कांग्रेस प्रदर्शनमा भीड

-हर्ष सुब्बा

धरान । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको विरोधमा भैरहेका कांग्रेस प्रर्दशनमा ठूलै भीड हुन थालेको देखिएको छ । सातै प्रदेशको ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम अनुसार प्रदेश १ मा भएका सभाहरुमा उल्लेख्य सहभागिता देखिएको हो । मुलुकमा अस्थिरताको सम्भावना बढेको अवस्थाले कांग्रेस कार्यकर्तामा चासो बढ्दा प्रदर्शनहरुमा सहभागिता बढेको स्थानिय नेताहरु बताउँछन् ।

प्रतिनिधि सभा विघटनपछि कांग्रेस पुनस्थापना वा मध्यावधि चुनाव कुन पक्षमा रहन्छ भन्ने कुरामा कांग्रेस कार्यकर्तामा चासो बढेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गर्दै बैशाखमा चुनावको घोषणा गरेको छ । सुनसरी–१ क का प्रदेश सभा सदस्यमा कांग्रेस उम्मेदवार रहेका किशोर राईले भने ‘आफ्नै पार्टीको दुई तिहाई बहुमत हुँदा सत्ता शक्तिको बलमा संसद विघटन गर्ने पार्टी अध्यक्ष, प्रधानमन्त्रीले चुनाव गराउलान भनेर कसरी विश्वास गर्ने ?’

असंवैधानिक संसद विघटनको विरोध भैरहंदा मुलुकमा संकटकाल लगाउने, संघीयता खारेज गर्ने, सैनिक शासन लगाउने जस्ता अफवाहरु फैलाउने काम भैरहेका छ । यस्तो बेला नेपालको राष्ट्रिय अस्तित्व, प्रजातन्त्रको रक्षाका लागि संघर्ष गर्दै आएको कांग्रेस चुप बस्न नमिल्ने कुरा उनले बताए । महासमिति सदस्य कृष्णप्रसाद सुवेदीले भने ‘सर्वोच्च अदालतले संसद पुनस्थापना नगरे स्थिति विग्रन सक्छ, चुनावबाट कांग्रेस भाग्न मिल्दैन् दुवै अवस्थामा कांग्रेसले नेतृत्व लिनुपर्छ भन्न कुराले कांग्रेस कार्यकर्ताको चासो बढेको छ ।’

धरानमा शनिवार आयोजित सुनसरी–१ प्रदेश ‘क’ को विरोध प्रदर्शनमा सहभागी कांग्रेस कार्यकर्ताहरु यस्तै चासो लिएर भेला भएका थिए । पंचायतकालका कांग्रेस अगुवा भीष्म काफ्लेले भने ‘ओलीको ताल हेर्दा उनले चुनावको मिति घोषणा गरेपनि चुनाव भने गराउँदैनन् भन्ने लाग्छ ।’ उनका मन्त्रीहरु प्रदेश सभा समेत विघटन गर्ने कुरा गर्दै हिडेकाले कुनै ग्राइण्डडिजायनमा ओली सरकार हिंडिरहको जस्तो लाग्ने काफ्लेको भनाई छ ।

प्रतिनिधि सभा विघटन लगत्तै नेकपामा देखिएको विभाजनको स्थितिले प्रदेशमा दुवै गुटको भेला, एक अर्का नेताप्रति कटु आलोचनाको क्रम बढेको छ । तर कुनैपनि बेला कम्युनिष्ट एकताको नाममा उनिहरु मिल्नसक्ने पनि कांग्रेस कार्यकर्तामा आशंका पाइन्छ ।

कांग्रेस धरान नगरका उपसभापति राजेन्द्र राई भन्छन् ‘सत्ताको राजनीतिमा प्रचण्ड-नेपाल बलियो भएपछि ओलिले शक्ति प्रदर्शन गरेका हुन्, ओली झुके उनिहरु फेरी मिल्न सक्छन् ।’ उनिहरुको झगडामा भन्दा कांग्रेसले नेपालको अस्तित्व र संघीय लोकतान्त्रिक संविधानको रक्षा गर्ने भूमिका खेल्न जरुरी भएको उनको कथन छ ।

कांग्रेसले असम्बैधानिक संसद विघटनको विरोधमा पहिलो पटक गएको पुष १३ गते देशव्यापी विरोध प्रदर्शन र सभा गरेको थियो । पार्टीको केन्द्रिय समिति बैठकको निर्णय अनुसार शनिवार सातै प्रदेशको ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो । यसैगरी कांग्रेसले माघ ३ शनिवार र माघ ८ शनिवार देशभरका ७५० नगरपालिका, ६,७४३ वडाहरुमा विरोध प्रदर्शन र सभा गर्दैछ ।

धरानमा भएको प्रदर्शनपछि धनबहादुर कटुवालको सभापतित्वमा विरोध सभा भएको थियो । सभामा विघटिन संसदका सदस्य मिना सुब्बा, प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, सुनसरी–१ क्षेत्रीय सभापति शुरेसमा श्रेष्ठ लगायतले नेपालको संघीय लोकतान्त्रिक संविधानको रक्षााका लागि असम्बैधानिका संसद विघटनको कांग्रेसले विरोध गरिएको बताए ।

 

टिप्पणी थप्नुहोस्