कोशी प्रदेशका संभावना र समृद्धिका आधारहरु - रुपान्तरण
 २०८१ मंसिर २५, मंगलबार    

कोशी प्रदेशका संभावना र समृद्धिका आधारहरु


प्रदेश संरचना कार्यान्वयनमा आएको पाँच वर्षपछि अर्थात ढिलागरी नामाकरण भएको कोशी प्रदेशमा अझैपनि नामाकरणप्रति असन्तुष्टि छ । विभिन्न जाति, भाषा र धर्म, संस्कृति र सभ्यता सबैको भावना सम्बोधन गर्न सक्ने साझा नाम दाबी गरिएको कोशीमा असन्तुष्टि कायम रहेपनि पहिचानको आन्दोलन मत्थर भइसकेको छ । केदार कार्कीको नेतृत्वमा नयाँ सरकार बनेपछि केही सकरात्मक संकेतहरु देखिन थालेका छन् ।

लामो समयसम्म अस्थिरताको रुमलिएको प्रदेश सरकार पुरा समय चल्नसक्ने आधारहरु देखिन थालेका छन् । कोशी प्रदेश सरकारले अब नयाँ अवधारणा, नयाँ रणनीति र योजना अनुसार अघि बढ्नुपर्ने गम्भीर जिम्मेवारी निर्वाह गर्नुपर्ने बाध्यता छ । प्रदेश सरकारको रहेको अनुभुति प्रत्यक्ष रुपमा दिलाउन, विकसित र समृद्ध प्रदेश बनाउन कार्की नेतृत्वको सरकारलाई ठूलो जिम्मेबारी छ ।

१४ वटा जिल्ला भएको कोशी प्रदेश हिमाल, पहाडदेखि तराईसम्म फैलिएको छ । प्रदेशमा महानगरपालिका १, उपमहानगरपालिका २, नगरपालिकाहरु ४६ र गाउँपालिका ८८ वटा गरी १३७ वटा स्थानीय तह छन् । वि.सं. २०७८ सालको १२औं राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन अनुसार कुल जनसंख्या ४९ लाख ६१ हजार ४ सय १२ रहेको छ । अन्य प्रदेशको तुलनामा औषतमा राम्रो र विकसित छ । भौगोलिक वनावट, हावापानी, विविधतापूर्ण छ । लगभग सबै जिल्लाका सदरमुकाममा पक्की सडक जोडिएको छ । स्थानीय तहसम्म सडक संजाल, संचारको नेटवर्क, विद्युतको विस्तार क्रमशः जोडिने क्रममा छ ।

कोशीले विकासको लय समातेको छ र गति लिएको छ । यसलाई निरन्तरता दिने जिम्मेवारीमा सरकार छ । दलीय, जातीय, क्षेत्रीय वा वर्गीय राजनीतिमा रुमलिएर गतिहीन बन्ने छुट सरकारलाई छैन् । प्रशस्त अभिभाराहरु पुरा गर्नुपर्नेछ । कृषि, ऊर्जा, पर्यटन र औद्योगिकीकरणबाट विकास र समृद्धि हासिल गर्न कोशीका लागि धेरै आधारहरु छन् । १२ हजार नौ सय ५३ मेगावाट जलविद्युत् उत्पादन क्षमता रहेका तमोर, अरुण, दूधकोसी, लिखु, सुनकोशी, सप्तकोशीलगायत अन्य नदीमा थप संभावनाहरुको पहिचान गर्नुपर्ने देखिन्छ ।

कृषियोग्य जमिनको खण्डीकरण वा क्षयीकरण रोक्दै कृषिमार्फत प्रदेशले धेरै उपलब्धी हाँसिल गर्नसक्ने भएकाले सबै स्थानीय तहहरुले भू उपयोग नीति तयारी गर्ने र कार्यान्वयन लैजानसक्नुपर्छ । समुद्र सतहबाट ५० मिटरदेखि पाँच हजार मिटर उचाइसम्म कृषि तथा पशुपालन गरिँदै आएकाले यसबाट पर्यापर्यटनको अवधारणा अघि सार्न सकिने आधारहरु छन् ।

पर्यटनको ब्रान्डिङ गर्ने र लक्षित समूहसम्म प्रर्वद्धन गर्ने स्पष्ट खाका तयार गर्नुपर्छ । गन्तव्यसम्मको पहुँच मार्ग, सुविधा र पर्यटकमैत्री व्यवहारको पनि अभाव देखिएकाले ‘एक जिल्ला बहुगन्तव्य, एक गन्तव्य बहुआकर्षण, एक गाउँ एक लगानी’को अवधारणालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने देखिन्छ । तराई भूभाग मुख्यतः खाद्यान्न उत्पादनमा, पहाडी भूभाग नगदेवाली, फलफूल र तरकारी उत्पादनमा सशक्त देखिएपनि हिमाली जिल्लाहरु खाद्यान्न उत्पादनमा आत्मनिर्भर देखिन नसकेकाले हालको सरकारले यसतर्फ ध्यानदिनुपर्ने देखिन्छ । स्थानीय सरकारहरुका शसक्त भएपनि प्रदेश सरकार रहेको अनुभुती जनताले पाउनसक्ने वातावरण सरकार स्वयमको जिम्मेवारी हो । तीन तहका सरकारमध्ये प्रदेश सरकारको उपस्थिति त्यति सन्तोषजनक नदेखिएकाले कोशीले यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ ।

भारत, चीन, बंगलादेशमा वैदेशिक व्यापार बढाउन अलैँची, चिया, अदुवा जस्ता उत्पादनहरु निर्यात गर्न बैदेशीक व्यापार नीतिमा प्रदेश सरकारले भूमिका खेल्नुपर्ने देखिन्छ । क्षेत्रगत उत्पादनलाई बढाउने, फलफूल उत्पादनलाई प्रोत्साहन दिने र भण्डारण क्षमतासमेत बढाउन सरकारले सोही अनुसारको नीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।

केही बर्षअघि कोशी प्रदेशको पर्यटनका सवालमा एउटा नारा सार्वजनिक भएको थियो–‘प्रदेश १ को शान, सबैको अनुहारमा मुस्कान’ । नारा आकर्षक र मिठो सुनिए पनि त्यो कार्यान्वयनमा आएन । नेपालका सात प्रदेशमध्ये कोशी प्रदेशमा संसारकै अग्लो स्थान सगरमाथादेखि नेपालकै होचो स्थान झापाको केचना कवलसम्म पर्दछन् । वास्तवमा कोशीमा अथाह संभावना भएका स्थानहरु छन् । ति स्थानहरुको विकास र प्रवद्र्धनमा सरकारी योजना त्यति प्रभावकारी भएनन् ।
कोशीको अस्थिर राजनीति र सत्ता परिवर्तनले पर्यटकीय क्षेत्रहरुले गति लिन सकेका छैनन् । स्थानीय तहले अघि सारेका कार्यक्रमहरुले पर्यटनमार्फत समृद्धिको बाटो त कोरेका छन् तर ति पर्याप्त छैनन् । अपुग छन् । अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धन गर्न संघीय सरकारको नजर कोशीमा परेको छैन् । तथापी, कोशी पर्यटनको अब्बल हब हो र आर्थिक समृद्धिका लागि आधार क्षेत्र हो । विश्वको नजरमा कोशी एक संभावना हो ।

कोशी प्रदेश कृषि, धार्मिक, प्राकृतिक, सांस्कृतिक हिसाबले कमजोर छैन् । प्रदेशको पुर्वतर्फ भारतको पश्चिमबंगाल र दक्षिणतर्फ बिहार पर्दछ । यसैगरि उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्ने भएकाले भारतीय, बंगलादेशी एवम चीनियाँ पर्यटकहरु भित्र्याउन सकिने प्रशस्त आधारहरु छन् । हिमाली क्षेत्र सगरमाथा, कन्चनजंगा मकालु, चोयु, लोत्से हिमश्रृृखंला देखाएर वा आरोहण गराएर कोशीले समृद्ध हासिल गर्न सक्छ तर यसमा संघीय सरकारकै योजना अनुसार प्रदेश चल्नेपर्ने भएकाले प्रदेशले आफ्नो स्वामीत्व ग्रहण गर्ने आधारहरु तय गर्नुपर्छ । निकुन्जको उपयोगका लागि कानुन र क्षेत्राधिकारका विषयमा संघ र प्रदेशबिच तालमेल भएको देखिदैन् । जसका कारण सगरमाथा रास्ट्रिय निकुन्ज, मकालु बरुण रास्ट्रिय निकुन्ज, कोशी टप्पु वन्यजन्तु आरक्षण,कन्चंजंगा संरक्षण क्षेत्रलगायतबाट कोशीले फाइदा उठाउन सकिरहेको छैन् । यसका लागि प्रदेश सरकारले प्रशस्त काम गर्नुपर्ने अवस्था छ ।

कोशी सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिम श्रृखलालगायत प्राकृतिक सम्पदाले भरिएको मात्र होइन जल पर्यटनको पनि प्रशस्त संभावना छ । तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी जलाशयबाट प्रदेशले धेरै फाइदा लिनसक्ने भएपनि सरकारले कुनै किसिमका योजनाहरु बनाउन नसक्नु दुर्भाग्यपूर्ण छ । असंख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण कोशी धार्मिक पर्यटनको उत्तिकै संभावना छ । किनकी ताप्लेजुङको पाथीभरा, इलामको माइपोखरी र सानी पाथीभरा, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बुढासुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दूधकूण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरु रहेका छन् । ति स्थानहरुमा भारतीय पर्यटकहरुलाई भित्र्याएर कोशीले ठूलो उपलब्धी हासिल गर्नसक्छ ।

हुनत कोशीमा विकासका पूर्वाधारहरुको योजना प्रशस्त अघि बढेका छन् । तर ति कुनैपनि पर्याप्त र कार्यान्वयन प्रक्रियामा गएका छैनन् । मोरङको बिराटनगरदेखि सुनसरीको इटहरी हुँदै तरहरासम्म मोनोरेल, बिराटनगर–धरान सडकखण्डमा ब्यापारीक मार्गको माथिबाट लिक बनाएर रेल संचालन गरिने योजना अलपत्रजस्तै छन् । यि योजनाहरु वाह्य पर्यटक भित्राउने गतिलो आधारहरु हुन तर काम अघि बढ्न नसक्नु दुर्भाग्यपूर्ण छ ।

विश्वकै गहिरो उपत्यका अरुण, ३२ प्रकारका लालीगुराँसमध्मे २८ प्रकारका लालीगुराँस पाइने तीनजुरे–मिल्के–जलजले (टिएमजे), नेपालकै अग्लो झरना ह्यात्रुङ, साल्पापोखरी, सभापोखरी जस्ता स्थानहरुको प्रवद्र्धनमा प्रदेश सरकार सुस्ताएको छ । निजी क्षेत्रलाई आकर्षित गर्न र अन्तर्राष्ट्रिय मिडियामा ति स्थानहरुको प्रचारमा सरकारले कुनै योजना अघि बढाउन सकेको छैन् । यतारित प्रदेश सरकारले सोही अनुरुपका योजनाहरु अघि बढाइ स्थानीय सरकारलाई पनि प्रोत्साहित गर्न सक्नुपर्छ । कोशीका सबै जिल्ला घुम्न लायक छन् । सुविधासम्पन्न होटल, रिर्सोट र कटेजहरु संचालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्न कोशी सरकार जाग्न जरुरी छ ।

०३८ सालमा बेलायती युवराजले भ्रमण गरेको भेडेटार र ०६८ सालमा सिएनएनले भेडेटार नाम्जे गाउँलाई विश्वका उत्कृष्ट १२ पर्यटकीय गन्तव्यको सूचीमा राखिसकेकाले कोशीको पहिचान विश्वमा छरिएको छ । सर्बोच्च शिखर सगरमाथा मात्र होइन विश्वको तेस्रो अग्लो चुचुरो कञ्चनजंघा हिमाल, किराँत धर्मका प्रवर्तक राष्ट्रिय विभूति फाल्गुनन्दको कर्मभूमि, अत्यधिक उर्वर तथा घनाबस्ती भएको झापा ‘धान उत्पादनको भण्डार’ नै हो ।

पुरानो औद्योगिक नगरी विराटगर अन्तर्राष्ट्रिय व्यापारको अब्बल स्थान हो । किनकी वि.स.१९९३ मा स्थापना भएको नेपालकै पहिलो उद्योग विराट जुट मिल र १९९४ को जुद्ध म्याच फ्याक्ट्री अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो बेग्लै अस्तित्व कायम गरिसकेको छ । विश्वका साहसीक, प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्ने पर्यटकका लागि सोलुखुम्बु आफैंमा अब्बल छ । प्रदेशको सबैभन्दा रमणीय जिल्ला इलाम चियाखेतीका कारण चर्चित छ । अर्गानिक चिया उत्पादनमा ख्याति कमाएको यो जिल्ला प्राकृतिक रुपमा उत्तिकै सुन्दर छ । कोसीटप्पुलाई अर्ना र चराको स्वर्ग मानिन्छ । यो स्थान विश्वका पर्यटकका लागि रोजाइमा पर्ने स्थान नै हुन् । कोशीका १४ जिल्ला विश्वका पर्यटक र अन्तर्राष्ट्रिय ट्रेड व्यापारका लागि उपयुक्त स्थान भएकाले चाँडै दिर्घकालिन योजनामार्फत विश्व जगतमा आफ्नो पृथक पहिचान बनाउनु जरुरी छ ।

कोशीका करिब नौं वटा विमानस्थल छन् । जसमध्ये दुईवटा मात्र निरन्तर संचालित छन् । कतिपय अवरुद्ध छन् । विमानस्थलका बारेमा सरकारले दिर्घकालीन योजना अघि सार्नैपर्छ । एसिया हाइवेसँग जोडिएको काँकडभिट्टादेखि शुरु भएको पूर्व–पश्चिम राजमार्गका सयौं स्थान क्षतविक्षत हुँदा सवारी आवागमनमा कठिनाइ भइरहेको छ । मेची राजमार्ग, धरान–धनकुटा राजमार्ग कुरुप बन्दै गइरहेका छन् । तमोर करिडोर, मध्य पहाडी लोकमार्गको काम सुस्त छ । यतातिर पनि कोशी सरकारले ध्यान दिनुपर्ने देखिन्छ । वास्तवमा प्रदेशका संभावनाहरुलाई पहिचान गरेर दिगो विकासको अवधारणामार्फत सरकारले काम गर्न सकेको खण्डमा कोशी प्रदेश उत्कृष्ट प्रदेशका रुपमा दर्ज हुन धेरै कुर्नु पर्दैन् ।