वाणिज्य बैंकहरुको नाफा २८ प्रतिशतले घट्यो - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

वाणिज्य बैंकहरुको नाफा २८ प्रतिशतले घट्यो


काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ प्रतिशतले घटेको बताएका छन् ।
सोमबार संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा मात्रै नभएर खुद ब्याज आम्दानी समेत बढ्न नसकेको उल्लेख गरे ।

अध्यक्ष केसीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म १६ अर्ब पुगेको बताए । उनले चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न नसकेको उल्लेख गरे

अध्यक्ष केसीले चालु आवको पहिलो त्रैमासमा बैंकको कर्जा मात्रै नभएर डिपोजिट समेत धेरै बढ्न नसकेको बताए । उनले निजी क्षेत्रको व्यापार घट्दा बैंकको नाफा प्रभावित भएको दाबी गरे । अध्यक्ष केसीले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) को रकममा उच्च वृद्धि भएको समेत बताए । उनले लोनको माग नहुँदा बैंकहरुले प्रिमियम घटाउँदै गएको बताए ।

अध्यक्ष केसीले कात्तिक १७ गतेसम्म २० वटा वाणिज्य बैंकहरुको करिव ७४ अर्बको कर्जा बढ्दा १२१ अर्बले निक्षेप बढेको बताए । उनले गत वर्ष सोही समयमा करिव ४७ अर्ब बढेको बताए । उनले २० वटा बैंकको अवस्था हेर्दा एउटा बैक घाटामा,१३ वटा बैंक गत वर्षको भन्दा कम नाफा र ६ वटा बैंकको केही मात्रामा नाफा बढेको बताए ।

अध्यक्ष केसीले विश्व व्यापी रुपमा देखिएको मूल्यवृद्धि,उच्च ब्याजदर सबैखाले असामान्य परिस्थिति र नयाँ इजरायल र हमासको युद्धको असर बैंकिङ क्षेत्रमा पनि देखिएको बताए । मौद्रिक र वाह्य क्षेत्रमा केही प्रगति भएपनि विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्ने क्रम देखिएको बताउँदै उनले बैंकको खराब कर्जा ३.६१ प्रतिशत पुगे पनि दक्षिण एशियाली देशसँग तुलना गर्दा डराउनुपर्ने अवस्था नभएको भएपनि सजग हुनैपर्ने अवस्था रहेको बताए ।

अध्यक्ष केसीले स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोहीअनुसार बैंकहरुले काम गरेको बताए । उनले एनबीएले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितलाई ५ करोड रुपैयाँ सहयोग गर्ने बताउनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दै आगामी कात्तिक २३ र २४ गते संघले एशियन बैंकर्स कन्फरेन्स आयोजना गर्न लागेको बताए ।

यता, बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढेको भए पनि “अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको” केन्द्रीय बैंकका अधिकारी, अर्थविद् तथा वित्तीय क्षेत्रका जानकारहरूले बताएका छन्। उनीहरूका अनुसार नेपाली अर्थतन्त्रमा देखिएको “समग्र शिथिलता”का कारण वित्तीय संस्थाहरूको खराब कर्जा वृद्धि भएको हो।

पहिलाको बर्ष भन्दा अहिलेको वित्तीय अवस्था अलि कम्जोर नै भएर आएको राष्ट्र बैंकका प्रवक्ता डिल्लीराम पोख्रेलले बताए। तर, यो निक्षेपकर्तामा त्यति ठुलो असर पार्ने गरी पनि नआएको उनको भनाइ छ । उनले भने, ‘पहिलाको भन्दा घटेको हो तर, यसले निक्षेपकर्तालाइ अप्रत्यक्ष रुपमा केहि असर गरेपनि प्रत्यक्ष रुपमा असर भने सेयर कारोबार गर्ने लगानीकर्तालाई पर्छ, बैंकहरुको नाफा घटेपछि उनीहरुले पाउने लाभांश लगाएतका कुरामा कमी हुन्छ ।’

बैंकहरुको खराब कर्जा पछिल्लो समय विभिन्न कारणले बढेको छ । यो विस्तारै सुधारतिर जाने उनले बताए । यसका लागि राष्ट्र बैंकले तयारी गरिरहेको र जुन बैंकको धेरै खराब कर्जा बढेको छ त्यसलाई घटाउने तर्फ लाग्ने पोख्रेलले बताए ।

आर्थिक गतिविधि जुन रफ्तारमा जानुपर्ने गएको छैन् । तर वित्तिय क्षेत्रमा देखिएको खराब कर्जाले तर्सिहान्नु पर्ने अवस्था नरहेको पुर्ब बैकर अनिल केशरी शाह बताउछन् । अहिले आतिने भन्दा पनि सचेत हुने बेला आएको शाह बताउछन् । साना तथा मझ्यौला व्यवसायहरुमा नगद प्रवाह हुन सकेको छैन् । जसले गर्दा गत बर्षको तुलनामा बैंकहरुको विवरणहरु त्यति राम्रो आउन सकेन् । बैंक भनेको विश्वासको क्षेत्र हो । जसरी पहिलो त्रैमासमा रिपोर्ट नकारात्मक आयो । यसले तर्सिहाल्ने अवस्था नभएको तर, अब सचेत नहुने हो भने त्यति राम्रो संकेत नदेखिएको उनले बताए ।