मध्यावधिको भेलमा शेखर - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

मध्यावधिको भेलमा शेखर


संघीय गणतन्त्र नेपालको राजधानी शहर काठमाडौ उपत्यकामा दशैं–तिहारको चहल–पहल र रमझम निखारतिर छ । मधेशतिर दुर्गापूजा र छैठकोे चहल–पहल बाँकी छ । तर, माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठबन्धन बनाएर संघीय सरकार ‘चलाइ रहेको’ पार्टी नेपाली कांग्रेसका केन्द्रीय नेता शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘खुला’ सहयोगमा, केदार कार्कीलाई ‘कोशी’ प्रदेशको मुख्यमन्त्री तोकेपछि परिस्थिति तात्न थालेकोछ । प्रत्यक्षतः गठबन्धन खतरामा परेकोदेखिएको छैन । सारै ब्यापक हिमपात नभएसम्म पूर्वका नदीहरुमा हिउँदमा बाढी आउँदैन । यसैपनि, कोशी सात भिन्न नदीको समूह हो, जो चतराबाट सप्तकोशीको नामले चिनिन्छ । कोशी शब्दमा समेटिएका पूर्वका यी सात नदीमा समान रुपले जल–प्रवाह हुँदैनन भन्ने ज्ञान कोशी किनारमा हुर्किएका कोइरालाहरुमा पर्याप्त छ ।

पूर्वी नेपालको सबैभन्दा ठूलो शहर बिराटनगर नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य बिन्दू हो । लामो समयसम्म नेपाली लोकतान्त्रिक राजनीतिको शक्तिकेन्द्र रही सकेको ‘कोइराला निवास’ बाट तीनजना प्रधानमन्त्री–मातृकाप्रसाद कोइराला, बिश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला–शक्ति केन्द्रको प्रमुखका रुपमा अवतरित भैसक्नु भएकोछ । बिराटनगरको शक्तिकेन्द्रसँग अहिले हींग छैन । ‘वास्नाका लागि’ अलिकति हींग टालोमा बाँधेर राख्नु भएकोछ शेखरले । निवासमा कति ताकत बाँकी छ ? त्यसको परीक्षणगर्नका लागि मध्यावधि चुनावको भेलमासबै राजनीतिक दलहरु हेलिनै पर्ने कठिन परिस्थिति सिर्जनागर्नु भएकोछ शेखर कोइरालाले । भौतिक रुपमा पनि कोइराला निवासको जे जति अवशेष बाँकी छ त्यसलाई शेखरले नै जोगाउनु भएकोछ । उहाँका सगोत्री अंशियार दाजुभाइहरु कोइराला निवास परिसरबाट स्थायी रुपले पलायन भै सकेका छन ।

चिकित्सक र चिकित्सा ब्यबस्थापकका रुपमा लामो र सफल ब्यवसायिक जीवन उत्तराध्र्दको उकालो चढने तयारीमा लागेको बेला अचानक राजनीतिमा प्रवेशगर्नु भएको हो शेखर कोइराला । प्रजातन्त्रका लागि भएका आन्दोलनहरुमा उहाँको निरन्तरत सहभागिता रहेपनि उहाँ एकैपटक राजनीतिको मूल प्रवाहमा हामफाल्नु भएको हो । उहाँमा राजनीतिक सामथ्र्य नभएको होइन । तर, नेपालको राजनीतिमा सामथ्र्यको परिभाषा सँधै एउटै रहने गरेको छैन । कांग्रेसबाट भिन्न राजनीतिक दलहरुको नेतृत्वमा रहेका मनमोहन अधिकारी र मदन भण्डारी, मोहनचन्द्र अधिकारी, सीपी र राधाकृष्ण मैनाली, माधव नेपाल र केपी ओली–कसैको पनि कसैसँग सामथ्र्यको तुलना छैन । यो कुरामा सबै स्पष्ट हुनुपर्दछ ।

कोशी प्रदेश शेखर र केपी ओलीको चट्के मेलमिलापका कारण चर्चामा थियो । अहिले चर्चामा रहेको मियो भाँचिइसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा कोशीमा मध्यावधि चुनावको प्रसंग मिलाउन लागि सकेका छन । उनले चूरो कुरो बुझेका छन: मध्यावधिको बिकल्प पनि छैन । कांग्रेस र माओवादी कोशीमा एमालेले बनाएको रोडम्याप पछ्याउन पनि तयार छैन । देउवाको चरित्र स्वर्गीय सूर्यबहादुर थापाको जस्तै छ । सामन्तहरुको समाजमा थापा अब्बल दर्जाका चतुर ब्यक्ति हुनुहुन्थ्यो । उहाँले नेपालको दरवारी राजनीतिको चूरो बुझ्नु भएको थियो । सूर्यबहादुर थापाका पिता ध्रुव शमशेरका तहसीलमा कार्यरत हुनुहुन्थ्यो । कोइराला दाजुभाइमा सबैभन्दा कान्छा गिरिजाप्रसाद कोइराला समेत सूर्यबहादुर थापाको चातुर्य कलाका पारखी हुनुहुन्थ्यो । कोइराला आधा गाग्रो राजतन्त्रको जलमा चौथाइ गाग्रो प्रजातन्त्र र चौथाइ गाग्रो जनवादको जल मिसाउने थापा नीतिका प्रशंशक हुनुहुन्थ्यो । तर उहाँमा थापाको जस्तो राजतन्त्रका अगाडि लम्पसार पर्ने स्वभाव थिएन ।

कोशीको मुख्यमन्त्री पदमा केदार कार्कीको आरोहणले शेखर कोइरालाको समर्थनमा नारा लगाउने कांग्रेसीहरु प्रसन्न भएका थिए । तर, यो प्रशन्नता धेरैबेर टिकेन । शेखर कोइरालाले एमालेको हाँगोमा टेकेर कांग्रेसको हाँगो लछार्न खोज्नु भएको थियो । तर, उहाँले चिताएको कुरो पुगेन ।

शेखर कोइरालाका शुभचिन्तक र सहयोगीहरु आर्थिक हिसावले स्रोत सम्पन्न छन । अहिलेको राजनीतिमा आर्थिक स्रोतको महिमा अपरम्पार छ । तर, सबैकुरा आर्थिक स्रोतले मात्र पनि निर्धारण गर्दैन । शेखरका स्रोत सम्पन्न सहयोगीहरुको सम्बन्ध प्रचण्ड, शेरबहादुर र ओलीसँग पनि उत्तिकै घनिष्ठ रहेकोछ । एमाले अध्यक्ष केपी ओलीसँग त स्रोत सम्पन्न सहयोगीहरुको सम्बन्ध अझै घनीभूत छ । कम्बोडियाको कुनै बैंकको खातामा अध्यक्ष ओलीको तीन हजार करोड विदेशी मुद्रा लगानी भएको समाचार पढिएकै हो । यद्यपि ओलीले त्यो लगानी गरेको पत्ता लगाउनेलाई एकहजार थपेर पुरस्कार दिने पनि बताइसक्नु भएकोछ । कुरा कहाँ अडकिएकोछ भने ओलीको पोल्टामा हिंग नभएको पत्याउन त सकिन्छ । तर, उहाँको शरीरबाट हिंगको वास्ना मगमगाउन थाली सकेकोछ । हिंगको सुगन्ध हतपती हटने कुरा भएन ।

देशमा आफ्नो सक्रिय उपस्थिति जनाउने राजनीतिज्ञको कमी छैन हामी कहाँ । ती राजनीतिज्ञहरु ओत बस्ने पार्टीहरुको पनि कमी छैन । नारा र संकल्पको त कुरै नगरे भयो । रामकुमारी झाँक्रीदेखि गगन थापासम्म, स्वर्णिम वाग्लेदेखि योगेश भट्टराईसम्म, दीपशिखादेखि घनश्याम भूसालसम्म, प्रदीप पौडयालदेखि बिश्वप्रकाशसम्म र रबि लामिछानेदेखि रेशम चौधरीसम्म । अहिलेको राजनीतिक तमाशामा देखिएका मानिस त एकसे एक छन । तर यी मानिसहरुले समाज परिवर्तनको चोटिलो सपना देखेका छैनन । उनीहरुमा त्यस्तो सपना देख्ने अदभूत क्षमता देखिएको पनि छैन । शेखर कोइरालाको राजनीतिक योग्यता माथि उल्लेख भएका राजनीतिक कार्यकर्ताहरुको भन्दा कमबेसी छैन । सिध्दान्त र विवेकको मामिलामा नेता–कार्यकर्ताको चाल समान छ ।

नेपालीलाई भूटानी शरणार्थी बनाएर बिश्व बजारमा कचौरा थाप्न पठाउनेहरुका बिरुध्द के गरे त यी आफूलाई परिवर्तनकारी बताउने नव युवा र प्रौढ युवाहरुले ? धेरै नेपाली जनताको अन्तर्मनमा प्रश्नको यो तीखो सुइरोले नराम्ररी घोचेको छ । मानिसले स्पष्ट शब्दमा केही भन्न सकेका छैनन । तर, सरकार चलाउनेले जनताका कुँडिएका आवाज सुन्न र बुझन सक्नु पर्दछ । स्थापित ब्यवस्थामा आमूल सुधार गरेर देशको अनुहार उज्यालो बनाउन के गरे त अहिलेसम्मका यी ‘सत्पात्र’हरुले ? जवाफ कसैले दिनै पर्दैन । राजनीतिको यो एउटा गम्भीर पक्ष हो जसका बारे कसैले पनि आफ्नो चिन्तन एकाग्र गरेको छैन । यो दुःखलाग्दो कुरा हो । हामी आफ्नो र आफ्नो सन्तानका लागि आत्मसम्मानपूर्ण जीवनका लागि केही पनि प्रयत्न गरी रहेका छैनौं । यो २०४७ देखि अहिलेसम्मका सबै सरकारका लागि लज्जास्पद पक्ष हो भनेजनताका लागि सबैभन्दा दुःखद पक्ष हो ।

शेखर कोइराला कांग्रेसको मूलधारमा हुनुहुन्छ । उहाँ स्वयंका लागि र कांग्रेसका लागि समेत यो राम्रो कुरा हो । उहाँले अब आप्mनो ज्ञान र बुध्दिको प्रयोग गरेर पहिले त प्रदेश सभाको लंगडो अवस्थालाई सच्याउन मध्यावधि चुनावका लागि दवाव सिर्जना गर्नुपर्दछ । त्यसबाहेक उहाँले कोशी प्रदेशको नाम बदलेर मौलिक सभ्यता र संस्कृति बोकेका त्यहाँका आदिवासी लिम्बु, किरात र अन्य जाति–जनजातिको अपनत्व झल्किने नामराख्नु पर्दछ । संघीय गणतन्त्रलाई सफल गराउने हो भने राजनीतिक दलका नेता र कार्यकर्ताले जनताका सामु झुक्नै पर्दछ ।

"

"