प्रधानमन्त्री ओलीले राजीनामा दिनुपथ्र्यो

काठमाडौं । नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेमा राजीनामा दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभा बैठकमा पहिलो पटक आफ्नो धारणा राख्दै उनले ओली आफ्नो ४३ बर्षदेखिको सहयोद्धामा भएको उल्लेख गर्दै भने,‘अल्पमतमा परे प्रधानमन्त्री पदबाट ओलीले राजीनामा दिनुपर्दछ। त्यसो भएको भए पार्टी जोगिन सक्छ ।’

त्यस्तै गौतमले प्रतिनिधि सभा विघटनलाई संवैधानिक भएको बताए । विघटनविरुद्ध सर्वोच्चमा परेका रिटहरूको विषयमा संवैधानिक इजलासमा बहस हुन थालेकोले त्यसलाई असंवैधानिक भन्न नहुने उनको तर्क छ ।

उनले भने,, ‘मैले यो असंवैधानिक कदम हो भनेँ । तर, सर्वोच्च अदालतमा परेका रिटहरू संवैधानिक इजलासमा लगेपछि असंवैधानिक हो भन्न मिल्दैन ।’

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपनि आफूले यसलाई असंवैधानिक नभन्ने उनको तर्क छ । असंवैधानिक विषय संवैधानिक इजलासमा प्रवेश नै नहुने नेता गौतमको भनाइ छ ।

संविधान भित्रको विषय आफूले भनेबमोजिम भएन भन्दैमा संविधानलाई बदनाम गर्न नहुने उनको भनाइ छ । उनले घुमाउरो तरिकाले प्रतिनिधि सभा विघटनलाई संवैधानिक बताउँदै आफ्नो स्वार्थअनुसार संविधानलाई बदनाम गर्न नहुने धारणा राखे ।

गौतमले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे पनि सफल हुन नसकेको धारणा व्यक्त गरे । आफू विभिन्न कारणले विरोधी जस्तो भएर बस्नुपरेको गुनासो पनि उनले राखे ।

पछिल्लो समय आफू निरन्तर पार्टी एकतालाई जोगाउन लागिपरेको र अविश्वासको प्रस्तावलाई पनि असफल गराएको जानकारी दिँदै नेता गौतमले भने, “आरोपप्रत्यारोपका पत्र राख्दा पनि यो एउटा सुधारका निम्ति उपाय हुन सक्छ भन्ने लागेको थियो । यसपटक प्रतिनिधिसभा भङ्ग गर्दा पनि मलाई थाहा भएन ।”

टिप्पणी थप्नुहोस्