‘उत्तरायण’ तिर प्रचण्ड - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

‘उत्तरायण’ तिर प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी माओवादीको बिधान अधिवेशन सकिएकोछ । अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताका अनुसार, अध्यक्ष प्रचण्डले पार्टीको चालु बिधान अधिवेशनमा आप्mनो तात्कालिक मनोदशा सबैका सामुन्ने स्पष्ट राख्नुभएको छ । आफना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई उमेरको ‘उत्तरायण’मा रहेकोले देशमा अपेक्षित परिवर्तनका लागि‘अग्रगामी’ छलांग मार्ने परिकल्पना सुनाउनु भएको छ ।

माओवादी पार्टीका नेता–कार्यकर्ताहरु कुरोको चूरो पत्ता लगाउन खप्पीस छन र राजनीतिक हिसावले अत्यन्त चतुर छन । उनीहरुमा आफ्नो पार्टीले देशको हितमा केहीगर्न नसकेकोमा कुण्ठा छ । उनीहरुले आफ्ना अध्यक्ष कामरेडको कुरा बुझे । अध्यक्ष कामरेडले भारतको प्रसिध्द तीर्थस्थल उज्जैनमा रहेको, महाकालेश्वर मन्दिरको प्रदक्षिणा गरेदेखि नै उहाँको उमेर उत्तरायणतिर ढल्किएको आभाश उनीहरुलाई भै सकेको थियो । माओवादीका नेता तथा कार्यकर्ताले राम्ररी बुझेका थिए–अध्यक्ष प्रचण्डको उज्जैन यात्रा न त भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेरणामा भएको थियो न त परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता नारायणप्रसाद साउदको आग्रहमा भएको थियो । आफनो अडानमा सँधै अटल रहने प्रचण्डले ईश्वरीय अस्तित्वको पूजा-अर्चना र दर्शनका विधिहरु पछ्याउने गर्नु भएको छैन । तर, भारत यात्राबाट स्वदेश फर्किएपछि उहाँले गर्नु भएको पशुपति दर्शन त्यो तथ्यको विपरित थियो ।

त्यो भन्दापनि ठूलो कुरा : नेपालमा संघीय गणतन्त्र स्थापनाका मुख्य शिल्पकार भनेर बिश्वब्यापी मान्यता पाएका नेताले अग्रगामी छलांग लगाएर परिवर्तनलाई संस्थागत गर्ने मौकाका लागि आफ्नै पार्टीका नेता तथा कार्यकर्ताका बीच गुहार लगाउने अवस्था आउनुलाई सामान्य कुरा मान्न सकिदैन । माओवादीका नेता कार्यकर्ताले धर्मका हिसावले सहज रुपमालिएका छैनन् । त्यसो भन्दैमा, माओवादी नेता कार्यकर्ताहरु अध्यक्ष कामरेडको भूमिकालाई अहिले नै न्यूनीकृत गर्न पनि चाहँदैनन् ।

संबिधान सभाको चुनावपछि, आफ्नै पार्टीले पाएको मतका आधारमा सहज तरीकाले प्रधानमन्त्री बन्नु भएका प्रचण्ड‘सेना प्रमुख’काण्डमा सत्ताबाट हट्न बाध्य पारिएको थियो । त्यतिबेला बाह्य राजनीतिले सिर्जना गरेका अनेक कारणहरु त छँदै थिए । तर, उहाँकै पार्टी भित्रका अत्यन्त चतुर, बिव्दान र महत्वाकांक्षी नेताहरुकै कारण उहाँले सत्ताको मियो थाम्न सक्नु भएको थिएन । त्यसपछि भएका संविधान सभा र संसदीय चुनावका परिणाम पनि माओवादीका लागि प्रतिकूल रहे । माओवादीबाट आमूल परिवर्तन खोजी रहेका जनताको मनमा रहेको अध्यक्ष प्रचण्डप्रतिको प्रचूर सहानुभूतिको भावना पातलिन थाल्यो । त्यतिखेर युध्दकालीन र शान्तिकालीन राजनीतिक स्थितिको सही बिश्लेषण गर्नबाट पनि प्रचण्ड चुक्नुभयो ।

संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि प्रचण्ड दोस्रोपटक शक्ति केन्द्रमा स्थापित हुनुभयो । उहाँको त्यो शासनकाल अपेक्षाकृत शालीन रह्यो । तत्कालीन गठबन्धनका सदस्यहरुमा अलिकति दायित्वबोध पनि थियो शायद । त्यो बेलासम्म प्रचण्डले उत्तरायणको सींढी टेक्नु भएको थिएन । यहीकाल क्रममा प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी एमालेसंग हात मिलाएर कम्युनिष्ट एकताको प्रयत्न गर्नुभयो । तर, माओवादी र एमाले बीचको एकता दुइबर्ष पनि टिकेन ।

अहिलेको प्रचण्ड नेतृत्वको गठबन्धन सरकार नेपाली कांग्रेसको टेकोमा अडिएकोछ । कांग्रेसमा लोकतन्त्रप्रतिको सैध्दान्तिक दृढता शाब्दिक रुपले यथावत रहेपनि पार्टी लोकतान्त्रिक आचरणको मामिलामा ‘हुरीको चरा’बनेकोछ । कांग्रेसको टेको धान्नु प्रचण्डका लागि सहज देखिएको छैन । उहाँको नेतृत्वको सरकारले संविधानमा लिपिबध्द परिवर्तनका बिषयलाई कार्यान्वयनको बाटोमा लैजान सकेको छैन् । सरकार हरेक कुरामा अलमलिएको छ । संघीय राजधानीमा प्रधानमन्त्री प्रचण्डका सन्तान, कुल–कुटुम्ब, नाता–गोता र सल्लाहकार र सहायकहरुको प्रभाव बढदै गएको चर्चा बाक्लिन थालेकोछ । प्रधानमन्त्री प्रचण्डलाई नेपाली समाजले जनयुध्दको राप र ताप सहेर आउनु भएको सवल नेताका रुपमा होइन, प्रधानमन्त्रीहरुको लहरमा ‘एउटा अर्को प्रधानमन्त्री’ का रुपमा हेर्न थालेको छ ।

दिन–प्रतिदिन क्षत–बिक्षत बन्दैछ देशको अर्थतन्त्र । देश चारैतिर अस्तब्यस्त देखिन्छ । आशाको न्यानो भन्दा निराशाको तीखो र चीसो लहरले देशलाई क्षत–बिक्षत बनाउन खोजेको आभाश भइ रहेकोछ अहिले । संघीय राजधानीका सडकहरुमा समस्याका बिस्कुन लागेका छन । राजनीतिको केन्द्र ‘सिंह दरवार’भद्रकाली मन्दिरदेखि अनामनगरको परिधिमा खुम्चिएकोछ । सिंहदरवारमा रहेका पदाधिकारीहरु निर्णयविहीन अवस्थामा देखिएका छन् । एकातिर भ्रष्टहरु भागाभाग भएको हल्ला चलाइएको छ भने अर्कोतिर तिनै भ्रष्टहरुको संरक्षणको तानावाना बुनिदैछ । राजनीतिक हिसावले पनि संघीय गणतन्त्रका उद्देश्यहरु पूरा भएका छैनन् । प्रदेश प्रशासनलाई सक्रिय बनाउने संयन्त्रहरुको निर्माणमा कसैको चासो देखिएको छैन् । गाउँ पालिकाहरुलाई कजाउन खोजेको छ केन्द्रीय सत्ताले । त्यसो हो भने किनयति ठूलो संरचनामा गएको ?

राजनीतिक दलहरुको प्रवल समर्थनमा बनेको प्रचण्ड नेतृत्वको वर्तमान सरकार कुनै हिसावले पनि कमजोर हुनु नपर्ने हो । तर, संचार माध्यम र सामाजिक सन्जाल हेर्दा यो देश बागमतीको जलकुण्डमा चुर्लुम्म डुबी सकेको छ । अहिलेको सामाजिक र आर्थिक अवस्था अनौठो देखिएको छ । यस्तो लाग्दछ ः नयाँ चोर र पुराना चोरहरु एक अर्कालाई लखेटिरहेका छन ।

ख्याति प्राप्त भनिएका ब्यबसायी र उद्योगपतिहरुकाबीच कोलाहल चलेको छ । सहकारी, वैदेशिक रोजगारी, भ्रष्टाचारमा डुबेको राजनीति र कर्मचारीतन्त्रले सोझा जनतालाई जिस्क्याइ रहेका छन् । देशको अवस्था एकदमै हास्यास्पद देखिएको छ ।

यो अवस्थामा केही जानिफकार ब्यक्तित्वहरु भारत र चीन दुबै देश प्रधानमन्त्री प्रचण्डप्रति निरपेक्ष बनेको टिप्पणी गर्दैछन् । अहिलेको समयमा भारत आफ्नै चुनावमा अल्झिएको छ भने चीन आफ्नै कार्यसूचिमा ब्यस्त रहेको छ । नेपालका राजनीतिक दल र तिनका नेताहरुको स्वभाव, योग्यता र क्षमताको पहिचान भारत र चीन दुबैतर्फका नेताले गरेका छन । भारत, चीन र अन्यशक्ति राष्ट्रका नेताहरुले नेपालका नयाँ पुराना सबै राजनीतिक दलका सबै नेता र अभिनेताहरुलाई राम्ररी चिनेका छन, बुझेका छन् । भारतमा कम्युनिष्ट पार्टीको अस्तित्व साँगुरिएको छ भन चीनमा कम्युनिष्ट पार्टी सी जिनपिंगको नेतृत्वमा एकीकृत छ । यस्तो अवस्थामा, नेपालका नेता र बिश्लेषकहरुको वैचारिक अभिब्यक्तिमा कुनै आधिकारिकता रहेको छैन् ।

निश्चय पनि, प्रचण्डको पछिल्लो शासनकालमा कुनै देशको खुफिया एजेन्सीको प्रमुख प्रधानमन्त्रीको पाहुनाको रुपमा प्रधानमन्त्री निवास छिरेको समाचार आएको छैन । यो ठूलो उपलब्धि हो । अरु त प्रचण्डलाई थेगी रहेको कांग्रेसले नचाहेसम्म प्रचण्ड एक्लैले गर्नसक्ने अरु केही देखिदैन् । राजनीतिक दलहरुले आफना घोषणा पत्रहरुमा जेसुकै लेखेको भएपनि दलहरु ब्यापक परिवर्तनका कार्य सूचीमा जानै चाहँदैनन् ।

अहिले पुरानै संसदको प्रशाशकीय बनोटको आधारमा सरकार चलेको छ । त्यो आधारको निर्माण २०४७ सालमा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि कांग्रेस र एमालेले आपसी सहमतिमा गरेका हुन । नारामा अहिले देश जताततै गणतन्त्रमय भएको छ । तर, बास्तबिकतामा देशको शासन ब्यबस्था संसदीयकालको भन्दापनि अत्यन्त निम्छरो छ । शान्ति प्रक्रियापछि देश जुन बाटोमा जानुपर्ने हो त्यो बाटो समात्ने नै हो भने प्रधानमन्त्री प्रचण्डले मध्यावधि चुनावको बाटो समात्नै पर्दछ । चुनावले मात्र लोकतन्त्रलाई फिल्टर गर्न सक्छ । भग्नावशेषमा परिणत भै सकेका कल–कारखानाको पुनस्र्थापना गरेर समाजको पुनरुत्थान गर्ने नारा लगाउनु आत्मरति मात्र हो । नेपाली समाजले दर्जनौं नेताहरुको परीक्षण गरि सकेको छ । गणतन्त्र अघिको नेतृत्व र गणतन्त्र पछिको नेतृत्वमा रत्तिभर फरक छैन । मानिसको मनोदशामा परिवर्तन ल्याउन नसक्नेहरुले समाजलाई गतिशील नेतृत्व दिन सक्दैनन् ।

सबैको जीवनमा आउँछ । प्रचण्ड, देउवा, माधव, ओली ः सवैको जीवन उत्तरायणतिर ढल्किएकोछ । जनताले अहिले भएका नयाँ वा पुराना नेताहरुको नाममा सत्ता–संकल्प गर्दै जाने हो भने देश ध्वस्त हुन धेरै लामो समय पर्खिनुपर्ने छैन् । यो त माओवादीका अध्यक्ष प्रचण्ड स्वयंले निर्णय गर्ने कुरा हो : अत्याधुनिक र सुविधा–सम्पन्न प्रधानमन्त्री निवासमा बसेर काजू–किसमिस चपाउँदै आफन्तहरुसंग रमाउने कि बिकासको खोजमा रुमल्लिइ रहेको देशको पुनरुत्थानमा जुटने ?यतिबेला माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डका लागि पुनरुत्थानको अर्को बिकल्प देखिएको छैन । हेरौं, उहाँको मनले के भन्छ ।

"

"