अर्को हप्तासम्म मौसमी वर्षात्, जोखिम कायमै - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

अर्को हप्तासम्म मौसमी वर्षात्, जोखिम कायमै


काठमाडौं । असोज तेस्रो साता बितिसक्दा पनि देशका विभिन्न स्थानमा अविरल बर्षा भइरहेको छ । दाङमा बाढी र डुवानका कारण २५ सय घरमा क्षति भइसकेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर दुई हजार ३१२ घरमा आंशिक र १९९ घरमा पूर्ण रूपमा क्षति भएको छ ।

त्यस्तै, बाँकेमा सात दिनको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट विस्थापित भई विद्यालय र त्रिपालमुनि बस्दैआएका बाढीपीडितलाई डेंगु र मलेरियाको उच्च जोखिम देखिएको छ । बाढीले घर डुबानमा परेपछि अहिले जिल्लाका सयौँ बासिन्दा अग्लो ठाउँमा रहेका विभिन्न विद्यालय र सरकारले वितरण गरेको त्रिपालमुनि बसिरहेका छन् । देशका अन्य स्थानमा पनि बाढीले ठूलो क्षति पुरयाएको छ ।

यता, जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानूमान गरेको छ । विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो जानकारी गराएका हुन् । मौसमविद् रेग्मीले त्यसका लागि विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्नुहुँदै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बतए ।

वरिष्ठ मौसमविद् रेग्मीले भने, ‘‘अहिले तत्कालै आज भोलीनै मौसम बाहिरिने सम्भावना छैन । तथापि सम्भवतः अर्को हप्ता मौसम बाहिरिन सक्छ । अब हामी कहिले मौसम बाहिरिन्छ भन्ने सन्दर्भमा चाहिँ मौसमी सिष्टमलाई निरन्तर अनुगमन गरिराखेका छौं । बाहिरिने अवस्था भएपछि हामी सार्वजनिक गर्छौं उचित समयमा ।’’

मौसमी वर्षात् सकिएपनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि वरिष्ठ मौसमविद् रेग्मीले स्पष्ट पारे । वर्षात् सकिएपनि त्यसको जोखिम भने कायमै रहन सक्ने उनको भनाइ छ ।

विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ ? भन्ने बारे हिउँदा याम सुरु हुनु अघि नै जानकारी दिने पनि बताएको छ । वरिष्ठ मौसमविद् रेग्मीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिना हिउँद याम हुने भन्दै त्यसको जानकारी समय आउनु अगावै दिने बताए ।

"