नेपाली साहित्यमा सांस्कृतिक चेतनाका जनजातिय मिथक

-हर्ष सुब्बा

धरान । पछिल्लो समय नेपालमा राष्ट्रवाद चर्को वहसको विषय बनेको छ । प्रतिनिधि सभाको असंवैधानिक विघटन यससंग जोडिएको छ । तत्कालिक राजनीतिक रुपमा आउने यस्ता बहस समय अनुसार उठ्छ, उठाइन्छ र सेलाउँछ पनि । राष्ट्रिय एकताकै सवालमा सोमवार पृथ्वी जयन्तीमा नेपालका एकिकरणकर्ता पृथ्वीनारायण शाहको सम्झना गरियो ।

उनले गरेका भौगोलिक एकिकरणलाई भावनात्मक, भाषिक र सांस्कृतिक रुपमा बलियो बनाउनुपर्छ भन्ने बहस पनि नउठेको होइन् । तर बेला बेलामा उठ्ने राष्ट्रियताका कुरा सत्ता केन्द्रित राजनीतिमा सीमित हुने गरेको छ । राष्ट्रको दिर्घकालिन नीतिमा यो समाहित हुन सकेको देखिन्न । त्रिविका उपप्राध्यापक राजेश विद्रोही भन्छन् ‘इतिहासको पछिल्लो कालखण्डमा साहित्यका श्रष्टाहरुले यसलाई मिथक, प्रतिकका रुपमा बुलन्द बनाएर उठाउन थालेका छन् ।’

भाषा, साहित्यले नेपालीत्व ग्रहण गर्न नेपालका जनजातिय भाषा, संस्कृतिका मिथक, प्रतिक–बिम्बहरुले पुर्‍याएको योगदानका बारेमा हालै राजेशले तयार गरेको शोधपत्र स्विकृत भएको छ । बहुजातिय, बहभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक नेपालको भावनात्मक एकिकरण गर्न नेपाली भाषा, साहित्य तथा सिर्जनात्मक क्षेत्रले निर्णायक योगदान गर्नसक्ने उनि बताउँछन् ।

‘समकालिन नेपाली कबितामा जनजातिय मिथक र प्रतीकको प्रयोग’ विषयक उनको शोधपत्रले राष्ट्रिय भावनाको जग समुदायका भावनात्मक लगावले बलियो बनाउनेमा ध्यानाकर्षण गराएको छ । राणापछि सकृय राजतन्त्रमा दबिएको अवस्थामा रहेको जनजातिका भाषा, संस्कृति र भावना २०४५ सालको परिवर्तन पछि विस्तारै प्रकट हुन थालेको हो । त्यसै बेलादेखी एकिकरणको पुनर्मुल्याङकन र भावनात्मक एकिकरणको बहस शुरु भएको थियो ।

उपप्राध्यापक राजेशले भनेका छन् ‘यो क्रम हस्तेपक्षेपकारी सामथ्र्यका साथ प्रारम्भ भएको भने २०५० को दशकमा हो । उनीहरूले नेपाली कवितामा भिन्न कथ्य र शैलीका साथ आफ्नो दरिलो उपस्थिति देखाएका छन् ।’ २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली आदिवासी जनजाति समुदायमा जातीय जागरणको चेतना जुर्मुराउन थालेको पाइन्छ । आदिवासी जनजाति समुदायले जातीय भाषा, संस्कृति, लिपि आदिको संरक्षणमा विभिन्न जातीय संस्थाहरू मार्पmत् प्रयास गर्न थाले । साहित्यमा जातीय पहिचान र अस्तित्वलाई स्थापित गर्न जनजातीय कविहरू विशिष्ट शब्द-शक्तिका साथ अग्रसर भए ।

उनले तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ गते सशस्त्र आन्दोलन थालेपछि यसको प्रभाव राज्यको हरेक पक्षमा परेको उल्लेख गर्दै जातीय ऐतिहासिकताका आधारमा जातीय राज्यको मुद्दालाई उठाउँदै जातीय मोर्चाहरू गठन गर्ने निर्णय गरेपछि जनजाति समुदायका ऊर्जाशील युवाकवीहरु जातीय स्वत्व, पहिचान र आत्मसम्मानपूर्ण जीवनका लागि कविताको औजार बोकेर मैदानमा ओर्लिए । यसपछि नेपाली कविताले नयाँ अनुहार र नयाँ शृङ्गार प्राप्त गरेकोले नयाँ शृङ्गारबाट नेपाली कविताको सौन्दर्यमा नयाँपन थपेको दाबी गरेका छन् ।

उनि भन्छन् ‘उनीहरुको मातृभाषाका शव्दहरुका मिथक, प्रतिक प्रयोग राज्य विरुद्ध असन्तुष्टि मात्र होइन्, विद्रोहको हुङ्कार एक प्रकारले भाषिक-सांस्कृतिक एकाधिकारविरुद्धको विद्रोह थियो ।’ नेपाली राष्ट्रियताको कुरा गर्ने तर नेपालको मौलिक भाषाहरुलाई दमन गर्ने राज्यको एकल भाषिक नीतिका विरुद्ध श्रष्टाहरुका प्रयोग निकै सार्थक सिद्ध भएको उनको भनाई छ । भनेका छन् ‘अहिले जनजातीय भाषाका थुप्रै शब्दहरूसँग गैरजनजाति समूदायका मानिसहरू पनि परिचित हुन थालेका छन् ।’

साहित्यमा मिथकको प्रयोग बारेमा उनले भनेका छन्, अंग्रेजी साहित्यका पश्चिमा मिथकहरू प्रयोग गरिएका कविताहरूको अर्थ खुट्याउन तिनका मिथकहरूले बोकेका अर्थको गहिराइमा प्रवेश गर्नु आवश्यक हुन्थ्यो । उनी भन्छन् ‘अब परिस्थिति उल्टिएको छ नेपाली कबिता बुझ्न जनजातिका संस्कृति बुझे हुन्छ ।’

जनजाति कविका कविताहरू अङ्ग्रेजीमा उल्था गरेर अङ्ग्रेजी भाषी पश्चिमी पाठकहरूलाई पढ्न दिने हो भने उनीहरूले जनजातीय मिथकहरूले बोक्ने अर्थहरूको संसारमा परिभ्रमण नगरी कविताको अर्थ बुझन सम्भव नै छैन । जनजातीय मिथकहरू नेपाली सम्पदा नै हुन् । यस्तो प्रयोगले नेपाली मिथकहरूको अन्तर्राष्ट्रिय प्रसारमा सहयोग पुर्‍याउने विश्वास गर्न सकिन्छ । यो चानचुने उपलब्धि होइन, यसले नेपाली कवितामा बेग्लै र ‘अग्र्यानिक’ स्वाद भरेको छ ।

उनको शोध अनुसार २०५० को दशकमा राजनीतिक रूपमा जातीय आत्म निर्णयको अधिकार र स्वशासनको मुद्दा बहसको केन्द्रमा आइरहेको थियो । यसै परिवेश र पृष्ठभूमिमा दशकको अन्त्यतिर जनजाति कविहरूले आफ्ना कवितामा पनि यिनै मुद्दालाई विषय बनाए । यसै समयमा श्रवण मुकारुङले जातीय मुक्तिको आग्रहसहित ‘सिर्जनशील अराजकता’ को अभियान उद्घोष गरे । यस अभियानलाई कविहरू उपेन्द्र सुब्बा, राजन मुकारुङ र हाङयुग अज्ञातले प्रारम्भ गरे ।

२०६० को मध्यतिर पाँचथर बाट ‘उत्तरवर्ती सोच’ नामक अभियान थालियो । कविहरू सगुन सुसारा, राज माङ्लाक र भवानी तावा थिए भने यसका वैचारिक व्याख्याता कवि तथा समालोचक थाम्सुहाङ पुष्प सुब्बा थिए । काठमाण्डौबाट ‘रङ्गवादी आन्दोलन’को पहिलो घोषणा पाँचथरकै कवि धर्मेन्द्रविक्रम नेम्बाङले गरे । सबै आन्दोलन र अभियानहरू जातीय विभेदको विरोध गर्दै जातीय समानताको पक्षमा केन्द्रित छन् ।

जनजातीय कविहरूले नेपाली कवितालाई कलाको नयाँ धारमा अग्रसर गराउने अभिप्रेरणा २०२० मा तेस्रो आयमेली आन्दोलन मार्फत वैरागी काइँलाले शुरु गरेको कबिता लेखनलाई मानेका छन् । शोधपत्रमा भिनेको छ ‘कवि बैरागी काइलाले नेपाली कवितामा बेग्लै भूगोलको अन्वेषण गरे ।’ उनले नेपाली कवितालाई त्यसअघि कहिल्यै नदेखिएको रूप प्रदान गरे । जनजातीय कविहरूले फरक अनुहारको नेपाली कविता लेख्न थालेको त्यसै बेलादेखि हो । यसै क्रमको हस्तेपक्षेपकारी सामथ्र्यका साथ प्रारम्भ २०५० को दशकमा भएको हो ।

यसअघि सुवानन्ददासको ‘पृथ्वीनारायण’ शीर्षकको कविता नै नेपाली भाषाको पहिलो कविता भएको समालोचक डा.तरानाथ शर्माको दाबीलाई उनले उल्लेख गरेका छन् । प्रामाणिक रचनाकाल ज्ञात हुन नसके पनि विद्वान्हरूले उक्त कविता विक्रम सम्बत १८३०-३१ तिर लेखिएको हुनसक्ने अड्कल काटेका छन् । नेपाली भाषाको पहिलो कविता लेख्ने सुवानन्ददासको प्रामाणिक परिचय फेला पर्न नसके पनि उनकै कवितामा उल्लेखित पङ्क्तिहरूका आधारमा समालोचक शर्माले उनी नेवार जातिको भएको अनुमान लगाएको शोधपत्रमा उल्लेख गरेका छन ।

टिप्पणी थप्नुहोस्