लेखक तथा पत्रकार लिलाराज खतिवडाको भाषामा नेपाली पत्रकारिताको ‘बाघ’भनिने वरिष्ठ पत्रकार किशोर नेपाल ५६ वर्षदेखि पत्रकारितामा क्रियाशिल छन । नेपालद्वारा लिखित निबन्ध, उपन्यास, कथा र संस्मरणसहित १० वटा पुस्तक प्रकाशित छन । गोरखापत्र, कान्तिपुर दैनिक, नागरिक दैनिक, हिमालय टाइम्स दैनिक, नयाँ सडक दैनिकलगायत दुई दर्जनभन्दा बढी मूलधारका संचार माध्यमको सम्पादकीय नेतृत्व गरेका नेपाल पछिल्लो समय रुपान्तरण डटकमको सम्पादक छन । हरेक विषयमा खरो टिप्पणी गर्ने नेपाललाई दियोपोस्टकर्मी प्रदिप घताल र सुदीप विश्वकर्माले पहिलो प्रश्न सोधेका थिए :
पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेर्नुभएको छ ?
मेरो विचारमा अहिले राजनीतिमा जे भइराखेको छ त्यो पानीमा भूल्का आएको जस्तो मात्रै हो । यसले राजनीतिलाई विशेष गति दिँदैन । अब केहीसमय पछि एमालेसँग पनि माओवादीको सम्बन्ध मधुर हुनसक्छ भन्ने ग्यारेन्टी कसैले दिन सक्दैन । प्रधानमन्त्री पुष्पकमल दाहालको जुनखालको मनस्थिति देखिन्छ त्यसलाई हेर्दा उहाँले एक पटक मध्यावधि निर्वाचन गराउनुहुन्छ । यो मध्यावधिमा नगइकन सुख पनि छैन । राजनीति एक धारमा नआइकन र एउटा परिस्थितिको श्रृजना नभएसम्म स्थीर हुन सक्दैन । अहिले त सेटल हुन चाहने तत्वहरु (ईलेमेन्ट्स) नै छैनन । को–कोसँग मिल्ने? जुन संविधानले नेपाललाई संघीय गणतन्त्र बनायो त्यो संविधान नै अहिले अलपत्र परेको छ । समानुपातिकको उपयोगिता सकिएको छैन । तर, दलहरुले अहिले नै समानुपातिकलाई घाँडो मान्न थालेका छन ।
समानुपातिक भनेको हाम्रो जस्तो निर्धन र क्रूर दरिद्रता रहेको मुलुकमा तल पारिएका र माथि आउन नसकेका मानिसहरुलाई निर्णय गर्ने ठाउँसम्म एडजस्ट गर्ने विधि हो । त्यो विधि नै अहिले विवादास्पद भइराखेको छ । किनभने मान्छेलाई अहिले कुर्सी मात्रै चाहिएको छ ।
प्रचण्डजीले ‘मैले एउटा कालखण्डको नेतृत्व गरेँ अब मलाई पुग्यो’भनेर पेल्ने हो भने एउटा कुरा भयो । यो उहाँकै व्यक्तित्वका लागि विनाशकारी सावित हुनेछ । तर, उहाँले त्यसो गर्नुहुन्न भन्ने लाग्छ । यो मेरो सुखद धारणा मात्रै हो । प्रचण्डको मनस्थिति जतिसुकै चञ्चल देखिएपनि प्रशासनिक हिसाबले काम गर्दा उहाँले निर्णयहरु छिटो छिटो लिन सक्नु भएको छैन । तर, राजनीतिक तहमा उहाँमा एक प्रकारको गहिराइ छ चिन्तनमा । त्यसकारण उहाँले मध्यावधि चुनाव गराउनुहुन्छ । खुशीले होइन, बाध्यताले । तर, अहिले उहाँ किन मध्यावधिलाई तन्काइरहनु भएको छ भने उहाँको संगठन ‘छ्याल्ब्याल्’ छ । भर्खरै कामरेडहरु फेरी गाउँभित्र पस्न थालेका छन । तर, गाउँमा उनीहरुलाई फूलमाला लगाएर स्वागत गर्ने त कोही छैनन । पछिल्लो कालखण्डमा माओवादीले यो पुरुषार्थ गर्यो भनेर हामीले देखेका छैनौँ । माओवादी भनेको हिंस्रक हुन, फटाह हुन्, यिनीहरु दुश्मन हुन भनेर एउटा न्यारेटिभ तयार गरिएको छ । संघीय राजधानीमा त्यो न्यारेटिभ स्थापित भएको छ । माओवादीका धेरै नेताहरु त्यही हल्लाको पछाडी लागेका छन । आफ्नै विरुद्ध आफै झण्डा उठाएका छन ।
तपाईंले भन्नुभए जस्तै, माओवादीप्रति समाजमा जुन न्यारेटिभ बनेको छ त्यसैकारण संघीयता र समावेशीतालाई स्वीकार गर्न नसकेको हो ?
नेपालको राजनीति राजधानी केन्द्रित भयो । अहिले संघीयतामा जोडिएका दलहरुले नेपालको राजनीति गरेको कि काठमाडौं उपत्यकाको राजनीति गरेको ? अहिलेसम्म राष्ट्रिय राजनीतिले हाँगाविगा फैलाउ नपाएको छैन । अहिलेको प्रादेशिक अवधारणा काठमाडौं सेन्ट्रिक छ । काठमाडौंको हेजेमोनी बलियो भइरहेको छ । यो खाल्डोको हेजेमोनी स्थापित भएको छ जहिलेपनि । चाहे त्यो मल्लकालमा होस, शाहकाल वा राणकालमा होस । नेपालको इतिहासको गम्भीर अध्ययन गर्नुभयो भने यसको विचित्र चरित्रको ज्ञान हुन्छ । अहिले के ले सरकारलाई निर्णय गर्नबाट रोकेको छ ?संवैधानिक निर्णयहरु गर्न केले रोकेको छ ?
अहिले प्रचण्डजीले नेतृत्व गर्नुभएको नयाँ गठबन्धनले पूर्णता नपाउँदै फेरी अर्र्को वैकल्पिक गठबन्धन बन्दै गरेको सूचनाहरु बाहिर आइरहेको छ । यसको सार्थकता कत्तिको देख्नुहुन्छ ?
एकताका इटलीमा हरेक महिना सरकार परिवर्तन हुन्थ्यो । तपाईंहरु त्यतिबेला जन्मनु भएको थियो कि थिएन । हामी त्यतिबेला रेडियो नेपालबाट त्यस्ता खबर सुन्थ्यौँ । त्यो दुर्भाग्य इटलीले धेरै लामो समयसम्म भोग्यो । इटलीको जस्तो सामथ्र्य हामीसँग छैन । त्यो राजनीतिक अस्थिरता व्यहोर्न हामी सक्दैनौँ । त्यतिबेला नै सोच्नुपथ्र्र्यो । संविधान निर्माणका लागि सबै ठूला क्रान्तिकारी नेताहरु आफै लागेका थिए । उनीहरुले संविधानको स्वरुप तयार गर्न दशवर्ष लगाए । त्यसरी लेखिएको संविधानको औचित्य सावित भएन अहिले । यो संविधानको स्वामित्व लिने अरु पार्र्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले भएनन । यसको स्वामित्व प्रचण्डले नै लिनुपर्यो । माओवादीसँग गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले गरेको बृहत शान्ति सम्झौताको उत्पादन हो यो संविधान ।
अहिले समानुपातिक ब्यबस्थाको उपयोगिता सकिएको छैन । तर, दलहरुले अहिले नै समानुपातिकलाई घाँडो मान्न थालेका छन । समानुपातिक भनेको हाम्रो जस्तो निर्धन र दरिद्रताको हदपार भइरहेको मुलुकमा तल पारिएका र माथि आउन नसकेका मानिसहरुलाई निर्णय गर्ने ठाउँसम्म इज्जत साथ ल्याउने विधि हो । त्यो विधि नै अहिले विवादास्पद भइराखेको छ । किनभने मान्छेलाई अहिले कुर्सी मात्रै चाहिएको छ ।
त्यो संविधानको स्वामित्व लिने प्रचण्डको तागतमा क्षयीकरण भएको हो ? पछिल्लो समय हिजोको जस्तो रापताप छैन, कार्यकर्ता पनि छैनन ।
त्यसो होइन रापताप छ । कार्यकर्ता पनि छन । तर देखिन कोहीपनि चाहँदैनन । नेपाली राजनीतिको बजारमा प्रचण्डका प्रवल समर्थकहरु थिए । ती अहिले दागी भइसके । टोपबहादुर रायमाझी, रामबहादुर थापा, कृष्णबहादुर महरा, नन्दकिशोर पुनलाई हेर्नुहोस । ती सबै स्खलित भैसके । ‘एक से एक’भनिने माओवादीका हस्तीहरु अनेक काण्डमा फँसेका छन । व्दन्व्दकालीन समाचारको खोजीमा क्यामेरा बोकेर म यो देश पुरै घुमेको छु । त्यो बेला मानिसहरु माओवादी नेतृत्वप्रति आस्था ब्यक्त गर्थे । यिनै महराजीप्रति जनताको आस्था र सम्मान थियो । अव त्यो रहेन । त्यो भ्रम रहेछ भन्ने भयो । त्यसले गर्दा प्रचण्डजीलाई गाह्रो भएको हो ।
तर, प्रचण्डजीमा पछिल्लो समय निजी सम्पति र पारिवारिक मोह देखिन्छ । पार्टी भित्रकै विशिष्ट नेताहरु पनि सांसारिक मोहमा फसेजस्तो देखिन्छन ।
उहाँले कतै भन्नुभएको छ,‘मेरो को छ र कसका लागि कमाउनु ? यही एउटी छोरी छ । श्रीमती छैन र छोरा पनि छैन । भनेर बडो दयनीय बिलाप गर्नुभयो । प्रचण्ड ठूलो काम गरेको ब्यक्ति हो । सानो कन्जर्भेटिभ मुलुकलाई गणतन्त्रको लिकमा ल्याउनु भनेको धेरै ठूलो साहसको कुरा हो । त्यसकारण उहाँलाई यसमा केही भन्न मिल्दैन । तर, प्रचण्ड जत्तिको मान्छेले यतिसानो ‘पितुर्के’ कुरा गर्न मिल्दैन । मेरो को छ र ? मैले के खान्छु र ? यि कुराहरु थाङ्ने हो । उहाँले यस्तो कुरा गर्न सुहाउँदैन थियो ।
प्रचण्डमा वैचारिक संकुचन पनि देखिएको छ । हिजो हजारौँ शहीद भए, हजारौ बेपत्ता भए । ती सबै प्रचण्डकै मान्छे थिए । कतिपय अझैपनि छन । तर, आज उहाँ सत्तामा पुगेपछि आफ्नो मात्रै देख्ने ‘मेरो को छ र भन्नुले त्यस्तै बुझाउँछ होइन ?
उहाँको छोरी रेणुले भरतपुर मेयरका रुपमा राम्रो काम गर्नुभएको छ । उहाँमा डेडिकेशन छ । प्रचण्डकै छोरी भएकै कारणले उहाँलाई गाली र निन्दा गर्न मिल्दैन । गंगाजीलाई उहाँले नीजि सचिव बनाएर राख्नुभएको छ । यो पनि संसारमा नचलेको कुरा होइन । ईन्दिरा गान्धी पनि जवाहरलाल नेहरुको नीजी सचिवको रुपमा काम गर्थिन । हामीकहाँ पढ्ने चलन छैन । इतिहास पनि थाहा छैन । प्रचण्डजीमा आडम्बर छैन । उहाँ भावनामा आएर प्वाक्क बोलिहाल्नु हुन्छ । तपाईं उहाँको प्रतिपक्षी भएर प्रश्नगर्दै हुनुहुन्छ । म उहाँको पक्षबाट उत्तर दिँदैछु । उहाँलाई डिफेन्स गर्ने को त ? पार्टी खै ? संविधान सभाको पहिलो चुनावमा सारा बुद्धिजिवी काठमाडौंमा भेला भएर माओवादीले ल्याउने भनेको २०÷२५ सिट हो भनेका थिए । मैले ९० सिट भन्दा कम ल्याउँदैन भनेको थिएँ । त्यतिखेर म एक्लो बृहस्पति भएँ । तर, एक्लो बृहस्पति झूटो भएन । पहिलो गणतान्त्रिक सरकारको नेतृत्व प्रचण्डजीले गर्नुभयो । त्या ेबेला मलाई अगुल्टो हान्न मान्छेहरु तयार भएर आएका थिए । माओवादीको प्रसंशक रहेछ भन्ने पनि धेरै आए । ममाथि आक्रमणको कोशिस भएको थियो ।
म संविधान सभाको दोस्रो चुनाव हेर्नपनि गएको थिएँ । गिरिराजमणीजीको निर्वाचन क्षेत्र बर्दिवासदेखि धनगढीसम्म मैले माओवादीको चुनाव अभियानलाई फलो गरेको थिएँ । त्यतिबेला माओवादी र गैरमाओवादीले मलाई जीत हारका बारेमा सोधेका थिए । तर, म केही बोलिनँ । किनभने हावामा ओवादीको पक्षमा चलेको थिएन ।
मान्छेहरुले यो कुरा बिर्सिए – संघीय गणतन्त्र नेपालको कार्यकारी प्रमुख प्रचण्डजीलाई सेनापति रुकमाङ्गत कटुवाल हटाउने अधिकार थियो । नेपाल अधिराज्यलाई नेपाल राष्ट्र बनाउने गणतन्त्रका संस्थापक मध्येका एक हुन प्रचण्ड । उहाँ प्रधानमन्त्री हुनु स्वभाविक थियो । उहाँले राज्यको व्यवस्थापन र रुपान्तरणका लागि सेनाका मानिसहरु विशेषगरि भरोसा नलागेका मान्छेहरुलाई हटाउन सक्नुहुन्थ्यो । कुनै पनि प्रधानमन्त्रीलाई त्यो अधिकार हुन्छ । तर, उहाँलाई त्यो दिइएन । हस्तक्षेप भयो । त्यसका राजनीतिक कारणहरु छन होला । सुरक्षाका कारण पनि थिए होलान । तर, मलाई त्यस्तो लाग्दैन । त्यो कारणप्रति नजाउँ । तर, रुकमांगत कटुवाललाई उहाँले हटाउन सक्नुभएन । उहा आफैँले राजिनामा दिएर हिँड्नु भयो । झुकेर बस्नु भएन । तपाईं त्यहीबाट बुझ्नुहोस,भर्खरै त्यत्रो रापतापले संविधान सभामा जितेर आएको प्रधानमन्त्रीको त यो देशमा त्यो हविगत हुन्छ भने अरु कसको कुरा गर्नुहुन्छ ?
राजनीतिक ‘ट्रयाक’त्यतिबेलादेखि नै बिग्रियो भन्ने तपाईंको निष्कर्ष हो ?
हो त्यहीँबाट बिग्रियो । कांग्रेसले एकपछि अर्को बेवकुफी गर्दै गयो । त्यतिबेला एमालेको कुनै भूमिकाथिएन । गिरिजाप्रसाद कोइरालाले माधव नेपाललाई प्रधानमन्त्री बनाइदिनुभयो । त्यसको विरहमा प्रचण्डजी रेखा थापासँग बबरमहलमा छमछमी नाचेको हामी सबैले देखेकै हो । हाम्रोमा राजनीतिको लिगेसी बन्न सकेको छैन । तर, हिजेमोनीको लिगेसी जमेको छ । त्यसैले काम गरिरहेको छ । तपाईं देश एकदमै शुद्ध भयो भनेर हिड्नुस । तपाईं सरकारको निर्णय प्रक्रियामै छक्क पर्नुहुन्छ । कुनैपनि निर्णय प्रक्रिया हेर्नुस । सर्वोच्च अदालतका माननीयन्यायाधीशहरु भ्रष्ट सावित हुन्छन । महाअभियोग लाग्ने अवस्थामा पुग्छन । जुन देशका सचिवहरु टेबुलमा बसेर घुस खान्छन तर सत्यवादी चरित्रको गफ लगाउँछन । जुन देशमा मन्त्रीहरुमा आफ्नो एजेन्डा के हो र आफ्नो मन्त्रालयले के गर्ने भन्ने कुराको याद हुँदैन । योजना हुँदैन । जुन देशमा नेताहरु चुनाव जितेर मख्ख पर्छन, तर दायित्वबोध गर्दैनन । त्यो देशमा के हुन्छ ?
समाजको चरित्र र बनोटमै समस्या देख्नुहुन्छ ?
हाम्रो जस्तो गरीव देशमा समाजको चरित्र परिवर्तन हुन समय लाग्छ । मानिसहरुले प्रिजर्भ गरेर राखेको पनिहुन सक्छ । कीर्तिपुरको मिठो ऐलाखान पाइन्छ भनेर कुनै अमेरिकन, चिनियाँ र कुनै इन्डियनले प्रिजर्भ गरेर राखेको पनि हुनसक्छ । काठमाडौंले आफना ेहिजेमोनी स्टाइललाई निरन्तरता दिएको छ । संविधान जारी भएको १० वर्ष भयो । दुईवटा चुनाव भइसक्यो तर, संविधानको हालत हेर्नुस त । यो अगाडी बढ्न सकेको छैन । संविधान तमाशा बनेको छ । सामान्य जनताले जेब्राक्रसबाट सडक पार गर्न ट्राफिक पुलिसलाई दाई भनेर सलाम गर्नुपर्छ । जुन देशमा नागरिकको सम्मान र इज्जत हुँदैन त्यो देशको के महत्व हुन्छ ?
तपार्ईं हेर्नुस, सडक भत्केको हुँदैन तर पेटी भत्काइ राखेको हुन्छ । मानिसहरुलाई जेब्रा क्रसिङको नियम ट्राफिकले सिकाउने हो, तर सिकाउँदैन । धेरै विसंगति देखेपछि त्यो नै संगति हो कि भन्नेलाग्छ ।त्यो राजतन्त्रको विगत तपाईंले हेर्नुभएको छैन ?त्यो राजतन्त्रले कति मान्छेको हत्या गर्र्यो । कति मान्छेलाई निर्वासनमा पठायो । कति सम्पत्ति लुट्यो । त्यो न्यारेटिभ खै दिनु भएको दियोपोस्टले लेखोस न । गुगलले ज्ञानेन्द्रलाई अहिले नेपालको १० नम्बरको धनीभनेर देखाउँछ । उनको सम्पत्तिखोज्नु भयो भने त्यसको वारपार नै लाग्दैन ।
त्यो म्यानेज गरेका कुराहरुलाई अहिले खोतलेर बाहिर ल्याएर हामीले भ्रष्टाचार मुक्त देश बनाएका छौँ भनेर सरकारले भनेको होला । त्यसलाई महत्व दिनुपर्छ भन्ने छैन । त्यसपछि भएका भ्रष्टाचारहरु पनि खोतल्नुपर्छ । सरकारको चरित्र हेर्नुस कस्तो मान्छेहरु सरकारमा छन । प्रधानमन्त्रीजीले अस्तिसम्म शेरबहादुरजीसँग दायाँ गाला जोड्नु भएको थियो । अब अहिले ओलीजीसँग बायाँ गाला जोड्नु भएको छ । त्यो कति दिन हो ? त्यसकारण म भनिरहेको छु मध्यावधि हुन्छ । यो भन्दा अर्को लजिकलएन्ड नै छैन ।
देशका जनताको धेरै ठूलो महत्वाकांक्षा छैन । जनतालाई एउटा लालीपप दिनुभयो भने त्यो लालीपप हातमा लिनपनि डराउने मानसिकता छ उसको । त्यति कमजोर भएका छौँ हामी। संसदको रोष्टमबाट कसैले मिठो बोलिदिए पनि खुसी भइहाल्छौँ । मिठो त धेरैले बोल्छन । तर गर्छन के त ?तपाईंहरु जस्तो मिडियावाला वा मै पनि मिडियावाला हुँ । यसलाई मनिटर कसले गर्ने ?तपाईंहरु आउनुभो । यतिराम्रो राजनीतिक कुरा गर्नुभो । अचेल यस्तो कुराको बजार छैन । तपाईंले यसलाई बिकाउ बनाउन केही न केही सेन्सेसनल कुराहरु जोड्नुपर्छ । त्यो जोडेपछि यसको सारतत्व सकिन्छ ।
मिडियालाई दास बनाउने काम भइरहेको छ । केही फटाहाहरु मिलेर सोसियल मिडिया र मेनस्ट्रम मिडियाबीचको सम्बन्धलाई विगार्ने काम भइरहेको छ । मेनस्ट्रिम मिडियालाई तल झार्ने खेल भइरहेको छ । यो पोलिटिकल मुभमेन्ट हो । यसलाई तपाइले नसोच्नुहोस कि यो एआइवा च्याट जेपीटीको चमत्कार हो । त्यो होइन ।
भन्नुको अर्थ नेपालमा पनि भारतमा जस्तै ‘गोदी मिडिया’को बिगबिगी बढेको हो ?
मलाई त्यस्तो लाग्दैन । भारतीय मानसिकता त्यस्तै छ । उनीहरुले कांग्रेस आइको शासन धेरै लामो समयसम्म देखे । भारतीय जनता पार्र्टीले उठाएका मुद्दाहरु खराबै हो भन्न मिल्दैन । भारतीय जनता पार्टीको १० वर्षे शासन कालमा भारतले प्रगति गरेको छ । यो सबै छर्लंगै छ । सोनिया गान्धी, राजिव गान्धी, वा प्रियांका भाद्राले बोलेर केही हुनेवाला छैन । टेलिभिजनमा शानका साथ नितिन गडगरीले सडक बनेको प्रचार गरिरहेका छन । तीन–चार घण्टामा दिल्ली–मुम्बइपुग्न सक्ने बाटो निर्माणधीन छ । त्यहाँको मूलधारका संचारमाध्यमहरु ‘न्युट्रल’ छन, तर ‘लिटिल पोजेटिभ विथ भारतीयजनता पार्टी’ जस्ता देखिन्छन । किनभने रविस कुमारले युट्युबमा जतिसुकै फलाके पनि उनलाई कांग्रेस आईले अवसर दिएको त होइन नि । त्यसै म्यागासेसे अवार्ड पाएका थिएनन । कसरी पाउँछन् म्यागासासे,हामीलाई पनि थाहा छ ।
सोसियल मिडिया र मूलधारका संचारमाध्यमबीचको विभाजन एउटा राजनीति हो भन्नुभयो । कस्तो खाले राजनीति हो? के गर्न खोजिँदैछ ?
यहाँ थोकमा सबैकुरा खरीद हुँदैछ । मान्छेको काम छैन के गरेर बस्छ ?पत्रकारिताको त्यस्तै हालत छ । एउटा पत्रकार महासंघ थियो । त्यो कुनैबेला शक्तिशाली थियो । तर, त्यसलाई पनि चौतारीे, युनियन र सेन्टर सबै मिलेर भागबण्डा गरे । अहिले त्यो सरकारी अड्डाजस्तो बनेकोछ । प्रेस युनियनले कांग्रेस पार्टीको, चौतारीले एमाले पार्टीको र प्रेस सेन्टरले माओवादी पार्टीको काम गरेर पत्रकारहरुलाई पत्रकारिता गर्न स्वच्छ राखेको भए महासंघको यो हरि बिजोग हुँदैन थियो । महासंघको महाधिवेशन हुँदैछ । त्यसमा मान्छेको चिन्ता र चासो छैन ।
म आफै पत्रकार महासंघको पहिलो निर्वाचित सभापति हुँ । पत्रकार महासंघका लागि जग्गा हाम्रै पालामा खोजेका हौँ । संचारग्राम बनाउने ड्रीम प्रोजेक्ट गोपालदास श्रेष्ठको कल्पना थियो । त्यो प्रोजेक्ट साकार भयो । अहिले त दलतन्त्र मात्रै छ । अहिले पत्रकार महासंघको अस्तित्व र अस्मितालाई स्वीकार गर्न कोही तयार छैन । त्यही हालत प्रेस काउन्सिलको छ । प्रेस काउन्सिल यस्तै हुन्छ ?संसारभरीका प्रेस काउन्सिलका ेतपाईं अध्ययन गर्नुस । आजजस्ता मान्छेहरु नेपालको प्रेस काउन्सिलमा छन त्यस्तै मान्छेले नेपाली पत्रकारिताको स्ट्यान्डर्ड बढाउलान त ? म कसैको नाम लिन चाहन्न। पछिल्लो समयमा बहुदलीय प्रजातन्त्र कालमा र अहिलेको गणतन्त्र कालमा पनि त्यसको स्वरुप बदलिएको छैन । प्रेस काउन्सिल र महासंघ दुवै पुरानै शैलीमा छन । व्यवस्थाका नाम बदलिए पनि समाज बदलिएको छैन ।
यति ठूलो परिवर्तनमा सहभागी भएको हाम्रो समाजमा परिवर्तन किन हुन सकेन ?
हाम्रो समाजको संस्कार संस्कृति दरिद्र किसिमको छ । हाम्रो मानसिकता पनि पहिलेदेखि थिचिँदै आएको छ । एउटा हेजेमोनी खडा भएको छ ।
भनेपछि समाज परिवर्तनमा जातले अवरोध गरेका देख्नुहुन्छ ?
जात भन्दा पनि धनको अवरोध देखिन्छ । कसको कति रोपनी खेत थियो, कति रोपनी धान खेत थियो,कति रोपनी बारी थियो, कति धन र गाड धन थियो ।
त्यो खेत र बारी कसको कति भन्ने पनि पहिले नै निर्धारित थियो होइन ?
हो पहिले नै निर्धारित थियो । २०१५ साल र २०४७ सालमा मधेशमा नेपाली कांग्रेसले भोट पायो । किनभने यसले हामीलाई जग्गाको मालिक बनाइदेला भनेर भोट दिए । २००९ सालको नागरिकता ऐनमा नागरिकताको प्रमाणपत्र पाउन टोपी लगाएको फोटो चाहिँदैन थियो । नेपाली बोल्न जान्नुपर्दैन थियो । मधेशको मान्छेले नेपाली बोल्छ र ? मधेशको दलितको छोरोले नेपाली बोलेको सुन्नु भएको छ ? टोपी लगाएको देख्नु भएको छ ? २००९ सालको भन्दा २०१७ सालको नागरिकता ऐन खत्तम छ । उनीहरुको त मातृभाषाको पनि उप मातृभाषाहरु होलान ।
नेपाली समाजको ज्ञानशास्त्रमा पनि समस्याहरु देखियो भन्ने तपाईंको निष्कर्ष हो ?युरोपमा भएको जागरण आन्दोलन वा चीनमा भएका सांस्कृतिक परिवर्तन यहाँपनि जरुरी देख्नुहुन्छ ?
यहाँ कस्तो छ भने दुईचार अक्षर पढेका मान्छेहरु हार्वड र अक्सफोर्डको हवाला दिएर हिँड्छन । अरु मान्छेहरु सुख सुविधाका पछाडी लागेका छन । पढ ेलेखेका मान्छेहरुलाई पहिले दरबारले ट्रयापमा पार्थ्यो । व्यक्तित्वको निर्माण उनीहरुले गर्दथे । त्यसबाट उम्किएर यताआउने व्यक्ति भनेको मैले देखेको एकै जना हुनुहुन्छ–देवेन्द्रराज पाण्डे । उहाँ २०३६ सालको जनमत संग्रहको बेलामा सरकारी जागीरबाट निस्किएर हिँड्नु भयो । त्यतिखेर उहाँअर्थ सचिव हुनुहुन्थ्यो । यहाँको बौद्धिक समुदाय नै साँघुरो छ । त्यो प्रभावकारी छैन । त्यो बौद्धिक समुदायलाई दुई चारवटा चुरोट, राम्रो लुगा, दुई चारवटा पुस्तक र जुत्ता चाहियो । जो पहिलेदेखि नै काँठे स्वभाव हो । यो समाज त्यसरी बनेको छ । यिनीहरुलाई भत्काउने भनेको निकै कठिन कुरा हो । तपाईंले भनेको सोसियल चेन्जको सूत्रहरु अन्यत्र कसरी आयो? कोहेन ब्यान्डेटले पेरिसमा त्यत्रो ठूलो प्रदर्शन गर्यो । चाल्र्स देगाल जस्तो शक्तिशाली राष्ट्रपतिको मुटु हल्लाइदियो । यहाँको राजनीतिमा खेलकुद बढी हुन्छ । त्यसैमा हामी रमाउँछौँ । रत्नपार्कमा यस्तो विकृति देखेको छु । दिउँसो भारतीय विस्तारवाद मुर्दावाद भनेर रातो झण्डा लिएर नारा लगाउने मान्छेहरु मैले एम्बेसीको पार्टीमा भेटेको छु । यो हो व्दैध चरित्र ।
के यो प्रबृत्ति निकै उच्च तहका नेताहरु सम्मै छ ?
धेरै माथिका नेताहरुसम्म छ । यो भन्न लाज मान्नु पनि पर्दैन, डराउन पनि पर्दैन । यो समाजको नव–निर्माण र पुनर्लेखन गर्न कसैले पनि सकेन । कसैले जस दिएपनि नदिए पनि वीपी कोइरालाले गर्न खोजेकै हो । अठाह्रै महिनामा निर्वाचित प्रधानमन्त्रीलाई हटाएर राजाले किन कु गर्नुपरेको थियो भने उनलाई आफ्नो हेजेमोनी टुट्ला भन्ने डर थियो । कसैले त्यसको बिरोध गर्ने हिम्मतै गर्न पाएका छैनन । जसले हिम्मत गरे तीमारिए वा जेल हालिए । अनि हामीले २०४७ सालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रसहितको संविधान ल्यायौं । त्यसले अर्कोबिजोग गर्यो । त्यसले त राम्रो र असल मान्छेहरुलाई सत्तामा आउनै दिएन । कृष्णप्रसाद भट्टराईजस्ता नेतालाई हराइयो ।
उहाँको पराजयको घटनाले पुरा देश नै डिमोरलाइज भयो । उहाँको पराजयबारे मार्क टलीले बीबीसीमा ४५ मिनेट लामो टिप्पणी गरेका थिए । किनभने चुनावमा त्यो कृष्णप्रसाद भट्टराई भन्ने प्यूसो बाहुनको पराजय भएको थिएन । एउटा मान्यताको पराजय थियो त्यो । २०५६ सालमा उहाँले चुनाव जित्नुभयो । उहाँलाई गिरिजाप्रसाद कोइरालालगायत सबै मिलेर हटाए । उहाँले शासनको एउटा मान्यता स्थापित गर्नुहुन्छ कि भन्ने डर सबैलाई भयो । उहाँ संसदबाट रुँदै निस्कनुभयो ।
हाम्रा नेपाली मारबाडी ब्यापारीमा एक खालको एकता छ । त्यो हुनुपर्छ । त्यो एकता तोड्ने प्रयत्न भएकोले पनि नेपालको आर्थिक अवस्था जिर्ण हुँदैछ । व्यापारीहरुलाई लडाएर कमिशनको खेलमा लाग्यो भने यस्तै हुन्छ । संचार सम्बन्धी नाम चलेका एनसेल र एनटिसी दुवै विवादमा छन । एनटिसीको विवादमा हाम्रा मुख्यसचिव वैकुण्ठ अर्याल विदा बस्नु पर्यो । नेपालमा फलफूल त राम्रो फल्छन । तिनीहरुलाई प्रिजर्भ गरेर हामी अमेरिकन बजारमा पठाउँदैनौँ । फलफूलको ठेकेदार आउँछ । उठाएर लान्छ । त्यो तपाईंको मुखमा पर्दैन । बंगलादेश पुग्छ । बिदेशीले एक वर्ष प्रिजर्भ गरेर राखेको फल खान पाउँदा हामी रमाउँछौ । अहिले नेपाली जनताको मानसिकता नै तलतल गिर्दै गएको छ । निराशाको उचाई बढ्दो छ ।
सबैलाई थाहा छ रुसको सेनामा भर्ना हुन जाँदा युक्रेनको युध्दमा मरिन्छ । तर, हरेक दिनपासपोर्ट बोकेर फौजका फौज नेपालीहरु त्यता गइरहेका छन । युरोपका संकटमा नेपालीहरु संलग्न छन । कति नेपाली अफ्रिकामा हराई रहेका छन । सुनखानी र हिराखानीमा मरिरहेका छन । भारतका कोइलाखानीमा काम गरिरहेका छन । दुवई कतार जाने लहर अब बन्द हुन्छ । त्यहाँका तेल खानी रित्तिदैछन । सरकारहरुले आफ्नो व्यवस्थापन गर्न थालेको संकेत छ । त्यस्तो समाजमा जानका लागि हाम्रा नेपालीहरु सानो अनुहार लगाएर त्रिभुवन विमानस्थलमा जान्छन । त्यहाँ पनि दश ठाउँमा हप्काई खानुपर्छ । रिकुटेदेखि डिएसपीसम्मले लछारपछार गरिराखेको देखिन्छ । उनीहरु प्रति गर्ने व्यवहार जहिलेपनि दोस्रो नम्बरको नागरिकसंग गरिनेजस्तो हुन्छ । हाम्रो मामोरल लिडरसिप छैन । आशा थियो प्रचण्डजीहरुले गर्नुहोला । शेरबहादुरजीले गर्नुहोला र ओलीजीले पनि गर्नुहोला। सबैको संघर्षमा भूमिका थियो । तर, गर्नु भएन ।
तपाईंले प्रेस काउन्सिलको चर्चा गर्नुभयो । काउन्सिलको त्यो हालत छ । अलि बिस्तारमा भनिदिनुहोस न ।
सरकारका नेताहरुले पार्टीका खैजडी बजाउनेहरुलाई ल्याएर राखिदिनु भएको छ प्रेस काउन्सिलमा । यो गठबन्धन सरकारको सबैभन्दा खराब कामै त्यही हो । त्यस्ता मान्छेहरुले त्यहाँ नियुक्ति पाउँछन जसले पत्रकारिता बाहेक अरु सबैकाम गरेका हुन्छन । प्रेस काउन्सिल भन्ने संस्था गरिमामय व्यक्तिहरुले नेतृत्व गरेको ठाउँ हो । निष्पक्ष खालका पूर्वन्यायधीश अध्यक्ष थिए । पत्रकारहरुबाट गोपालदाई त्यहाँ अध्यक्ष हुनुभयो । उहाँपछि निरन्तर खस्किँदै गएको छ ।
डेमोक्रेसीमा संस्थाहरु खस्किनु हुँदैन । डेमोक्रेसी शब्दमा मात्र आयो । पार्र्टीको प्रभूत्व र जोडबलले नेतातन्त्र जन्मायो ।
यस्तो लाग्छ ः संघर्ष त उहाँहरु आफैलाई प्रधानमन्त्री बनाउनका लागि रहेछ । उहाहरुसँग कुनै विशेष कार्यक्रम नै रहेनछ । नेपाली कांग्रेसको कुनै विशेष कार्यक्रम छैन । एमाले टाकुराहरुमा टावर बनाउन लागेकोछ । माओवादीको त्यस्तै छ । मलाई के लाग्छभने यो रिङमायति धेरै मान्छेहरु छन । अहिले जहाँ संसद बसिरहेको छ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र । त्यो संसदभित्र केही ‘बुइँख्याचा’हरु पनि छन । ती बुइँख्याचाहरु कराईराखेका हुन्छन, हामी सुनिरहेका हुन्छौँ । यीनिहरु नै हाम्रो भाग्य विधाताहुन भनेर सोचिराखेका हुन्छौँ ।
सिद्धान्तहरुको ‘डेथ’ भएपछि अवश्य पनि लिडरशीपको पनि अन्त्य होला। अन्ततः लोकतन्त्रकै डेथ हुने खतरा कत्तिको देख्नुहुन्छ ?
सिद्धान्तको डेथ हुँदैन । लिडरशीपको डेथ हुन्छ । लिडरशीप भनेको भिजन हो । लिडरशीप नालायकभयो भने त्यसलाई पुनर्जीवन दिन नयाँ पुस्ता आउँछ । तपाईंको छोरा र मेरो छोराको भरमा संसार चलेको छैन । अहिले हामी अन्तर्वार्तामा छौं । यसबेला, नेपालकै कुनै कन्दरामा एउटा ब्रिलियन्ट मान्छेको जन्म भइराखेको होला । यो कसलाई थाहा छ ? एआइले थाहा पाउँछ ? च्याट जेपीटीले थाहा पाउँछ ?तपाईंमा धैर्य हुनुपर्छ । तपाईंले चाहेको बेलामा बम विष्फोट हुँदैन । बम त्यतिबेला विष्फोट हुन्छ जब समाज रापिन्छ, तापिन्छ ।
हिजो राजा ज्ञानेन्द्र शाह सात लाख सुरक्षाकर्मीको घेरामा थिए । तर, प्रचण्डको नेतृत्वले गरेको आन्दोलनका कारण उनी बाहिरिनु पर्यो । उनै प्रचण्डको पछाडी भिड थियो । तर, अहिले फेरी प्रधानमन्त्रीकै कुर्सीमा भएका प्रचण्ड असुरक्षितजस्तो देखिन्छ । तर, ज्ञानेन्द्र शाह सडकमा हिँड्दा मानिसहरुको भीड देखिन्छ । यसलाई व्यवस्था माथिको खतरा भन्न मिल्छ ?
त्यो तपाईंहरुलाई लागेको मात्रै हो । धेरै विसंगति देखेपछि त्यो संगति नै थियो कि जस्तो लाग्छ । राजतन्त्रको विगत तपाईंले हेर्नुभएको छैन । त्यो राजतन्त्रले कति मान्छेको हत्या गर्यो । कति मान्छेलाई निर्वासनमा पठायो । कतिको सम्पत्ति लुट्यो । त्यो न्यारेटिभ खै ?दियोपोस्टले तयार गरोस न त्यो । गुगलले ज्ञानेन्द्रलाई अहिले नेपालको धनी मध्ये दशौं स्थानमा देखाउँछ । उनको सम्पत्ति खोज्नु भयो भने त्यसको वारपार नै लाग्दैन ।
अहिले नेता उत्पादन भन्दा दलालहरु उत्पादनको थलो बनेका छन नि पार्टीहरु ?
कांग्रेस, कम्युनिस्ट र माओवादी सबैका नेता वा कार्यकर्ताहरु मध्यमस्तरकै शिक्षित मान्छे हुन । केही ब्रिलियन्ट छन । समाज जस्तो छ मान्छ त्यस्तै छन । शिक्षा, धर्म र संस्कार जस्तो पाएको हुन्छ मान्छे त्यस्तै बन्ने हो ।