भ्रम र सत्यका बीच नेपाली पत्रकारिता - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

 भ्रम र सत्यका बीच नेपाली पत्रकारिता


-किशोर नेपाल

पत्रकारिताका सिध्दान्त र सूत्रहरुको ब्याख्यागर्ने क्रममा स्ट्यानफोर्ड बिश्वबिद्यालयका प्रोफेसर लायल एम नेल्सन हामीलाई बताउने गर्नुहुन्थ्योे : ‘यतिबेला पत्रकारिताको सबैभन्दा सजिलो सिध्दान्त र सूत्रका रुपमा रहेका पाँच डव्ल्यू र एक एच (के ? किन ? कहिले ? कहाँ ? को ? र कसरी ?) को अस्तित्व संकटमा परेको छ । यो देखेर कवि रुडयार्ड किपलिंगको समाधिस्थ आत्मा छटपटाइ रहेको होला । अहिलेको पत्रकारितामा यी खोजपूर्ण प्रश्नहरु अलमलिएका छन । यो सरल परिभाषाको अस्तित्व संकटमा परेकोछ ।’

किपलिंगको जमाना आदर्शवादी थियो । सत्य–निष्ठालाई डग्न नदिइ पत्रकारितामा लागेका मानिसलाई पत्रकारिताको ब्यबसायमा लागेका साहूजीहरु नियमित मासिक पारिश्रमिक दिन्थे । पत्रकारहरु साहूजीको वही–खाता, सम्पत्ति र ऐश्वर्य हेर्दैनथे । इमान–जमानको जमाना थियो । समाचारको बजार सानो थियो । उत्पादनमा अहिलेको जस्तो खासै बिबिधता पनि थिएन । साहूजीहरुमा सम्मानको लोभ पक्कै थियो । तर, बिज्ञापनबाट आर्जनहुने सम्पत्तिको प्रकोप थिएन । त्यसको निकै पछिमात्र पत्रकारिता र संचारको क्षेत्रको ब्यापक ब्यवसायीकरण हुन थाल्यो । दोस्रो बिश्वयुध्दको समाप्तिपछि संचारको क्षेत्रमा तिब्र परिवर्तन आयो । पत्रकारिता ब्यवसायमा नयाँ क्षितिजहरु खुले । संचार आफैमा ठूलो ब्यबसायका रुपमा बिकसित भयो ।

सन १९८० को समय थियो त्यो । क्यानाडियन संचारविद मार्सल मकलुहानले सूत्र बाक्य बोलेका थिए : मिडियम इज दि मेसेज । मकलुहानले संचार जगतमा हुन लागेको परिवर्तनको स्पष्ट संकेत गरका थिए । मिडियम इज दि मेसेज-यो बाक्य सजिलै स्थापित भएको थिएन । दुनियाँ आर्थिक परिवर्तनको बाटोमा तीब्र गतिले हिंड्यो । क्रमिक रुपमा उद्योग र ब्यबसायका आबश्यकता बढे । ती आबश्यकताको परिपूर्तिका लागि संचार र संवाद अपरिहार्य हुँदै गयो । पूँजीवादी समाजमा आफना उत्पादनका पक्षमा अभिमत जुटाएर ग्राहकलाई आकर्षितगर्नु अस्वाभाविक कुरा थिएन । मकलुहानले यसैलाई संकेत गरेर बाटो देखाएका थिए : मिडियम इज दि मेसेज ।

भारतबाट प्रसारितहुने सरकारी रेडियो आकाशवाणीको ‘पन्चरंगी कार्यक्रम बिबिध भारती’ र श्रीलंका रेडियोबाट प्रसारित हुने खास गरेर हिन्दी सिनेमासंग सम्बन्धराख्ने बिबिध मनोरन्जक कार्यक्रम सुनेर हुर्केको हाम्रो पुस्ताका लागि ती कार्यक्रम अदभूत प्रेरणाका स्रोत थिए । अहिलेको जमानाका युवा–युवती टिकटकमा रत्तिएजस्तै आफनो जमानामा हामी ‘इतना तो मुझ से न प्यार जता, कि मैं इक बादल आवारा’ जस्ता फिल्मी गीतमा रमाउँथ्यौं । अहिले मनोरन्जनका माध्यमहरु बग्रेल्ती छन ।

अहिले नेपालमा लोकतान्त्रिक गणतन्त्रको संस्थापन भएको पनि दुइ दशक पुग्न लागि सकेकोछ । कांग्रेस, कम्युनिष्ट, माओवादी, समाजवादी सबै दल र बिचारका राजनीतिक नेताहरुले प्रत्येक क्षण र प्रत्येक दिन, साँझ बिहान नेपाली जनताको महान संघर्षबाट स्थापित यो ब्यबस्थाको अस्तित्व रक्षाको कसम खाने गरेका छन । माओवादीको नेतृत्वमा बनेको संयुक्त सरकारले सामाजिक स्वच्छता जोगाउने नाउँमा टिकटकमाथि प्रतिबन्ध लगाएकोछ । यसको बिरोधमा कोही मैदानमा उत्रिएको छैन । लोकतान्त्रिक गणतन्त्रको सुरक्षाका लागि यो गोधूलिमा सरकार कृष्णलीलाको प्रदर्शनगर्न चाहन्छ भने त्यो पनि स्वागतयोग्य कदम हुनेछ । प्रविधिको छलांग रोकेर समाजको बिकास हुन्छ भन्ने सोच्नु पनि एकप्रकारको बिचार नै हो । तर, बिचार सार्वकालिक हुँदैनन । परिवर्तित समय अनुसार बिचारमा ठूलो हलचल आउँछ । आजको संसार आदर्शबाट होइन, आबश्यकताबाट चलेको छ ।

अहिले नेपालको आर्थिक जगतले खुला र उदार वाटो अपनाएसंगै पत्रकारिताका जे जस्ता स्थापित मान्यताको अवलम्वन हामीले गरेका थियौं ती वदलिन थालेका छन । आजको पत्रकारले जनताका जिज्ञासाका जवाफ खोज्न खासै कष्टगर्नु पर्दैन । मिडियामा लगानीगर्नेको आवश्यकताको बोध गरेर र उनका मांग के हुन ? त्यसप्रति जिज्ञासा राखे पुग्छ । काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिका लागि शुरु भएको मेलम्ची खानेपानी आयोजनामा नेपाल सरकारले ७० अरब रुपैयाँ खर्च गरि सकेको छ । तर, मेलम्ची आयोजना सुचारुहुने कुनै टुंगो छैन । यस्तो अवस्थामा नेपालका संचाकर्मीहरुले कवि किपलिंगको सम्झनाको खासै उत्प्रेरक मूल्य र महत्व रहेको छैन भन्नु नपर्ला ।

मेरो बिचारमा, अहिलेको पत्रकारितामा पक्ष र विपक्षका नाममा जस्तो रडाको मच्चिएकोछ यो निकृष्ट भएर पनि स्वाभाविक हो । भर्खरैमात्र एकजना नामूद औद्योगिक घरानाका सदस्यमाथि सरकारी जग्गा हिनामिना गरेको मुद्दा लाग्यो । धेरैजसो मुद्दाहरु ‘उहिल्यै लाग्नुपर्ने’ र फैसला हुनुपर्ने प्रवृत्तिका छन । ती मुद्दाहरु यत्रो समयपछि किन लाग्यो त ? अहिले मुद्दा लगाउने र त्यतिबेलाको अपराधका लागि मुद्दा खेप्ने दुबैथरि सूचनाको बेग्लै धरातलमा उभिएका छैनन । यो कदापि बिर्सिनु हुँदैन कि नेपाली जनताले ब्यबस्थामा आक्रामक परिवर्तन गरे : २०४६ मा पनि र २०६२ मा पनि । त्यो परिवर्तनले केही मानिसका अनुहारमा परिवर्तन ल्यायो तर प्रशासनिक संयन्त्रमा रत्तिभर परिवर्तन ल्याएन । राजाको पुरानो शासन होस कि जनताले आन्दोलन गरेर पुनस्र्थापित गरेको संसदीय शासन होस अथवा त्यसपछिको जनताकै गणतान्त्रिक शासन होस, सबै कालखण्डका शासकले तिनैको निधारमा शक्तिको सिन्दूर लगाइ दिएका छन जो निर्लज्जतापूर्वक संविधान र कानूनका मर्यादाहरुको उल्लंघनगर्न सक्दछन । त्यसैले भन्नु पर्दछ, अहिले पत्रकारिताको ऐनामा बिकृतिको खजाना परिलक्षित भयो भने यो अस्वाभाविक होइन । तर, त्यसो भएको छैन । पत्रकारिताको ऐना धूमिल हुँदै गएको छ । त्यसमा भ्रष्टाचारका आकृतिहरु देखिन छाडेका छन ।

मानवीय संसारलाई ट्यूब र टनेलबाट निःसृत पत्रकारिताको स्वाद चखाउने तन्नेरीहरु धन्य छन । हालसालै ट्यूबमा हो कि टिकटकमा नेपाल सरकारका एकजना सचिव सरकारले बैदेशिक रोजगारीमा जानेहरुको सेवा सुविधा बढाउन लागेको बताउँदै थिए । सुन्दै अचम्म लाग्दो कुरा । उनले प्रतिनिधित्वगर्ने नेपाल सरकारले बैदेशिक रोजगारीमा गएर कतारको कुनै गोठमा वा होटेलमा काम गरी रहेका नेपालीको तलव बढाउन कुन मालिकसंग कुरागर्ने हो ? बिश्वमा एकातिर सम्पत्तिको थुप्रो लाग्दैछ भने अर्कोतिर गरिबीको बढदो भेलले संसार निस्सासिदैछ । यस्तोमा कसले कसको रक्षागर्न सक्दछ ?

संचारका हिसावले हेर्दा हाम्रो देश सामाजिक सन्जालमा छताछुल्ल भएको भान पर्दछ । देशमा बेरोजगारी बढेपछि काम नपाएर छटपटाएका तन्नेरी जमात वैदेशिक रोजगारीको खोजीमा लाग्नु अनौठो होइन । २०४६ सालको आन्दोलनले निर्दलीय पन्चायत ब्यबस्थालाई बढारेपछि जनताले देशमा नयाँ बिहानीको प्रारम्भहुने कुरा सोचेका थिए । तर, त्यो सोचाइ एक दशकपनि टिकेन । त्यो समयका संचालकहरु नै अहिले पनि राज्य शक्तिको संचालकका रुपमा रहेका छन । प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको राष्ट्रिय जन–आन्दोलन २०४६ मा सक्रिय भागलिने तत्कालीन युवाहरुको आशाका बिपरित देशको कुनैपनि क्षेत्रमा निर्माणको जागरुकता देखिएन । शासन पुरानै ढर्रामा चल्यो । आधुनिक संचारको प्रभावपर्नै पाएन देशमा । पन्चायत ढलेर बहुदलीय ब्यबस्थाको स्थापनाहुँदा पनि राजा खुशी थिए किनभने उनका भाइ–भारदार, सकल परिवार, आसेपासे ब्यापारी र चाकरीदारहरुको बर्चस्व यथावत रहेको थियो । नेताहरुमा सपनाको अभाव थिएन । अभाव थियो त देश बनाउने इच्छा शक्तिको । नेताहरुका ती सपना बिश्वबैंक र आइएमएफले पूरागर्ने कुरा थिएन । अन्तर्राष्ट्रिय संस्थाहरु सहयोग र समन्वयका उद्देश्यले मात्र नेपालमा आएका थिएनन । उनका आफनै राष्ट्रिय अभिप्राय एकातिर थिए, अर्कोतिर आग्रहहरुपनि प्रसस्त थिए ।

विश्व मानचित्रवाट अलग भू–भाग होइन नेपाल । तर, यस्तो आभाश हुन थालेकोछ – नेपालीले राजनीति वा अर्थशास्त्रका विषयमा विश्वव्यापि मान्यता र नियमको पालन गर्नुपर्दैन । राजा बीरेन्द्रको प्रत्यक्ष शासनका बेलामा नेपाल ‘रमिते देश’ को हैसियतमा पुगी सकेको थियो । पेरिसमा आयोजित अति गरीब देशको सम्मेलनमा हाम्रा राजालाई बिश्वका नेताहरुले ‘दरिद्र नारायण’ बनाइ दिएका थिए । दरिद्र देशहरुका नेताका रुपमा नेपालको चयनलाई त्यतिखेरका सरकारी र कथित गैर सरकारी संचार माध्यमहरुले गौरवको बिषय बनाएका थिए । त्यो अवसर गौरवको उच्च बिन्दू थियो कि हीनताको पराकाष्ठा ? यो प्रश्नको जवाफ मैले अहिलेसम्म पाएको छैन । त्यतिबेला नै राजा बीरेन्द्रले पन्ध्रबर्षमा देशलाई एशियाली मापदण्डमा पुर्याउने ‘वाचा’ गर्दा नेपाली कांग्रेसका क्रान्तिकारी नेता गिरिजाप्रसाद कोइरालाले त्यो काम आपूmले दशै बर्षमा पूरागर्ने चुनौति दिएका थिए राजालाई । तर, के भयो ? २०४७ सालमा सहज हिसावले वहुमत पाएका क्रान्तिकारी नेता कोइरालाले आफनै सत्ता समेत टिकाउन सकेनन ।

हाम्रा हरेक नीति नियमहरु विलक्षणका छन । चाहे राजनीति होस, अथवा ब्यापार, उद्योग होस अथवा खेती, ती एउटै जालोमा उनिएका छन । यहाँको न्याय पध्दति, साहित्य, कलाकारिता र पत्रकारिताको पनि आफनै अनौठो नीति र नियम छ । यो नीति र नियम अनुसार, कुनै ब्यापारीले कर नतिरेको पोल खोल्न जुटेको पत्रकार आफना मालिकका लागि कर छूट दिनसक्ने हाकिमसंग कसरी पहिचान बनाउने र मालिकले तिर्नुपर्ने कर बिमोचनगर्ने भन्ने उपायको खोजीमा रहेको हुन्छ । प्रेस लेखेको गाडी चढने वित्तिकै सडक कर उठाउने कर्मचारीले सडकमा तेस्र्याएको तगारो खोली दिनैपर्ने परिपाटीछ । राज्यले राजनीतिका नाममा राज्य संयन्त्रमा बसेर गुण्डागर्दीगर्ने व्यक्तिहरुलाई जुन जुन सुविधा उपलव्ध गराएको हुन्छ, पत्रकारलाई पनि ती सवै सुविधा चाहिएको हुन्छ ।

अहिले हाम्रो समाजको पत्रकारितामा यो प्रवृत्ति सवभन्दा वढी हावी भएकोछ । पत्रकारिताका लागि यो घातक प्रवृत्ति हो । तर, यो पत्रकारितासंग संलग्न स्थायी प्रबृत्ति पक्कै होइन । यसलाई साना र गरीव मुलुकहरुमा देखिने स्वाभाविक प्रवृत्ति भनेर पन्छाउने गरिएकोछ । भारत जस्तो स्वतन्त्र पत्रकारिताको लामो इतिहास भएको देशका पत्रकारहरु समेत कर्पोरेट प्रलोभनमा फँसेका छन । केही बर्षअघि इण्डिया टु डेका सम्पादक प्रभु चावला र सीएनएन–आइवीएनकी वर्षादत्त जस्ता पत्रकार समेत दलाली रकमको मोहमा परेको पोल खुलेपछि पेशावाट टाढिन वाध्य भएका थिए । अहिले पनि भारतमा त्यो अवस्था बिद्यमान छ । हामीकहाँ पनि त्यो अवस्था नरहेको छैन ।

संसारमा फेसबुक, टिकटक, ट्यूब, एक्स (ट्विटर) र अन्य अनेक देशी–बिदेशी सामाजिक सन्जालमा सकेसम्म कराएर जनताको ध्यानाकर्षितगर्ने ‘पत्रकारिता’ लोकप्रिय भइरहेकोछ । भारतमा यो अवस्था एकदमै भिन्न छ । त्यहाँका एकथरि पत्रकारहरुले कराउँदै लखेटदैगर्ने शैलीमा पत्रकारितागर्न थालेका छन । भारतमा अपहरणको मुद्दा लागेका पत्रकारलाई र पत्रकार कुटने राजनीतिक कार्यकर्तालाई त्यहाँका स्थानीय, प्रान्तीय र केन्द्रीय सरकारले एकैसाथ सम्मान र संरक्षण दिने गरेकोछ ।

अहिलेको नेपाली पत्रकारिता सानातिना प्रलोभन भन्दा धेरै नै बढी विकृत र घातक प्रवृत्तिको दलदलमा फँसी सकेकोछ । यसलाई भ्रष्टाचारमा आकण्ठ डुबेका कर्मचारी, भू–माफिया, ब्यबसायिक अपचलनमा ब्यस्त ब्यक्तिहरु र कमिशन एजेन्टहरुले आफनो नियन्त्रणमा लिइ सकेका छन । नेपाली जनता झिल्के अनुहार हेरेर आकर्षित हुन्छन । झिल्के अनुहारभित्र लुकेका दुराशयहरुलाई हेर्ने क्षमताको अभाव छ हामीसंग । कुनैपनि देशमा टिकटक बन्नु, यू ट्यूब सक्रियहुनु, फेसबुकमा फेस चम्किनु वा ‘फेसलेस’ हुनु प्राविधिक बिकाससंग जोडिएका सामान्य बिषय हुन । तर, यी माध्यमहरुलाई असामान्य बनाइएकोछ । देशमा पत्रकारिता पढाउने पेशामा लागेका गुरुवरहरु पारम्परिक पाठ्यक्रमकै चिन्तामा अलमलिएका छन । के पढाउने ? ‘मिडियम इज दि मेसेज’ कि मेसेज थ्रू दि मिडियम ?

नेपाल सानो छ । तर, नेपालमा सामाजिक संजाल र पत्रकारिता बीचको भेद छुट्याउन सकिने अवस्था छैन । स्थापित भनिने संचार माध्यमहरु समेत आफूलाई सामाजिक सन्जालको तहमा उतार्न तत्पर देखिन्छन । नाफा आर्जन नै एकमात्र उद्देश्य रहेको मिडिया संसारमा सानोतिनो उपचारले परिवर्तन आउनेवाला छैन । यो दलदलवाट नेपाली पत्रकारितालाई तत्कालै मुक्तगर्नु सम्भव देखिदैन । धनीलाई खतरनाक रोग लाग्यो भने सरकार नै उपचारका लागि तम्सिन्छ । तर, तन्नम गरीबको त मर्नु बाहेक अर्को सहज बिकल्प देखिदैन ।

पत्रकारिता अहिले सूदखोर अपराधी, भ्रष्टाचारी र जनतालाई लठ्याएर मोजमज्जागर्ने हरुको जन्जाल र सन्जालवाट घेरिन थालेकोछ । जान्ने बुझने, पढे–लेखेका मानिसहरु सामाजिक सन्जालमा देखिएको ‘बिद्रूप’ अवस्थालाई वैदेशिक रोजगारीसंग जोडेर उम्किन चाहन्छन । तर, वैदेशिक रोजगारीमा जाने नेपाली मात्र होइनन । वैदेशिक रोजगारीमा गएर कमाउने र देशलाई संकटपर्दा मनग्य सघाउने नौजवानहरुको कमी छैन । ती कमाउँछन र देशलाई आबश्यक परेका बेला देशको राष्ट्रिय बजेट बनाउन समेत सहयोग गर्दछन ।

नेपालमा बैदेशिक रोजगारमा गएकाहरु आफना दुःखेसोहरु सामाजिक सन्जालमा पोख्दछन । बाबु–बाजेले बेलायतका पक्षमा लडेर कमाएको धन–सम्पत्तिको सपना देखेर रमाउँछन । लडाकु हुनु त आफनो पेशा र प्रबृत्ति हो भन्ने भूmठो अहंकार बोकेर पैसा कमाउनैका लागि जहाँ लडने मर्सिनरीको खोजीहुन्छ त्यहीं पुग्दछन । आफना मनमा गुम्सिएका पीर र ब्यथाहरु सामाजिक संजालमार्फत अभिब्यक्त गर्दछन । उनैलाई आरोप लगाइन्छ : ‘यिनले सामाजिक सन्जालको प्रयोग गरेर समाज भाँडेकाछन ।’

राजधानी शहर काठमाडौंमा सामाजिक सन्जाल मार्फत चर्का स्वरले अरुलाई गालीगर्नेहरुको संख्या ठूलै छ । देश–देशावर डुलेका ब्यक्तिहरुको अतिशयोक्ति दोहोर्याएर आफना लागि मोक्षको बाटो खोज्ने चलन अचाक्ली बढेको छ । पारिवारिक र सामाजिक सम्बन्धहरु दूषित भएका छन । नेपालका लागि वैदेशिक रोजगार नयाँ कुरा होइन । खाडीका देशहरुको भाग्य पेट्रोलियमले लेख्न शुरुगर्दा नेपालमा राजाको शासन थियो । त्यसबेलामा समेत बैदेशिक रोजगारीमा खाडी मुलुक जान्थे मानिसहरु । उनीहरुलाई ५५ डिग्रीभन्दा बढीको तापक्रममा कामगर्नेसक्ने तुल्याउन तालिम दिइन्थ्यो त्यतिखेर । त्यतिबेला, खाडीका देशहरु अहिलेको जस्तो बिकसित थिएनन । बैदेशिक रोजगारीमा अहिलेको जस्तो हाहाकार पनि थिएन ।

दक्षिण एशियाका देशहरुमा राजनीतिज्ञ र पत्रकार वीचको घनिष्ठ सम्वन्ध नौलो होइन । यस्तो सम्वन्धले समाचारको एकरसता हटाएर त्यसलाई जीवन्त वनाउन ठूलो भूमिका खेल्ने गर्दछ । नेपालमा पनि राजनीतिज्ञ र पत्रकार वीचको सम्वन्ध सँधै प्रगाढ रहने गरेकोछ । नेपाल गणतान्त्रिक राष्ट्रमा रुपान्तरित भै सकेपछिको समयमा यो सम्बन्ध वढी नै गाढा भएकोछ । पत्रकारिता गर्नेहरुका लागि स्थानीय तहका वडा कार्यालयदेखि संघीय तहका मन्त्रालयसम्म बृत्ति बिकासको बाटो खुलेकोछ । जताततै पत्रकारहरु जन–प्रतिनिधिको सल्लाहकार बनेर जागीरमा लागेका छन । पत्रकारको रुप–रंग फेरिन थालेको छ । स्वभावैले रोमान्चकता रुचाउने देशभरका टाठा–वाठा पत्रकारहरु सिध्दान्त र राजनीतिक मर्यादाका कुरागर्ने राजनीतिज्ञहरुको आदर्शवाट होइन, राजनीतिक दलका लागि आर्थिक स्रोत जुटाउन सक्ने वाहुवलीहरुको भातृ प्रेमको अंगालोको गर्मीमा वढी रमाउन थालेका छन । कुन वाहुवली नेताको पछि लाग्दा कति फाइदा लिन सकिन्छ भन्ने चिन्ताले पत्रकारिताको करङ छेडन थालेकोछ ।

राजनीतिक प्रभाव र प्रलोभन पत्रकारिताको आकर्षक पक्ष वनेकोछ । तस्कर, पुलिस र भन्सारका समाचारहरु केन्द्रीय महत्वमा नरहेपनि समाचार संकलनका प्रमुख क्षेत्र वनेका छन । यो क्रममा पिटिने र मारिने पत्रकारहरुको संख्या पनि व्हात्तै वढेकोछ । पत्रकारको परिचय–पत्र वोकेपछि पत्रकारिता वाहेकका अन्य जुनसुकै कारणले पिटिएका वा मारिएका भएपनि उनीहरुको पहिचान पत्रकारिताका पीडितका रुपमा स्थापित हुने गरेको छ । यो राम्रो वा नराम्रो प्रचलन के हो ? विवेकशील व्यक्तिहरुले आफैं छुट्याउने कुरा हो । पत्रकारिता पेशाका कारण मारिएका पत्रकार निश्चयपनि शहीद हुन । तर, पैसाको लागि स्टिंग अपरेशनगर्नेलाई पनि शहीद घोषणागर्नु बिडम्बना हो ।

नेपालका गणतान्त्रिक पत्रकारहरु संस्थागत हिसावले नै राजनीतिज्ञहरुका ‘डार्लिंग’ वन्न थालेका छन । पत्रकारहरुको ‘एडजष्टमेण्ट’ का लागि राजनीतिक दलका प्रचार विभाग अन्तर्गत खोलिएका साना समूहहरु भीमकाय भ्रातृ संगठनका रुपमा विकसित हुन थालेका छन । पहिले आपूm कांग्रेस,माओवादी, एमाले, मधेशी इत्यादिको सदस्य भएको गर्व ओकली सकेपछि मात्रै पत्रकार हूँ भन्ने व्यवसायीको संख्या वढदै गएकोछ । पार्टी सम्वध्द संगठनहरुको विवाद र सक्रियताका कारण निरन्तर घर झगडामा अल्झिएको पत्रकारहरुको मूल संस्था नेपाल पत्रकार महासंघले पत्रकारहरुको आचार विधिलाई तीलगंगामा वहाइ दिएकोछ । जुन पार्टीको प्यानेलले चुनाव जितेकोछ, महासंघ त्यही प्यानलको पेवा हुने भएपछि आचार विधिको आवश्यकता नै पर्दैन । अव यो संस्था पत्रकारहरुको महासंघ नभएर राजनीतिक दलहरुको प्रत्यक्ष निर्देशनमा चल्ने ‘नौटंकीको अखाडा’ मा रुपान्तरित हुने क्रममा रहेकोछ ।

कतै केही चुईंक्क भयो कि पत्रकारहरु आ–आफना संगठनमार्फत चरणवध्द आन्दोलनमा उत्रिन्छन । देशको एउटै छाता संगठन नेपाल पत्रकार महासंघलाई युनियन, चौतारी र सेन्टरहरुको छाता ओढाइएकोछ । आन्दोलनका संयोजकहरु पत्रकारहरु मारिने र पिटिने अवस्थाको अन्त्यका लागि होइन, मारिएपछि दिइने क्षतिपूर्ति र हर्जाना रकमको असूलीमा वढी चासो राख्दछन । शान्तिपूर्ण, सुस्थीर, सुसंस्कृत र विधिको शासनको खोजीमा रहेका नेपाली जनता पत्रकारहरुवाट आजित हुन थालेको अवस्था हो अहिलेको । पत्रकारितालाई धन्दा वनाएर आफनै भौतिक सम्पन्नताको खोजीमा लागेका पत्रकारहरु राजनीतिका गिनीपिग वन्दै गएका छन । पत्रकारिता परिचयको संकटमा पर्दै गएकोछ । यो राजनीतिक दल र तिनका नेताहरु, सयवटा मूसा खाएर तीर्थ हिंडेका विराला जस्ता कर्मचारीहरु, व्यक्तिगत प्रशंसाको खोजीमा अलमलिएका उच्च पदाधिकारीहरु र आफू वाहेक अरु सवै वेठीक ठहरगर्दै आएका व्यापारीहरुको कुण्ठा ओकल्ने कोपरा हो कि राज्यको मजवूत चौथो अंग हो ? व्यवसायका जिम्मेवार व्यक्तिहरुले सोच्नुपर्ने वेला आएको छ ।

संचार बिज्ञान र प्रविधिमा भएको ब्यापक बिकासले यतिवेला संसारकै पत्रकारिता भ्रम र सत्यको दोवाटोमा उभिएको छ । कुन भ्रम हो र कुन सत्य हो ? ठम्याउन सकिने अवस्था छैन । यो परिस्थितिमा हाम्रो जस्तो भ्रष्ट राजनीति र निर्धन जनता भएको देश अलमलिनु अस्वाभाविक होइन । यद्यपि, सरकार आफैले पनि अहिलेको अवस्थालाई पर्गेल्न सकेको छैन । सरकारसंग त्यसरी पर्गेल्ने न बिबेक छ न बर्कत । सरकारका नेता, जन–प्रतिनिधि र विभिन्न पेशामा लागेका ब्यक्तिहरुको रंगीन तस्वीर छाप्ने आ–आफनै माध्यम छन । देखेर जनता रनभुल्लमा परेकाछन ।

यति त भन्नै पर्दछ : सामाजिक सन्जाल समस्या होइन । हरेक गृहस्थको घरमा कोपरा पनि चाहिन्छ र थाल पनि चाहिन्छ । कोपरा र थाल एउटै कुरा होइन । अहिले सामाजिक सन्जालका प्रयोगकर्ताले कोपरा र थालको विभेदगर्न छाडेका छन । यसबाहेक एउटा अर्को सामाजिक मनस्थिति बन्दै गएको देखिन्छ – जो जति चिच्याउन सक्यो, जसले जति चर्को स्वरमा जो कसैलाई गालीगर्न सक्यो त्यसले समर जित्छ । यो उल्टो कुरा पनि हुन सक्दछ । छिमेकी देश भारतको अयोध्यामा रामको मन्दिर निर्माण हुनु अघि र पछि सामाजिक संजाल अत्याधिक सक्रिय भएका छन । हिन्दू भनिने भारतीय जनता पार्टी र धर्म निरपेक्ष भनिने इण्डियन नेशनल कांग्रेस अहिले सामाजिक सन्जालका खुराक बनेका छन । हामी कहाँ भने सामाजिक सन्जाल ब्यक्ति लक्षित छ । यसैको मोहमा प्रधानमन्त्री र मन्त्रीहरु, सांसदहरु र राजनीतिज्ञहरु सबै लट्ठिएका छन । तर, पनि सबै बिग्रिइ सकेको छैन । केही बाँकी छ र नै हामी यहाँ छलफल गर्दैछौं ।