पहिरो गएको तीन दशकपछि थेग्रान पन्छाइँदै

हर्ष सुब्बा

धरान । स्थानीय तहमा ठूला योजनाको हल्ला गरेर राजनीति गर्ने प्रवृत्ति नेपालमा बढेको छ । यसले सानातिना ठानिने विकासमा दिर्घकालीन असर गर्नसक्ने समस्या ओझेलमा पर्दै आएका छन् । धरानमा यस्तै ओझेलमा पर्दै आएको ठूलो प्राकृतिक बिनाशका घट्ना भएको तिन दशक नाघेपछि बल्ल रोकथाम गर्ने काम हुने भएको छ ।

तीन दशक भन्दाअघि गएको पहिरोले धरानको सर्दु खोलालाई गरेको अबरोध पन्छाउने कार्य राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको बजेटबाट हुन लागेको हो । करिब पाँचसय वर्गमिटर भीरको भित्ता छेडेर गएको पहिरोको थुप्रानले खोला बग्ने ८० प्रतिशत भाग अबरुद्ध गरेको छ । सर्दु खोलाले पुर्‍याएको क्षतिका बारेमा नगरपालिकाले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको हो ।

तर पहिरोको थुप्रानका कारण खोलाले बाटो परिवर्तन गर्दा तल्लो भागमा हुने बाढीको कटानमा मात्र सरकारी बजेट खर्च हुँदै आएको थियो । समस्याको मुख्य कारण पहिरोको थुप्रान पन्छाएर खोलालाई प्राकृतिक बाटोमा फर्काउने काममा अहिले सम्म ध्यान गएको थिएन् । मेयर तिलक राईले भने ‘ढिलै भएपनि उपमहानगरपालिका मुख्य समस्या संघीय सरकारलाई बुझाउन सफल भएको छ ।’ उनका अनुसार राष्ट्रपति चुरे संरक्षणको १ करोड बजेटबाट पहिरोको थुप्रान पन्छाउने काम शुरु हुने भएको हो ।

धरान वडा २० तत्कालिन विष्णुपादुका गाबिसको कालिखोला सालबोटे स्थित पश्चिमी क्षेत्रमा उक्त पहिरो पहिलो पटक २०४३ सालमा गएको हो । तत्काल रोकथामको कुनै काम नहुँदा २०४५ सालको भूकम्पमा पहिरो थपिएर सर्दु खोला बग्ने दुई तिहाई बाटो बन्द गरेको हो । बातावरणको क्षेत्रमा कार्यरत स्थानिय आनन्द श्रेष्ठले भने ‘स्थानिय राजनीतिका कारण पहिरो पन्छाउने भन्दा पहिरोले पूर्वतिर बढाएका समस्यामा अहिले सम्म सरकारी बटेट खर्च हुँदै आएको थियो ।’

पश्चिमतर्फ गएको पहिरोले खोलाको बाटो थुनेपछि धरान वडा १३, १६ का सर्दु किनारका शहरी क्षेत्र वर्सेनी कटानमा पर्दै आएको छ । धरान–१३ स्थित भारतीय राजदुतावासको पेन्सन वितरण कार्यालय, संघीय प्रहरी इकाई कार्यालयका पछिल्ला भागहरु वर्सेनी कटानमा पर्दै आएका छन् । श्रेष्ठले भने ‘पेन्सन अफिसको परिसर चार मिटर बढी कटान भैसकेको छ यसपालीकौ बाढीमा मात्र दुई मिटर कटान भएको छ, प्रहरी कार्यालय आवास क्षेत्रमो ट्वाइलेट कटानमा परेर भत्कीएको छ ।’

सर्दुको धार परिवर्तन लाई बेलैमा प्राकृतिक दिशामा फर्काउन नसके कुनैपनि बेला विपत्ती आउन सक्ने अवस्था विद्यमान छ । सर्दुको किनारमा जोडिएका वडा ११, १७ का भागहरुमा बढेको बस्तीमा त्यस्ले ठूलै क्षति पु¥याउन सक्छ ।

मेयर राईका अनुसार पहिरोको थेग्रान पन्छाएर खोलालाई पुरानै धारमा फर्काउने कार्ययोजना चुरै संरक्षण विकास समितिले तयार गरेको छ । उनले भने ‘संघीय सरकार बाट योजनामा लगानी गर्न उपमहानगरपालिकाले प्रस्ताव गरेको हो, चुरेले टेण्डर मार्फत काम शुरु गर्ने भएको छ ।’

योजना अनुसार पहिरोको थेग्रान पन्छाएर पूनः खोलामा पहिरो आउनबाट रोक्नका लागि टेवा पर्खाल लगाइने छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्र पोखरेलले भने ‘पहिरो विशाल देखिन्छ, त्यो हटाउन स्काभेटर, बुल्डोजर लगायतका भारी मेशिनरी सामान चाहिने भएकोले त्यस्तो प्रविधि सञ्चालनको स्विकृति दिइएको छ ।’

पहिरोका कारण खोलाको वहाब क्षेत्र परिवर्तन भई धरान बजारको माथिल्लो खण्ड नै कटानको जोखिममा पर्ने भएकाले जोखिम न्यूनिकरणका लागी चुरे रिटेनिङवाल लगायतका संरचना निर्माण गर्ने योजना रहेको उनले बताए ।

वातावरणीय दृष्टिले खोलाको बाटो फर्काउन टेवा पर्खाल बाट मात्र उक्त पहिरो क्षेत्रको स्थायी समाधान हुन्न । श्रेष्ठका अनुसार माथिल्लो क्षेत्रबाट धान खेतको पानी बगेर पहिरो क्षेत्रमा आइरहने भएकाले स्थायी समाधानको लागि त्यहाँ जैविक इञ्जिनीयरिङको पनि प्रयोग गर्नुपर्छ । पहिरो क्षेत्रभन्दा माथिल्लो भागमा मानव बसोबास छ । त्यहाँको समतल फाँटमा धानखेती हुने गरेको छ । धानखेत बाट बगेर आएको पानीको कुलो पहिरो क्षेत्रमा स्थायी रुपमा खस्ने गरेको छ ।

कमेरो र कालो माटोले बनेको भीरमा निरन्तर पानी सिंचित हुँदा उक्त क्षेत्रमा जहिल्यै पनि भू–स्खलनको सम्भावना रहन्छ । उनले भने ‘एक पटक टेवा पर्खाल लगाएर मात्र हुन्न निरन्तर रेखदेख र वैज्ञानिक बोट विरुवा पनि जरुरी हुन्छ ।’ यसपाली चुरेले रोकथामका लागि बिनियोजन गरेको एक करोडको बजेटले थेग्रान पन्छाउने बाहेक अन्य काम हुने सम्भावना देखिन्न । पहिरोको खतरा विद्यमाननै रहने उनको भनाई छ ।

पहिरोका कारण सर्दुको बढ्दो खतराको स्थायी रोकथाम ओभेलमा परेको बेला धरानमा सर्दु करिडोर नामक अर्का ठूलो योजना चर्चामा छ । सर्दु खोलाको पूर्वी किनारै किनार बनाउने भनिएको सडक योजना संघीय सरकारले बनाउने धरानको विकासमा चासो राख्दै आएका युवा नेत चोत्लुङ लिम्बुले बताए । करिडोर धरान–१९ सर्दुपुल बाट वडा १७, ११ हुँदै वडा १७ को जानकी चौक सम्म बनाइने प्रस्ताव छ । सर्दु करिडोर नामैले पनि उक्त सकडको स्थायीत्व सर्दुखोलामा निर्भर छ । चोत्लुङ भन्छन् ‘सडकको अवधारणा संगै सर्दुको व्यवस्थापनका योजना बनाउनु पर्छ ।’

टिप्पणी थप्नुहोस्