संस्था विभाजन हुँदा एनआरएनएको परोपकारी काम छिन्नभिन्न - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

संस्था विभाजन हुँदा एनआरएनएको परोपकारी काम छिन्नभिन्न


काठमाडौं । परोपकारी काम गरेर प्रतिष्ठा कमाएको विदेशका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ एनआरएनए यतिबेला तीन समूहमा विभाजित छ । १०औं महाधिवेशनबाट अलग भएको पूर्वअध्यक्ष शेष घले नेतृत्वको समूह, ११औं महाधिवेशनबाट अलग भएका आरके शर्मा र डा. बद्री केसी नेतृत्वको समूह समानन्तर गतिविधि गर्न तल्लिन छन् । जसका कारण प्रभावकारी रुपमा संस्थागत कामहरु हुन सकेका छैनन् ।

शुक्रबार राति जाजरकोट र रुकुम पश्चिमा एक सय ५७ जनाको मृत्यु साथै दुई सय बढी घाइते हुने गरी गएको विनाशकारी भूकम्पमा राहत जुटाउने सवालमा एनआरएनएहरुले एकताबद्ध देखिएका छैनन । अलग अलग समूहले अलग अलग राहत जुटाउन थालेका छन् । अध्यक्ष आरके शर्माले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरे । उनले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि गरेका छन्। भूकम्पबाट पीडित नेपालीहरुलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै एक करोड रुपियाँ बराबरको सहयोग जम्मा भएको छ।

उक्त कोषका लागि महासचिव बुद्धि सागर सुवेदी ले रु १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, पूर्व अध्यक्ष कुल आचार्यले रु ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख रुपियाँ, उपाध्यक्ष गोविन्द श्रेष्ठ रोविन्द ले ३ लाख, कृष्ण जीवि पन्थ ले रु २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। त्यस्तै उपाध्यक्ष डा केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटाले जनही एक लाख रुपियाँ प्रदान गर्ने जनाए। एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबार सम्ममा बैंक खाता खोली सबै साथीहरुलाई जानकारी गराउने बताए।

यता, डा.बद्री केसी नेतृत्वको समूहले पनि पीडितहरुका लागि राहत संकलन शुरु गरेको जनाएको छ । भूकम्पले घरबारविहीन भएकाहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्रीसहित अध्यक्ष डा.केसीको नेतृत्वको एक टोली प्रभावित क्षेत्रमा जादैछ ।

अध्यक्ष केसीका अनुसार भूकम्प पीडित ४०० परिवारलाई संघले राहत सामग्री वितरण गर्न लागेको हो। अध्यक्ष डा.केसीसहित महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, एनसीसी यूएईका अध्यक्ष विकास साहीलगायतको टोली राहत सामग्री जाजरकोट पुग्नेछन् ।

संघले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेस, लगाउने न्यानो कपडा, स्यानिटरी प्याडलगायतका सामग्री वितरण गर्ने राहत अभियानलाई संयोजन गरिरहेका संघका सचिव गोर्खालीले बताए। ‘हामी आइतबार सम्मा त्यहाँ पुग्न कोशिश गर्दैछौं। त्यहाँका पीडित परिवारलाई निरन्तर सहयोग गर्न हामी खटिनेछौं,’ उपमहासचिव प्रविण गुरूङले भने।

त्यस्तै, एनआरएनएका पूर्व अध्यक्ष कुमार पन्तले पनि संस्था मार्फत भन्दा पनि आफ्नै नीजि कम्पनीमार्फत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतकालागि पन्त नेतृत्वको ट्रिप ईन्न होटेल समूह जर्मनीका तर्फबाट २० लाख रुपैयाको आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

पूर्व अध्यक्ष तथा एमआइटी ग्रुप फाउन्डेशनका संस्थापक अध्यक्ष डा.शेष घलेले भुकम्प प्रभावित रुकुम, जाजरकोट लगायत क्षेत्रमा अल्प र दिर्घकालिन सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफ्नै फाउन्डेसनमार्फत सहयोगको घोषणा गरेका हुन । फाउन्डेसनले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी क्षतिको आँकलन गर्ने र सोहि अनुसार के कस्ता अल्पकालीन तथा दीर्घकालीन उद्धार, राहत तथा सहयोग कार्य गर्दा बढी प्रभावकारी तथा दिगो हुन्छ सोही अनुसार स्थानीयहरूका प्राथमिकताका आधारमा राहत तथा उद्धार कार्यमा संलग्न हुने जनाइएको छ।

गैरआवासीय नेपाली संघले २० वर्षमा झण्डै एक अर्ब रकम संस्थागत तबरमार्फत परोपकारी काममा खर्चिएको तथ्यांक छ । नेपालमा मात्रै नभएर प्रवासमै पनि एनआरएनएले नेपालीहरुको सुःखदुखमा साथ दिने गरेको छ । हरेक सुखदुःखमा साथ दिएकै कारणले प्रवासी नेपालीहरुमाझ एनआरएनएको गरिमा बढ्दै गएपनि पछिल्लो समय संस्थाको शाख गिरेको छ । नेपालीहरुको उत्थान, विपत् व्यवस्थापन जस्ता क्षेत्रहरुमा काम गर्नका लागि स्थापना गरिएको एनआरएनए फाउन्डेसनले पनि गति लिन सकेको छैन ।

"