चासोक तङनाम पर्व कोरोना जोखिमबाट प्रभावित

धरान । किरात समुदायको साँस्कृतिक पर्व उभौलीमा लिम्बु जातिले मनाउँदै आएको चासोक तङनामको सार्वजनिक कार्यक्रम यसपाली कोरोना महामारीबाट प्रभावित भएको छ । चासोकको अवसरमा यसअघि आयोजना गरिदै आएको सार्वजनिक चासोक मेला प्रभावित भएको हो ।

किरात याक्थुङ चुम्लुङले वर्सेनी मंसिरे पुर्णेमा मनाउने चासोकमा ५ देखि ७ दिनसम्म सांस्कृतिक मेला आयोजना गर्दै आएको थियो । यसपाली भने कोविड–१९ कोरोना भाइरस संक्रमणको जोखिमका कारण सार्वजनिक मेला आयोजना नगरिएको चुम्लुङ जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले बताए ।

कोरोना संक्रमणको जोखिमका कारण चुम्लुङ बुधवार एकदिन मात्र धर्मिक अनुष्ठानहरुका साथै सिरिजङगा लिपिका प्रवर्धक त्येअङसी सिरिजंगाको जन्म दिवस मनाएको हो ।

बुधवार विहान धरान–१५ स्थित चुम्लुङ हिममा आयोजित धार्मिक कार्यक्रममा फेदाङबा व्दारा लिम्बु समुदायलाई नकरात्मक असर पार्न सक्ने दशा, ग्रहहरु फाल्ने, नयाँ पाकेको अन्नबालीको न्वागी प्रकृतिमा विद्यमान तागेरनिङफुमाङ लाई अर्पण गर्ने अनुष्ठान सम्पन्न गरिएको छ ।

अघिल्ला वर्षहरुमा मुन्धुम अनुसार लिम्बु समुदायको समृद्धिको धार्मिक अनुष्ठानको लिम्बु विधि तङसिङ उठाएर रातभर फेदाङबा, येबा, साम्बाहरुले पूजा अर्चना गर्दै आएका थिए । साथै लिम्बु समुदायका परम्परागत खेलकुदहरुका प्रतियोगीता, सांस्कृतिक प्रदर्शन, गायनका धेरै प्रतियोगीता प्रस्तुतिहरु आयोजना हुने गरेको थियो । मेलामा लिम्बु जातीका परिकार, तिनपाने सेजङवा रक्सी, तोङबाको स्वाद लिन पाइनुका साथै अवेर रातसम्म स्थानिय तथा ँख्यातिप्रप्त कलाकारहरुका सांगीतिक प्रस्तुति हुन्थ्यो ।

कोरोना महामारीको जोखिमका कारण ती सबै किसिमका सांस्कृतिक कार्यक्रमहरु नगरिएको हो । बुधवार विहान सदा झै किरातकालिन लिम्बुवानको विजयपुर दरवारस्थलका भग्नवशेषमा च्याबुङ टोलीका साथै फेदाङबा, येबाहरुले टोली पुगेर पूजा अर्चना गरी चासोक अनुष्ठान शुरु गरिएको थियो ।

सोही बेला अर्को च्यब्रुङ टोली धरन प्रवेश नाका स्थित त्येअङसी सिरिजंगाको शालिक पुगेको थियो । चुम्लुङ केन्द्रिय उपाध्यक्ष कमल तिगोला लिम्बुले शालिकमा माल्यार्पण गर्नुका साथै च्याब्रुङ नृत्यव्दारा शलिक परिक्रमा गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

 

टिप्पणी थप्नुहोस्