालका इतिहासकार कर्कप्याट्रिकले नेपालको प्रतिनिधि भाषा भनेर आठ वटा भाषाको गणना गर्दा लिम्बु लाई पनि त्यसमा समावेश गरेका छन । उनले पहिलो पटक लिम्बुभाषामा शव्दकोश बनाउने पड्को हालेको देखिन्छ । दोश्रा सिरिजङगाको कार्यपछि प्रचुर मात्राममा यस लिपिमा लेखिएका कागजपत्र, पाण्डूलिपि र साहित्यका अभिलेख पाइएका छन् ।

पछिल्लो कालखण्डमा सिरिजंगा लिपिमा लेखिएका लिम्बु भाषाका साहित्यले नेपालको मौलिक लिपि-भाषाको वाङमय विकासको क्रममा अघि बढेको छ । साहित्यका सबै विधामा लेखिएका समृद्ध भाषा-लिपिका रुपमा पछिल्लो कालखण्डमा लेखिएका सिर्जनात्मक साहित्यले यो लिपी र लिम्बु भाषाको विकासका लागि थप उत्साह वर्धक बनाएको छ । यो अवस्था नेपालको मौलिक लिपी र मातृभाषाको प्रयोग तथा विकासको क्षेत्रमा महत्वपूर्ण फड्को हो । तथापी यस्लाई अहिलेको स्थितिमा ल्याउन राज्यले भने अपेक्षाकृत लगानी गरेको देखिन्न । भाषा, साहित्य सम्बर्धन गर्न स्थापित प्रज्ञा प्रतिष्ठानबाट उपेक्षीत रहँदै आएको छ ।

तथापी लिम्बु समुदायको प्रतिनिभि मुलक संस्था किरात याक्थुङ चुम्लुङले सिरिजङगा लिपि, लिम्बु भाषामा लेखिएका कृति तथा योगदान पुर्‍याएका श्रष्टालाई सम्मान गर्न पुरस्कार प्रदान गर्दै आएको छ । दाताहरुको अक्षयकोष बाट २०५१ सालमा स्थापित ‘किरात सिरिजङगा पुरस्कार’ अहिले सम्म नौं जनालाई प्रदान गरिसकेको छ । यसपाली दशौं पुरस्कार बुधवार साँझ सिरिजङगा लिपि, लिम्बु भाषाका लेखक, साहित्यकार थाकुहाङ मेरिङ सम्वाहाङ्फेलाई प्रदान गरिदैछ । इलामका लेखक सम्बाहाङफेका हालसम्म उपन्यास, नाटक, कथा, कविताका ८ वटा कृति प्रकाशित रहेको चुम्लुङले जनाएको छ ।

टिप्पणी थप्नुहोस्