पतनको बाटोमा प्रचण्ड ? - रुपान्तरण
 २०८१ श्रावण १२, शनिबार    

पतनको बाटोमा प्रचण्ड ?


सामाजिक सन्जालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष तथा सर्वोच्च नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्दै हुनुहुन्थ्यो : मलाई योे गणतन्त्र पनि मन परेको छैन । यो संघीयता पनि मन परेको छैन । उहाँको यो भनाइ सक्कली हो कि नक्कली-त्यो थाह भएन । एआइको जमानामा को सक्कली हो र को नक्कली हो ? पत्ता लगाउन कठिन छ । एआइ अर्थात ‘आर्टिफिसियल इन्टेलिजेन्स ।’ सक्कली मानिसको अनुहार र आवाज दुरुस्त उतारेर सामाजिक सन्जालमा ‘पोष्ट’ गर्नु कलाकारिता हो । यो कलालाई इन्कारगर्नु भन्दा यसको तारीफगर्नु आबश्यक छ अहिलेको समयमा ।

जन–युध्दकालीन समयदेखि नै प्रचण्डको स्वभाव र उहाँमा रहेको भावनात्मक चन्चलताको अध्ययनगर्दै आएको यो कलमजीवीका लागि प्रचण्डको भनाईलाई एआइको ‘कल्पनाशील’ निर्माणमान्न अत्यन्त गाह«ो परेको छ । भावात्मक चन्चलता प्रधानमन्त्री प्रचण्डको गुण पनि हो र दोष पनि हो । मनले प्रचण्डलाई योे गणतन्त्र पनि मन परेको छैन । यो संघीयता पनि मन परेको छैन । नेपालको कम्युनिष्ट आन्दोलनका यी धुरन्धर ब्यक्तित्वका लागि अहिलेको राजनीतिक यथार्थ पीडादायक छ । ‘जन–गणतन्त्र नेपाल’ को पहिलो राष्ट्रपतिबन्ने परिकल्पना थियो होला उहाँको मनमा । लेनिन, माओ र होचि मिन्हजस्ता क्रान्तिकारीहरु प्रेरणादायी नेता थिए । नियतिले उहाँलाई ‘संघीय गणतन्त्र नेपाल’ मा खुम्च्यायो । जन–गणतन्त्र नेपालको कल्पना तुहियो ।

कार्ल माक्र्सले आफनो सैध्दान्तिक आधार बनाउनु भएको थियो: ‘संसारका मजदूरहरु एक हौं । प्रचण्ड त्यही पछ्याउन चाहनुहुन्थ्यो । तर, उहाँको सक्रिय र बैधानिक राजनीतिक यात्रा उल्टोबाट शुरु भयो । उहाँ जन–गणतन्त्रको डोली चढेर संघीय गणतन्त्र नेपालमा अवतरण गर्नुभयो । शुरुका दिनहरुमा त उहाँले निराशा भोग्नु परेन । संविधान सभाको पहिलो चुनावले माओवादी जनयुध्दको औचित्य सावित गर्यो । दुर्भाग्यवशः प्रचण्डको सत्तारोहणको नौ महिना नपुग्दै त्यो औचित्यको भ्रूण हत्या भयो । भ्रूण हत्याको त्यो घटनापछि अनेकन दुर्घटना भए । के के भयो, के के भयो । हिसावराख्ने आँट कसैले गरेन ।

त्यो बेलादेखि यो बेलासम्म आइपुग्दा प्रचण्डले आफनो राजनीतिक अवतार अनेक पटक बदलिसक्नु भएको छ । उहाँका बिश्वासपात्र मित्रहरु सुन तस्करीका मुद्दामा फँसेका छन । पार्टी छिन्नभिन्न अवस्थामा रहेकोछ । प्रचण्डले आफना ‘बिश्वासपात्र’ सारथिहरुलाई पछाडि धकेली दिनु भएकोछ । ती सारथिहरुले प्रचण्डको बिश्वास गुमाएपनि उहाँलाई छाडेका छैनन । किनभने, प्रचण्डको बानी छ ः उहाँ आफैं प्रश्नको घेरा बनाउनु हुन्छ । त्यसपछि, प्रश्नहरुको जवाफ आफै दिन थाल्नुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डको पछिल्लो समयको शासकीय यात्रालाई नौटंकीका रुपमा हेर्न सकिन्छ । उहाँका साथी र समर्थकहरु अनौठा र अपरिचितमात्र छैनन, उहाँलाई अपमानको बीष पिउन बाध्य गराएर अराजनीतिक चरित्र देखाउने स्वभावका राजनीतिज्ञहरु पनि छन । उहाँ यस्ता ‘बेडफेलो’ हरुसंग आफनो यात्रागर्दै हुनुहुन्छ जसका लागि अभद्र शब्दको प्रयोग गर्नुपर्ने हुन्छ ।

उहाँको यो यात्रा कतिसम्म लम्बिने हो ? प्रश्नको जवाफ स्वयं उहाँसंग पनि छैन होला । यो यात्रा कहिलेसम्म जारी रहन्छ ? अन्दाजगर्न सकिने अवस्था पनि छैन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महामना अध्यक्ष केपी ओलीसंग पनि यसको जवाफ छैन । अध्यक्ष ओलीले जतिसुकै पूmर्ति लगाएपनि प्रधानमन्त्री प्रचण्डको भाग्य निर्धारणको आधिकारिकता उहाँको हातमा छैन । त्यही अवस्था छ नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाको । उत्तर–दक्षिणको हावाको लहर र गति नहेरी राजनीति गर्न नसक्ने रोग सबैलाई लागेको छ । उत्तर र दक्षिण लवीका नेता काठमाडौंमा नै छन र अदृश्य छन ।

उनीहरुलाई थाह छ : उज्जैन (भारत) का बाबा महाकालेश्वरको ‘निगाह’ पाउनु भएकोछ प्रचण्डले । त्यो निगाह रहेसम्म उहाँको बिरोधमा कसैले दाल गलाउन सक्दैन भन्ने नयाँ ‘न्यारेटिभ’ तयार हुन थालिसकेकोछ । प्रचण्ड नेतृत्वको सरकार अत्यन्त ‘सक्रिय’ र ‘गतिशील’ छ । संघीय गणतन्त्र नेपालको संविधानबाट ‘धर्म निरपेक्ष’ शब्द हटाउने र ‘सनातन’ शब्द घुसाउने चर्चा शहरमा बाक्लिन थालेकोछ । यति हो कि, अहिलेका लागि ती सक्रिय र गतिशील गतिविधि कतैपनि परिलक्षित भएका छैनन । निश्चयपनि, सामाजिक सन्जालको प्रभावमा परेका सोझा जनता अन्योलमा छन । अन्योलमा पर्नुपर्ने त्यस्तो अवस्था उपस्थित भै सकेको पनि छैन ।

प्रधानमन्त्री प्रचण्डलाई यो सम्भावनाको राम्रो ज्ञान छ- भारतको चुनाव सकिएर नयाँ सरकार नबनेसम्म उहाँको नेतृत्वको सरकार सुरक्षित छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी ठूलो बहुमतका साथ सत्तामा फर्किने उर्लिदो सम्भावनाले प्रचण्डको मन अलिकति शान्त भएको पनि होला । तर, एमालेका महामना अध्यक्ष ओलीको ‘चमत्कारिक नक्सा’ नेपालको सय रुपैयाँको नोटमा संलग्न गरेपछि त्यसको परिणाम के होला ? यसबारे पनि प्रधानमन्त्री प्रचण्डले सोच्नु भएकै होला । उज्जैनमा महाकालेश्वरको दर्शनको लगत्तै चीनपुग्नु भएका प्रधानमन्त्री प्रचण्डले चीनियाँ माटोमा उभिएर मान–सरोवरको दर्शनगर्नु भएको तस्वीर चीनियाँ सन्चार माध्यममा बग्रेल्ती छापिएका थिए ।

उसो त, चीनको कूटनीति पनि अपरिमेय छ । चीनले राजा महेन्द्रदेखि प्रधानमन्त्री प्रचण्डसम्म कसैसंग पनि असमान सम्बन्ध राखेको देखिदैन । उसलाई थाह छ: नेपालसंगका उसका बिबादहरु सीमानामा होइन, बीआरआइमा अल्झिएका छन । उसैपनि, अहिलेसम्म चीन र नेपालका बीच बिबाद छन भने ती भारतमा नै सल्टिएका छन । नेपालका ‘जानकार’ कूटनीतिज्ञहरु यसबारे बोल्न चाहँदैनन । राजा महेन्द्रले लिपूलेकको नेपाली भू-भाग सन १९६२ को भारत-चीन युध्दका बेला भारतको हितमा उपभोगगर्न दिएका थिए । त्यतिबेला, नेपाली कांग्रेस राजा महेन्द्रको तानाशाही शासनका बिरुध्द सशस्त्र आन्दोलनमा थियो ।

अहिले भारत र चीनका बीच बिबाद छ पनि र छैन पनि । उनीहरु युध्दरत छिमेकीका रुपमा भन्दापनि आर्थिक प्रतिस्पध्र्दीका रुपमा बढी देखिएका छन । बदलिदो दुनियाँमा क्षेप्यास्त्रको भन्दा द्रब्यास्त्रको प्रयोग घातकहुने बिषय हो भन्नेमा प्रधानमन्त्री प्रचण्डको असहमति रहने छैन होला । तर पनि, अहिलेको समय घातक मात्रै होइन, मारक पनि छ । यो तथ्यलाई प्रधानमन्त्री प्रचण्डले बुझनु भएको छैन भनेर पत्याउने मनस्थिति कसैको पनि छैन । प्रधानमन्त्री प्रचण्डको मनमा कांग्रेसभन्दा अहिलेका गठबन्धनका सहभागीहरु घातक छन भन्ने पक्कै परेकोछ । प्रधानमन्त्री प्रचण्डले ज्यानले धान्नै नसक्ने गरी अहिलेका आफना सहयोगीहरुको अपजशको भारी बोकी रहनु परेको छ । इतिहासमा उहाँको नाम नेपाललाई गणतन्त्र बनाउने महानायकका रुपमा अंकित भै सकेको छ । तर, प्रधानमन्त्रीका रुपमा उहाँको तेजोवध भएकोछ । यो सत्यलाई कसैले लुकाउन सक्दैन ।

पहिलो जन-आन्दोलनपछि देशको राजनीति दलालहरुको चंगुलमा फँसेकोछ । यो राजनीतिको शुध्दिकरण यथास्थितिमा सम्भव छैन । प्रधानमन्त्री प्रचण्डमा साँच्चै हिरो बन्ने आकांक्षा छ भने उहाँले हिम्मत र आँट गरेर कसरी मध्यावधि चुनाव गराउन सकिन्छ ? त्यतातिर लाग्नु पर्दछ । त्यसका लागि गोलमेच सम्मेलन गरेर, राजनीतिक दलहरुलाई मनाएर, जनतालाई पछ्याएर वातावरण तयारगर्न सकिन्छ । एकदर्जन दलालहरुलाई अघिपछि लगाएर, ‘मेरो को छ र ?’ को बिलौना गाएर देशको भलो हुँदैन । प्रधानमन्त्री प्रचण्डले यति कुरा त पक्कै बुझनु भएको छ । इतिहास निर्माता महा-नायकहरुको पतन कसरी हुने गरेको छ ? प्रधानमन्त्री प्रचण्डलाई इतिहासको राम्रो ज्ञान छ । डच उपनिवेशबाट मुक्ति दिलाउने इण्डोनेशियाका राष्ट्रपिता सुकार्नोको पतन कति त्राशदीपूर्ण थियोप्रचण्डजीलाई सम्झाउनु पर्ला र ? (साभार : राजधानी दैनिक)

 

"