नेपालमा डेंगी नियन्त्रण बाहिर - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

नेपालमा डेंगी नियन्त्रण बाहिर


काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या अस्वभाविक रुपमा बढिरहेको छ । डेंगी महामारी नियन्त्रण बाहिर गएको छ । हाल संक्रमितको संख्या २४ हजार ४ सय ९२ पुगेको छ ।

२०६१ सालदेखि देखिन थालेको भए पनि गत साउनदेखि हालसम्म मात्रै २४ हजार ४९२ संक्रमित पाइएका हुन् । डेंगीबाट २९ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार संक्रमित भएका छन् ।

पछिल्लो केही हप्तादेखि डेंगीका बिरामी गम्भीर लक्षण लिएर अस्पताल पुग्ने गरेका छन् । अर्थात् डेंगीले कडा रुप लिँदै गएको छ । अहिले उपत्यकाका हरेक जसो अस्पतालमा डेंगीका बिरामीहरु रहेका छन् । त्यस्तै तराई भेगमा पनि हरेक अस्पतालमा डेंगीका बिरामीहरु रहेका छन् ।

अस्पतालमा पुग्ने बिरामीहरु गम्भीर स्वास्थ्य समस्या लिएर पुग्ने गरेका छन् । कोरोना भाइरसका लक्षणजस्तै देखिँदै आएकामा पछिल्ला केही दिनदेखि भने बिरामी बेहोस हुने र रक्तश्रावसमेत हुने गरेको छ ।

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले पनि अस्पतालमा आउने अधिकांश बिरामी भएको पाँच–छ दिनपछि गम्भीर स्वास्थ्य समस्या लिएर आउने गरेको बताएका छन् । उनले पहिले डेंगी भइसकेका बिरामीलाई दोस्रो पटक डेंगी हुँदा कडा खालको लक्षण देखिएको बताए ।

बिरामीलाई गाह्रो नपरी अस्पताल नजाने भएकाले पनि समस्या बढेको चिकित्सकहरुको भनाइ छ । पहिले ज्वरो आएर सिटामोल खाएर निको भइसकेको बिरामीलाई केही दिनपछि झन् कमजोर गर्दै लगेको उनीहरुको बुझाइ छ । पछिल्लो समय बान्ता हुँदा, खोकी लाग्दा, गिँजा–नाकबाट रगतसमेत देखिन थालेको छ ।

निकै खतरनाक शैलीले डेंगी फैलदासमेत सरकारले भरपर्दो कदम चाल्न सकेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने स्वास्थ्य मन्त्रालयमा डेंगी प्रकोप घोषणा गर्ने सम्बन्धमा प्रस्ताव पठाइसकेको छ । सरकारले ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान ल्याएको छ । तर सरकारको प्रयासहरु प्रभावकारी हुन सकेका छैनन् ।