बजेटप्रति सत्तारुढ एमालेको असन्तुष्टी - रुपान्तरण
 २०८१ श्रावण १२, शनिबार    

बजेटप्रति सत्तारुढ एमालेको असन्तुष्टी


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकमा सत्तारुढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गरे ।

बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उल्लेख गर्दै उनले बजेट निर्माणमा प्रक्रियामा नै कमीकमजोरी सरकारले गरेको दाबी गरे । अध्यक्ष ओलीले बजेटमा कमी भएको औँल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पारे । उनले सरकारले प्रस्तुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि बताए ।

आइतबार पनि ओलीले बजेटमाथि छलफल गरेर ल्याएको भए राम्रो हुने कुरा बताए । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए । उनले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।’

त्यस्तै, पूर्वअर्थमन्त्री एवम एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट तयार पार्दा अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ दलसँग छलफल गरेर बजेट ल्याएको भए थप परिस्कृत र राम्रो आउने बताए । घुमाउरो पारामा उनले बजेटको आलोचना गरे ।

प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१।८२ को राजस्व र व्ययको अनुमान माथि आफ्नो धारणा राख्दै उनले सो कुरा उल्लेख गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने उल्लेख भएकामा सो अवधारणालाई सरकारले थप स्पष्ट पार्नुपर्ने पूर्वअर्थमन्त्री पौडेलको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरिएको भए पनि चालु आवको तुलनामा आगामी आवको भन्दा बजेट घटेको पूर्वअर्थमन्त्री पौडेलले बताए । कृषिमा लगानी दशक जस्तै सूचना प्रविधि क्षेत्रमा पनि लगानी दशक घोषणा भएकाले कुन क्षेत्रलाई प्राथमिकतामा राख्न खोजेको हो भन्नेबारे अन्योल देखिएको उनको भनाइ छ । गाँजा खेतीलाई वैधानिकता दिनेबारे विस्तृतमा अध्ययन गरिनुपर्ने र यसका सकारात्मक तथा नकारात्मक पक्षको विश्लेषण गरिनुपर्ने पूर्वअर्थमन्त्री पौडेलले बताए ।

त्यस्तै, पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारले आर्थिक सुधारको वर्ष भनेर बजेटमा भनेको भएता पनि आयोग गठनको वर्ष हुने डर रहेको टिप्पणी गरेका छन् ।शनिवार काठमाडौंमा आयोजित बजेटपछिको अन्तरक्रिया कार्यक्रममा खतिवडाले आर्थिक क्षेत्रको समस्याको समाधान दिर्घकालीन हुनुपर्ने भन्दै बजेट सुरुवात गर्दा संरचनागत सुधारबाट प्रारम्भ गरेको हुनाले आर्थिक क्षेत्रको समस्यालाई सम्बोधन गर्न नसकेको बताए ।