प्रचण्डले माधवको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोजे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सडकमा देखिएको आन्दोलन दलहरुको मध्यावधी निर्वाचनको तयारी भएको टिप्पणी गरेका छन् ।

वडा तहसम्म कार्यक्रम गरेर प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले चुनावको तयारी गरिरहेको भन्दै मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगमन हुन नसक्ने ठोकुवा गरे ।

कृयाशील दलित पत्रकार संघ नेपालको प्रथम साधारणसभा तथा अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालमा जस्तै नेता माधव नेपालको ढाडमा टेकेर प्रम ओलीको टाउकोमा हान्ने रणनीति अख्तियार गरेपनि त्यसलाई सफल हुन नदिने बताए ।

प्रतिनिधि सभा विघटनको विरुद्ध पत्रकारहरुले समाचार प्रकाशन प्रशारण गरेको भन्दै मन्त्री गुरुङले विरोधका लागि मात्र सरकारको विरोध नगर्न तथा परिस्थिती अनुकुल कलम चलाउन आग्रह गरे ।

मन्त्री गुरुङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत ‘चुनावमा जाने बेला कहाँ संसद पुनस्र्थापना हुन्छ ?’भनेर भन्नु भएको प्रसंग समेत उल्लेख गरे । मुलुक अनिर्णयको बन्दीबन्नु पर्‍यो, यस्तो अवस्थामा जनादेश लिनका लागि निर्वाचनमा जाने कुरा प्रतिगामी, असंवैधानिक हुुनै नसक्ने मन्त्री गुरुङको तर्क थियो ।

कार्यक्रममा सहभागीहरुले सञ्चारगृहमा दलित पत्रकारहरुको समावेशी सहभागिता वृद्धि तथा सामाजिक सुरक्षाको ग्यारेण्टी गर्न माग गरेका थिए । कार्यक्रममा पत्रकारहरु कसमस विश्वकर्मा, गोविन्द परियार, बाबुराम विश्वकर्मा तथा प्रकाशचन्द्र परियारलाई सम्मान गरिएको थियो । सोही अवसरमा समता फाउण्डेसनको ‘दलित समुदायमा कोभिडको प्रभाव’ नामक पुस्तक विमोचन गरिएको थियो ।

टिप्पणी थप्नुहोस्