शशांक कोइराला भन्नुहुन्छ : म अब किनारामा बस्न तयार छैन - रुपान्तरण
 २०८१ श्रावण ९, बुधबार    

शशांक कोइराला भन्नुहुन्छ : म अब किनारामा बस्न तयार छैन


प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद शशांक कोइरालाको पहिलो परिचय नेपालका लोकप्रिय नेता बीपी कोइरालाका कान्छा सुपुत्र हुनु हो । तर, उहाँ कुशल नेत्र चिकित्सकका रुपमा पनि उत्तिकै परिचित र लोकप्रिय हुनुहुन्छ । उहाँका कारण उज्यालो संसार देख्ने मौका पाएका अनगिन्ती नेपाली उहाँप्रति कृतज्ञ छन । नेपाली जनताको आँखाको स्वास्थ्य रक्षाका लागि उहाँको योगदान प्रशंशनीय छ । उहाँले नेत्र चिकित्सकका रुपमा अवकाशलिइ सक्नु भएको छ ।

शशांक संविधान सभामा (पहिलो र दोस्रो) दुबैपटक सभासद हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेसका महामन्त्री रहीसक्नुभएको छ । यतिखेर उहाँ प्रतिनिधि–सभामा नवल–परासीबाट नेपाली कांग्रेसका सांसद हुनुहुन्छ । संविधान सभाको पहिलो चुनावदेखि अहिलेसम्म नवल–परासीबाट लगातार चुनाव जित्दै आउनु भएका शशांक कोइराला प्रमुख राजनीतिक केन्द्रको छेउछाउ कतै देखिन चाहनुहुन्न ।

उहाँ स्वयं भन्नुहुन्छ, ‘हुलहुज्जत र धक्का–मुक्का गर्दै अघि बढने स्वभाव छैन मेरो । कांग्रेसमा योगदान दिने धेरै नेताहरु छन । म उहाँहरु सबैको सम्मान गर्छु । तर, त्यसको अर्थ मेरो आफनो प्राथमिकता र चाहनाहरु छैनन भन्ने होइन । हिजोआज कांग्रेसमा हुलहुज्जतको संस्कार बढदै गएकोछ । यो राजनीतिक संस्कार होइन ।

अघिल्लो साता सोमवार, सुप्रसिध्द साहित्यकार दिवंगत तारिणीप्रसाद कोइरालाको अप्रकाशित उपन्यास ‘प्रभा’ र स्वर्गीय ज्योति कोइरालाले ‘देखे भोगेका कुरा’ विमोचनका अवसरमा मेरो भेट भयो ः डा. कोइरालासंग । मैले उहाँसंग प्रश्न सोधे, देशका असंख्य नेत्रहीनलाई उज्यालो संसार देखाउनुभयो । राजनीतिमा बाक्लिदै गएको अन्धकार हटाउन जाँगर चलाउने बिचार छैन ?
शशांकले तत्काल केही जवाफ दिनु भएन । उहाँलाई केही भन्ने र केही बोल्ने मन चाही थियो । उहाँले भन्नुभयो, ‘भोलि भेटौं ।’

मंगलवार विहान नियत समयमा म कोइराला निवास, महाराजगन्ज पुग्दा राजनीतिक कार्यकर्ता र डा.कोइरालाका राजनीतिक याचकहरुको चहल–पहल सकिन लागेको थियो । मलाई देख्नासाथ एकजना साथीले डाक्टर कोइरालाको बैठकमा पुर्याए । क्षणभरमा नै डाक्टर कोइराला आउनुभयो । मैले अनौपचारिक शैलिमा औपचारिक प्रश्न राखें – देशको अवस्था असरल्लछ । तपाईं केही बोलिरहनु भएको छैन ।

डाक्टर कोइरालाको जवाफ थियो–बोलेर मात्र केही हुने होइन । यत्रा मानिसहरु दिनहूँ बोली रहेका छन । इच्छित परिवर्तनका लागि सबभन्दा पहिले त हामीले आफनो दिमाग फराकिलो राख्नुपर्यो । त्यसपछि न केही कुरा हुन्छ । अहिले केही कुरा पनि स्पष्ट छैन । राजनीतिक टिप्पणीकारहरु सरकार टिक्नसक्ने अवस्था छैन भन्छन । मेरो बिचारमा, अहिलेकोे आवश्यकता पनि राष्ट्रिय एकता र मेलमिलाप नै हो । बीपीले चार दशक अघि नै राष्ट्रिय एकता र मेलमिलापको आबश्यकताको महत्व बताउनु भएको थियो । हामी अहिले पनि त्यही बिन्दूमा छौं । अरु पार्टीहरुको कुरा छाडौं, मैले नेपाली कांग्रेसका साथीहरुले पनि राष्ट्रिय एकता र मेलमिलापको आबश्यकताका बारे ध्यान दिएको देखिन ।

‘यस्तो राष्ट्रिय एकता र मेलमिलापको वातावरणको निर्माणका लागि तपाईं स्वयंले पनि त कुनै प्रयास गरेको देखिएको छैन ?’ मेरो प्रश्न थियो ।

‘हो, मैले पनि केहीगर्न सकेको छैन । यसका लागि पार्टीको मूल नेतृत्वमा जानैपर्ने रहेछ,’ शशांकले बताउनु भयो, ‘मैले १२औं अधिवेशनमा नै नेतृत्वका लागि सभापतिमा चुनाव लडनुपर्ने रहेछ । आफनो बंशानुगत स्वभावका कारण आफूभन्दा ‘सिनियर’हरुको मैले अनादर गर्न चाहिन । आफनो सीमा नाध्न सकिन मैंले । आउँदो अधिवेशनका लागि चाहीं मनस्थिति तयार गरेकोछु ।’

‘आउँदो अधिवेशन त दुइ बर्षपछि आउँछ । त्यसबेलासम्म के गर्नु हुन्छ ?’ ‘देशभरिका नेपाली कांग्रेसका नयाँ र पुराना साथीहरुलाई भेटेर उहाँहरुमा उर्जा बढाउन मेचीदेखि महाकालीसम्मको भ्रमणमा जाँदैछु’ डाक्टर शशांकको उत्तर थियो ।

मैले सोधें – ‘यात्रा किन मेचीबाटै शुरुगर्ने ? महाकालीबाट शुरु गरे हुँदैन ?’ शशांकको जवाफ थियो ‘हो, हुन्छ । महाकालीबाटै शुरु गर्नुपर्ला ।’

मेरो प्रश्न थियो, ‘तर, महाधिवेशन त दुइबर्ष पर छ । अहिले अराजक शैलिको राजनीतिको दुष्प्रभाव बढी रहेको बेला नेपाली कांग्रेसले नीतिगत निर्णय गरेर नयाँ नेतृत्वको चयनगर्न महाधिवेशन गरे के हुन्छ ? नेपाली कांग्रेसलाई दुइबर्ष पर्खिने सुबिधा छ ?’

शशांकको भनाइ थियो, ‘शेरबहादुरजी आफनो कार्यकाल लम्ब्याउने मनस्थितिमा हुनुहुन्छ जस्तो मलाइ लाग्दैन । उहाँले छिटो अधिवेशन बोलाएर परिवर्तनको ढोका खोल्ने सम्भावना पनि छ । जे भएपनि, आउँदो अधिवेशनमा मैले सभापतिको पदमा चुनाव लडने मनस्थिति बनाएकोछु । मेची–महाकाली भन्नुहोस वा महाकाली–मेची भन्नुहोस– मेरो देश भ्रमणको उद्देश्य त्यही हो । कि, हामी सबै राजनीतिक दलहरुको प्राथमिक कर्तब्य राष्ट्रिय एकता र मेल–मिलापको सुब्यबस्थापन हो

अरुलाई धकेलेर माथिपुग्ने स्वभाव मेरो छैन । तर, मेरो आफनै निष्कर्ष छ : राजनीति पारदर्शी हुनुपर्छ । अहिलेको जस्तो अँध्यारोमा बसेर ढुंगाहान्ने प्रबृत्तिको राजनीतिले देशलाई कहीं पुर्याउँदैन ।’

‘कांग्रेसको नेतृत्वलिन घर–परिवारमा पनि त कुरा मिलाउन पर्ला ? पर्दैन ?’ मेरो प्रश्न थियो । ‘राजनीतिगर्ने कुरामा कसैको नियन्त्रण हुदैन । म अब किनारामा बस्न तयार छैन । मैले नेपाली कांग्रेसको सभापति पदमा लडन मन दह«ो बनाएकोछु’ शशांकको दृढ उत्तर थियो ।

मेरो अर्को प्रश्न थियो : तर, अहिलेको राजनीतिमा त आर्थिक स्रोतको चलखेल र चहल–पहल मनग्गे हुन्छ । कहाँबाट जुटाउनु हुन्छ आर्थिक स्रोत ?

शशांकको जवाफ थियो : ‘राजनीति पैसाले हुने होइन । त्यसो हुन्थ्यो भने बीपी उहिल्यै सकिनु हुन्थ्यो । २०१७ सालको घटना भएको तीनै दशकपछि निरंकुश राजतन्त्रको अन्त्यको कुरा कसैले सोचेको थियो ? प्रजातन्त्रको पुनस्र्थापना अघि कतिले गणेशमानजीलाई ‘क्रिपल’ भन्थे, कतिले किशुनजीलाई ‘सेनाइल’ भन्थे, कतिले गिरिजाबाबुलाई ‘स्पेन्ट फोर्स’ भन्थे । तर, उहाँहरुकै नेतृत्वमा भएको जन-आन्दोलनबाट पुनस्र्थापित भयो नि त प्रजातन्त्र । त्यही परिवर्तनले संघीय गणतन्त्रको बाटो खोलेको होइन ?’

‘तपाईंलाई लाग्दैन अहिलेको भीडभाडको राजनीतिमा कांग्रेसको अवस्था सुदृढ हुन सकेको छैन ?’

मेरो यो प्रश्न सुनेर शशांक गम्भीर हुनुभयो । उहाँको जवाफ थियो : निश्चय पनि, आजको समयमा कांग्रेसको अवस्था चाहिएजति सुदृढ छैन । त्यसो भनेर, अहिलेको अवस्था त्यति नाजुक पनि छैन । कांग्रेसको जग बलियो छ र यसको भविष्य पनि मजबूत छ । सबभन्दा महत्वपूर्ण बिषय के हो भने अहिलेको संघीय गणतान्त्रिक ब्यबस्था अनुरुप कांग्रेसको संगठन बनाउन सकिएको छैन । देश संघीय प्रणालीमा गइ सकेपछि पार्टीको स्वरुप प्रादेशिक हुनु अनिवार्य हुन्छ । प्रदेशहरुमा पार्टी मजबूत हुनुपर्यो । कांग्रेसको नेतृत्वमा रहेका नेताहरुको दिमाग अहिलेसम्म केन्द्रीकृत नै छ । उनीहरुले संघीय गणतन्त्रका गम्भीर बिषयहरुमा छलफल गरेका छैनन ।

देशभरि गरिबी बढदै गएको छ । जातीय भेदभावको स्थिति छ । पहाडमा होस वा मधेशमा, सामाजिक र सांस्कृतिक बिचलन बढदोछ । अवसरको वितरणमा असमानताका कारण व्दन्व्द पनि बढदै गएकोछ । यी सबै असमानताको निराकरणका लागि प्रादेशिक बिकासका नयाँ नयाँ आयामहरु खुल्नु पर्यो । कृषि, पर्यटन र जलवायु संरक्षणजस्ता आधारभूत क्षेत्रको बिकासका लागि प्रदेशलाई सक्रिय तुल्याउनु पर्यो ।

वैदेशिक रोजगारीमात्रै आर्थिक बिकासको आधार हुन सक्दैन । जलशक्ति र प्राविधिक बिकासको जति चर्चा गरिएकोछ त्यो अनुरुप केही पनि काम हुन सकेको छैन । यो काम संघीय सरकारको हो । संघीय सरकारले यतातिरको बिकासका लागि प्रयत्न गर्नुपर्दछ । सानो सुन्दर हुन्छ अर्थात स्मल इज ब्यूटिपूmल भन्ने बिचारलाई हामीले प्राथमिकता दिनै पर्दछ । बीपीको सपना पनि त्यही थियो । सामाजिक र आर्थिक बिकासका अवधारणालाई संगसंगै लानु पर्दछ । बीपी भन्ने गर्नु हुन्थ्यो – कुनैपनि सिष्टम डायनामिक हुन सकेन भने देश धरापमा पर्छ । देशलाई कसैले पनि धरापमा पार्न नसक्ने गरी मजबूत तुल्याउनु पर्दछ ।