चीनको आधुनिकीकरण र कन्फ्युसियस - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

चीनको आधुनिकीकरण र कन्फ्युसियस


प्रोफेसर स्वीई पाओफङ बिश्व चीनशास्त्र केन्द्रका निर्देशक हुन । साथै, उनी बेइजिङ भाषा तथा संस्कृति बिश्वविद्यालयको चीनशास्त्र तथा चीन अध्ययन कलेजका डीन हुन । उनीसँग रुपान्तरण डटकमका लागि रुचि श्रेष्ठले गर्नुभएको वार्ता प्रश्तुत गरेका छौं ।

तपाईंसंग कुराकानीको प्रारम्भ गर्दा मलाई माओत्सेतुंगको सम्झना आइरहेको छ । चीनको आर्थिक, सामाजिक र राजनीतिक जीवनमा आमूल परिवर्तनका लागि उहाँको योगदान सबै परिवर्तन पक्षधरहरुका लागि सदा स्मरणीय रहेकोछ । उहाँको सवल नेतृत्वको प्रशंसा राजनीतिक रुपले उहाँका बिचारसँग असहमत पक्षले पनि गर्ने गरेका छन्। अहिले चीनका जनता आर्थिक परिवर्तनको सुदृढताका लागि जुटी रहेका छन् ।

अध्यक्ष माओले विविध सामाजिक, दार्शनिक र सांस्कृतिक बिचार राख्ने चीनियाँ जनताको आर्थिक बिकास एकसाथ हुनुपर्छ भन्ने मान्यता राख्नुभएको थियो । हामीले उहाँको त्यो गतिशील बिचार छाडेका छैनौं । हामी सवल परिवर्तनको बाटोमा निरन्तर लागेका छौं । हामीले त्यो बाटो छाडेका छैनौं ।

मैले बाटो छाडेको भनेको होइन । चीनपूंजीवादको बाटोमा अलि बढी नै दौडिएको हो कि भन्ने आशंका प्रकट गरेको हो । चीनका बारेमा जानकारीराख्ने धेरै बिदेशी बिव्दान र पत्रकारहरुले माओको इमेज खुम्चिदै गएको भन्न थालेका छन नि त ।

चीनमा खुला अर्थतन्त्रको प्रवेश भएको चालीस बर्ष भैसकेको छ । यो अवधिमा सबै चीनियाँ जनताले समान अवसर पाएका छन् । चीनियाँ जनता निरपेक्ष गरिबीको रेखाबाट बाहिर निस्किइ सकेका छन् । यो ठूलो कुरा हो । चीनको बिकास दुइ चरणमा भएको छ । पहिलो चरणमा निम्न तहमा रहेका जनतालाई मध्यम वर्गमा उचालिएकोछ । जनताले अत्यन्त राम्रोसंग बिकास गरेका छन् । त्यसपछि चीनको आधुनिकीकरणको प्रक्रिया शुरु भएकोछ । अहिले देशभरिका जनता सबै क्षेत्रको आधुनिकीकरणका लागि जुटेका छन् । चीनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष सी जिन पिंगको आव्हानमा आधुनिकीकरणको कार्यान्वयन भै रहेकोछ ।

चीनियाँ जनक्रान्तिको सफलतापछि चीनको बिकासका लागि अनेकौ आन्दोलन र महान छलांग जस्ता अभियानका माध्यमले जनतालाई बिकास कार्यमा लाग्न उत्प्रेरित गरियो । देशमा फलाम खानीको अन्वेषण गरियो । यसबाट फलाम जस्तो उपयोगी धातुको अभाव हुन पाएन । कल–कारखाना खुल्न थाले । हजारौं बर्ष पुरानो समाजलाई रातारात पुनर्निमाणको काममा लगाउनु सजिलो थिएन । तर, चीनियाँ कम्युनिष्ट पार्टीको प्रेरणामा ती कठीन कामपनि सहज ढंगमा भए । अभियानका क्रममा केही गल्ती पनि नभएका होइनन । अध्यक्ष सीले ती गल्तीहरुलाई स्वीकारगर्नु भएको छ ।

पश्चिमी पत्रकारहरुले पूंजीवादी अर्थ ब्यबस्था अपनाउन चीनले नीतिगत परिवर्तन गरेको बिश्लेषण गर्ने गरेका छन । ती पत्रकारहरुको भनाइमा चीनले पुराना आइकन छाडेपछि स्वाभाविक विसंगति शुरु भएको छ । यसबारे के भन्नुहुन्छ ?

सुधार भनेको समाजको सानो वर्गका लागिमात्र अवसर होइन । खुलापनले समाजका सबै वर्गका जनताको समान बिकासमा जोड दिनुपर्दछ । हो, बीचको केही समय चीनले माओवाद छाडेकोे जस्तो नदेखिएको होइन । तर, माओवाद छोडिएको थिएन । चीनियाँ बिकास दुइ चरणमा भएको देखिएको छ । पहिलोे चरणमा चीनियाँ मध्यमवर्गको बिकास र त्यसपछि आधुनिक बिश्वसंग समान स्तरमा चीनको बिकास गराउने प्रयास । अहिले अध्यक्ष सीको नेतृत्वमा चीनको आधुनिकीकरण भइ रहेको छ । हाम्रो आधुनिकीकरण अरुको भन्दा फरक छ । अध्यक्ष माओले हजारौ बर्षदेखि सामन्ती कृषि प्रणालीमा लागेको समाजलाई परिवर्तनको बाटोमा लगाउनु भएको थियो । अहिले पनि, त्यही कामलाई निरन्तरता दिइएकोछ ।

अरुको भन्दा फरक आधुनिकीकरण भनेर के भन्न खोज्नुभएको हो ?

धेरै पहिले, जब साम्यवादी क्रान्ति सफल भएको थिएन, माओले भन्नु भएको थियो – परिवर्तन जनताको सेवाका लागि । कसैले यसलाई चीनियाँ सपना पनि भनेका थिए । सी जिन पिंगले भन्नु भएको छ ः हाम्रोे सफलता भनेको जनताको सन्तुष्टि हो । माओ र सीको भनाइ फरक छैन । चीनमा जनताको सरकार छ । जनताको सरकार चलाउनेलाई जनताको सेवक भनिन्छ । चीनमा जनताका अध्यापक छन् । जनताका शिक्षक छन र जनताका चिकित्सक छन् ।

तर, संसारका सबै देशमा नारा एकातिर र नीति अर्कोतिर फर्किएको हुन्छ । चीनमा पनि त्यस्तै हो कि ?

त्यसो होइन । चीनमा एउटै पार्टी छ चीनियाँ कम्युनिष्ट पार्टी । अर्को पार्टी छैन । केन्द्रीय तह, प्रान्तीय तह र काउन्टी तह- तीनवटै तहमा सरकार छ । सरकारका प्रमुख भन्दा पार्टीका अधिकारी ढेड तह माथि हुन्छन र उनैको मातहतमा सरकार रहेको हुन्छ ।

अहिले चीनियाँहरु माओवादबाट किन कन्फ्युसियसको पछि लागेका हुन त ?

जुन समयमा साम्यवादी क्रान्ति भयो त्यो क्रान्तिको एउटा कारण कन्फ्युसियसवादको व्यवहारिक बिसंगति नै थियो । त्यसैले क्रान्तिपछि कन्फ्युसियसवादलाई भत्काउने काम गरियो। अहिले नव निर्माणपछि बिव्दानहरुले अध्ययनगर्दा मध्यमवर्गीय आय भएका परिवार, सर्वहारावर्ग, चीनिया कन्फ्युसियसवाद र माक्र्सवादका बीच प्mयूजन भएको देखिएकोछ ।

कन्फ्युसियस राजतन्त्रवादी थिए । अहिलेको चीनको अवस्था र कन्फ्युसियसवाद प्राचीन चीनियाँ सभ्यताभन्दा पृथक होइनन । पृथक देखिएका मात्रै हुुन ?

कन्फयूसियसको आफनो बिचार र कन्फयूसियसवाद एउटै कुरा होइनन । कन्फ्यूसियस राजातन्त्रवादी पनि होइनन । हानबंशी राजा भएका बेला कन्फ्यूसियस राजातन्त्रवादी देखिएपनि उनी राजावादी होइनन । कन्फ्यूसियसको मृत्युपछि उनका चेला मंगच्ले भनेका थिए- जनता पानी हो, राजा ढुंगा हो । पानीले ढुंगा पल्टाउन पनि सक्दछ । राख्न पनि सक्दछ । कन्फ्यूसियसलाई दार्शनिकका रुपमा हेर्नुपर्नेमा सबैले आ–आफनो हिसावले हेरेका छन ।

कन्फ्यूसियसलाई बुझ्न ढिलो गरिएको कि चीन पछाडि परेको ? के भन्नुहुन्छ ?

क्रान्ति सफल भएको तीसबर्ष राजनीतिक सुदृढीकरणमा नै बित्यो । असीको दशकपछि आर्थिक बिकासको बाटोमा लाग्यौं । यस बीचमा हामीले चाड, पर्व, परम्परा सबै बिर्सियौं । हामीले आर्थिक बिकास पायौं । तर, परम्परागत मूल्य र मान्यता गुमायौं ।

अब सुधार्न ढिला भएन त ? चीन त बिकसित भैसक्यो ।

कहाँ ढिला भयो ? चीनको इतिहासमा सत्तरी बर्ष लामो समय होइन । सत्तरी बर्षमा दश बर्ष त सांस्कृतिक क्रान्तिमा नै बित्यो । चीनियाँ कम्युनिष्ट पार्टीले बस्तुस्थितिको मूल्यांकन गर्दै, सुधार गर्दै जान्छ । अहिलेको दशक सर्वांगीण बिकास भएको दशक हो । हालैमात्र, चेयरम्यान सीले वैश्विक सभ्यताको बिकासको कुरा गर्नु भएकोछ । असीको दशकमा गजबको औद्योगिकीकरण भयो । साथसाथै, प्राकृतिक मात्र होइन, मानसिक प्रदूषण पनि बढ्यो । तर अहिले, ३६० दिन आकाश सफा रहने गरेको छ । नदी स्वच्छ भएका छन्  । चीनले वातावरणको सुधारमा ध्यान दिदै आएकोछ । मनको अशान्तिलाई मर्मतगर्ने काम पनि भइ रहेकोछ ।

चीनको द्रूत बिकासको कारण पश्चिमको सहयोग पनि हो नि ? होइन ?

असीको दशकमा पश्चिमले चीनलाई दिएको प्रविधि ‘आउट डेटेड’ थियो । अहिले चीन पश्चिमभन्दा पनि बिकसित भै सकेकोछ ।

चीनमा राष्ट्रपति सीभन्दा योग्य अरु कुनै नेता छैनन ?

अहिले उहाँ नै सत्ताको हकदार हुनुहुन्छ । कोभिड महामारीका बेला एक अर्ब चालिस करोड जनताको सुरक्षा गर्नुभयो । सरकार, पार्टी र सेनामा भएका भ्रष्टाचार कम गर्नुभयो । उहाँलाई नै जनताले राम्रो मानेका छन ।

तपाईले भन्नुभएको थियो – चीनको आधुनिकीकरण फरक छ । पश्चिममा पूंजीको सर्वोपरिता स्थापित छ । चीनमा जनताको सर्वोच्चता । अव आस्था र बिश्वासको सवलीकरण कसरी गर्ने त ?

अहिले कन्फयूसियसवाद, बुध्द दर्शन र ताओवादलाई कसरी समन्वय गर्ने भन्ने प्रश्न उठेकोछ । यी तीनवटै वादलाई चीनमा धर्मका रुपमा लिइएको छैन । यसलाई सामाजिक मूल्य र जीवनपद्धतीका रुपमा लिइन्छ । यी मानसिक शान्ति, दर्शन रसाधनाका मार्ग हुन । समाजका लागि फाइदाहुने गरि प्रयोग गरिनु पर्दछ यी पध्दतिहरुको ।

 

"