मातृभाषा बचाउने पहिलो दायित्व समुदायको होः  प्राडा.अवस्थी

धरान । नेपालका जाति, समुदायका मातृभाषा जोगाउनु पर्ने पहिलो दायित्व जाति-समुदायकै भएकोमा राष्ट्रिय भाषा आयोगका अध्यक्ष प्राध्यापक डा. लवदेव अवस्थीले ध्यानाकर्षण गराएका छन् ।

नेपालको मौलिक अक्षरलिपि सिरिजंगा लिपिका प्रवर्धक त्येअङसी सिरिजंगाको जन्म जयन्तीमा मातृभाषाका श्रष्टाहरुलाई पुरस्कार घोषणा कार्यक्रममा वुधवार साँझ उनले भने ‘मातृभाषा लिपिको संरक्षण र विकासमा राज्यको भूमिकाका कुरा छलफलको विषय हुनसक्ने तर, आफ्नो भाषा–लिपि देनिक जीवनमा, व्यवहारमा प्रयोग गरेर जीवन्त राख्ने दायीत्व सम्बद्ध जाति समुदायको हो ।’

उनले नेपालका मातृभाषाहरु मध्ये लिम्बु भाषा समृद्ध भाषा हो, सिरिजङगा लिपि नेपाली भूमिमा प्रादुर्भाव भएको मौलिक लिपि भएकोले लिम्बुभाषा र लिपिको समृद्धि नेपालको लागि गौरवको विषय भएको बताए । नवौं शाताव्दीमा प्रार्दुभाव भएको सिरिजंगा लिपिमा लेखिएका लिम्बु भाषा साहित्यले वाङमयको रुप लिनुमा लिम्बु समुदायको भाषा–लिपि र संस्कृतिको प्रेमले ठूलो भुमिका खेल्दै आएको उनको भनाई थियो ।

उनले भने ‘नवौं शताव्दीको लिपिलाई कलिलै उमेरमा शहादत प्राप्त गरेर लिम्बु समुदायलाई भाष लिपिका लागि बलिदान समेत गर्नुपर्ने दोश्रो सिरिजंगाले दिनुभएकाले लिम्बु समुदायमा भाषा-लिपिको प्रेम अहिले पनि जिवन्त रहेको देखिन्छ ।’
प्राडा. अवस्थीले लिम्बु भाषा-लिपिका लागि श्रष्टाहरुको सम्मान पुरस्कार स्थापना गरेर किरात याक्थुङ चुम्लुङले उदाहरणी कार्य गर्दै आएको उनको कथन थियो । भाषा आयोगले मातृभाषााहरुको विकासका लागि स्थानिय तहहरु लाई उत्तरदायी बनाउने प्रकृया अघि बढाएकोले सम्बद्ध समुदायहरुले संस्थागत रुपमा नीति कार्यान्वयका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा लिम्बु साहित्य र चलचित्रकलाका श्रष्टा दुई जना पुरस्कृत भएका छन् । सिरिजंगा लिपि–लिम्बु भाषा सहित्यका श्रष्टा थाकुहाङ मेरिङ सङ्बाङ्फेलाई किरात सिरजंगा पुरस्कार एवं लिम्बु भाषाका चलचित्रका निर्देशक, कलाकार रणवीर रवी शेर्मालाई उदयकला पुरस्कार प्रदान गरिएको हो । दाताहरुको अक्षयकोषबाट किरात याक्थुङ चुम्लुङद्धारा स्थापित पुरस्कारको राशी १० हजार र २५ हजार रुपया श्रष्टव्दयलाई प्रदान गरिने छ । कोविड–१९ कोरोना भाइरस संक्रमण जोखिका कारण भच्र्युअल माध्यममा भएको कार्यक्रममा आयोगका अध्यक्ष प्राडा. अवस्थी प्रमुख अतिथि थिए ।

नेपालको साहित्य कला क्षेत्रमा मातृभाषाको छुट्टै पहिचान र बजार स्थापित भएको समृद्ध भाषा लिम्बु भाषालाई मानिन्छ । नेपाली संगीत र चलचित्रको बजारमा लिम्बु संस्कृतिमा आधारित तथा लिम्बु भाषा संस्कृतिमा बनेका चलचित्र, संगीतको छुट्टै स्थान छ । नेपालको मौलिक सिरिजंगा लिपि-लिम्बु भाषा लेखिएका साहित्यको आफ्नै वाङमय छ । तर नेपालको विविध मातृभाषाका साहित्य, संगीत तथा संस्कृति लाई राज्य बाट मुल्याङकन र प्रोत्साहित गर्ने कार्य भएको नभएको बारेमा सहभागी वक्ताहरुले ध्यानाकर्षण गराएका थिए ।

चुम्लुङ अध्यक्ष योगराज वनेमले भने ‘मातृभाषाहरुप्रति उपेक्षा भैरहेको बेला भाषा आयोगका अध्यक्ष कार्यक्रममा उपस्थित भएर लिम्बु भाषा–लिपिप्रति सम्मान प्रकट गर्नु उत्साहप्रद बनेको छ ।’ पूर्व अध्यक्ष उत्तमसिंह थाङदेन तथा पुरस्कारका लागि श्रष्टा छनौं समितिका संयोजकव्दय हर्ष सुब्बा र याम पयाङगुले नयाँ पुस्तामा लिम्बु भाषाका श्रष्टाहरुका सिर्जना विधागत रुपमा अव्वल अतुलनिय रहँदै आएकोले पात्र छनौट गर्न कठिन भएको बताए । पयाङगुले ओझेलमा परेका श्रष्टालाई प्राथमिकता दिइएको बताए । उनिहरुको भनाई थियो ‘श्रष्टाको नामले भन्दा पुरस्कारको नामले श्रष्टा लाई चिनाउनु पर्ने अवस्था बनाउन सके पुरस्कार र सम्मानको महत्व बढ्नेछ ।’

पुरस्कृत श्रष्टा सम्बाहम्फेको सिरिजंगा लिपि–लिम्बु भाषामा ८ वटा कृति प्रकाशित छन् । विशेषत उनले उपन्यास लेखनमा महत्वपूर्ण योगदान गर्दै आएका छन् । सम्बाहाङफेको सिरिजङ लिपि, लिम्बु भाषामा लेखिएका ६ उपन्यास सहित दर्जन कृतिहरु प्रकाशोन्मुख छन् । लिम्बु भाषाका चलचित्र निर्देशक रणवीर रवी शेर्माले लिम्बु भाषाका चलचित्र, भिडिायो फिल्ममा निर्देशन र अभिनय गरेका छन् । चुम्लुङ महासचिव निरन्ती तुम्बापोका अनुसार पुरस्कृत श्रष्टाद्वयलाई काठमाडौं स्थित चुम्लुङ हिममा पुरस्कार राशी र ताम्रपत्र प्रदान गरिनेछ ।

 

टिप्पणी थप्नुहोस्