पाथिभराको मौलिक नाम ‘मुक्कुमलुङ’ - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

पाथिभराको मौलिक नाम ‘मुक्कुमलुङ’


धरान । ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथिभरा देवी स्थलको मौलिक नाम ‘मुक्कुमलुङ’ भएकोले सरकारी दस्तावेज, प्रचार सामाग्रीहरुमा पुनः मुक्कुमलुङ नामाकरण गरिनुपर्ने माग गर्दै मंगलवार धरानमा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् ।

सरकारले उक्त तिर्थस्थलको पर्यटकीय विकासका लागि पूर्वाधार निर्माणको योजना लागु गरेपछि सरोकारवालाहरुले ऐतिहासिक, सांस्कृतिक तथ्य सार्वजनिक गर्दै मुक्कुमलुङ नामाकरण गर्न दबाब आन्दोलन गर्दै आएका छन् ।

मुक्कुमलुङ सरोकार समुहका धरान संयोजक नरप्रसाद लिम्बुले मुक्कुमलुङ पाथिभरा क्षेत्र आदिमकालदेखि लिम्बु समूदायको पवित्र सांस्कृतिक एवं आध्यात्मिक भूमि भएको बताउँदै भने ‘पछिल्लो समय मुक्कुमलुङलाई राज्यले हिन्दुकृत गरेर पाथिभराको नामाकरण गरेको हो ।’ त्यहाँ हुने कथित विकास र धार्मिक गतिविधिमा आदिबासी लिम्बुहरुलाई राज्यले वेवस्ता गर्दै आएकाले उनीहरु आक्रोशित बनेका हुन् ।

समुद्र सतह भन्दा ३ हजार ७९४ मिटर उचाईमा अवस्थित पाथिभरा मुक्कुमलुङ धार्मिकस्थल पुग्न पैदल यात्रा निकै विकट छ । सरकारले त्यहाँ पुग्न केवलकारको योजना अघि बढाएपछि ताप्लेजुङमा संघर्ष समिति गठन भएको छ । उनिहरुले सर्भेक्षणको कार्यमा अवरोध समेत पुर्‍याएका थिए ।

धरानमा जारी विज्ञप्तीमा भनिएको छ ‘नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय श्रम संगठनको घोषणापत्र आइएलओ १६९ मा आदिबासी भूमिमा विकास निर्माणका परियोजना सञ्चालन हुँदा त्यहाँका आदिबासी जनजातिबाट स्वतन्त्रता पूर्वक अग्रिम सुसूचित र स्विकृति लिनुपर्छ भन्ने शर्तको सम्मान र कार्यान्वयन नभएकोले विरोध र असहमति जनाइएको हो ।’

मुक्कुमलुङ आन्दोलन चलिरहेको बेला नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिलविक्रम नेम्वाङ वैरागी काइलाले डेढसय वर्ष अघिको ऐतिहास्कि दस्तावेज सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । नेपालको लिम्बुवान सम्बन्धि पहिलो अनुसन्धानकर्ता वेलायती विव्दानव्दारा संकलीत प्रसिद्ध हडसन पाण्डुलीपिमा सिरिजंगा लिपिको मुन्धुममा विभिन्न सर्गमा मुक्कुमलुङ उल्लेख भएको उनले बताएका छन् ।

लण्डन स्कुल अफ लाइब्रेरीमा रहेको पाण्डूलिपिको फोटो कपि समेत सार्वजनिक गरी विभिन्न पृष्ठमा मुक्कुमलुङ लेखिएको उल्लेख गर्दै उनले उदाहरण दिएका छन् ‘हज्सन पाण्डूलिपि, (भोलम ८४, पृष्ट ११२ याक्थुं हा मुधुं, वस्ता नम्बर ५, २६/५ को हरफ १०–११ मा फियामलुङमा पछि मुक्कुमलुङमाको उल्लेख छ ।’