काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) यतिबेला विवादमा तानिएको छ । टी २० क्रिकेटका विषयलाई लिएर क्यानका पदाधिकारीहरु आलोचित छन् । यसै सिलसिलामा अध्यक्ष चतुरबहादुर चन्दले एमाले सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट संघको नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको भनेर लगाएको आरोपको खण्डन गरेका छन् । उनले आचार्यले लगाएको आरोपमा सत्यता नभएको दाबी गरेका छन् ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष चन्दले आचार्यको आरोपमा आंशिकसमेत सत्यता नभएको दाबी गरेका छन् । एमाले सांसद आचार्यले टी–२० विश्वकप क्रिकेट खेलका सन्दर्भमा नेपालीका लागि प्राप्त टिकट र भीआईपी टिकटमै अनियमितता भएको भनेर संसद्मा उभिएर दाबी गरेका थिए ।
चन्दले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘यहाँसम्म कि कुनैपनि आंशिक समेत सत्यता नभएको झुटो र कपोकल्पित बुँदाहरु नेपालको गरिमामय सदनमा उठान गरेर एकजना माननीय सांसदज्यूले सम्मानित सदनलाई गुमहारामा राख्नुको साथै आफूले प्रतिनिधित्व गर्ने राजनीतिक दललाई समेत विवादमा ल्याउन खोजेको देखिन्छ ।’
अध्यक्ष चन्दले क्रिकेट खेलको नाममा राजनीति गर्नेहरुले आफ्नो देशले विश्वकप खेलिरहेको महत्वपूर्ण समयमा क्रिकेट तथा संघको विरुद्धमा अनर्गल प्रचार गर्दा विश्वकपमा सहभागिता जनाईरहेका राष्ट्रिय खेलाडी, नेपाललाई विश्वकपमा पुर्याउन अहोरात्र खटिएका संघका पदाधिकारी एवम् सदस्यहरु, संघका कर्मचारीहरु तथा क्रिकेकटसँग सम्बन्धित व्यक्तिलगायत क्रिकेट प्रेमीहरुको मनोबल गिर्न सक्छ भन्नेसमेत ख्याल विचार नगरी क्रिकेटको नामा राजनीति गर्न खोज्नेहरुको नेपाली क्रिकेट विवादित र विभाजन गर्न खोजेको स्पष्ट छ ।’
चन्दले प्रष्टीकरण दिएपनि विभिन्न घटना विवरणहरुले उनी दोषी देखिएको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले तोकेको २५ सदस्यीय कोटामा सेक्युरिटी म्यानेजर र अफिसियल डाक्टर नराखी आफू अमेरिका उडेका अध्यक्ष चन्दले सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि भाडामा डाक्टर राखेको पाइएको छ । त्यो पनि नेपाल क्रिकेट संघले नै पारिश्रमिक दिनेगरी । क्यान आफैंले खर्च व्यहोर्नेगरी नेपाली मूलका अमेरिकी डाक्टर होमनाथ पन्तलाई भाडामा लिएको तथ्य बाहिरिएको हो ।
क्यानका सचिव पारस खड्काले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई जेठ २१ गते लेखेको जवाफी पत्रमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अवधिभरका डाक्टर होमनाथ पन्तलाई टोलीमा समावेश गरेको बताएका छन् ।
आईसीसीको कोटामा आफू नबसी चन्दले त्यसमा टिम डाक्टर राख्न सक्थे । त्यसो हुँदा डाक्टरको हुन आउने खर्च आईसीसीले नै व्यहोथ्र्यो भने चन्दले आफ्नो खर्च व्यहोर्नुपथ्र्यो । तर, उनले त्यसो गरेनन् । बरु क्यानको खर्चमा डाक्टर टोलीमा समावेश गरे । आफू आईसीसीको कोटामा बसे । आइसीसीको टोलीमा अमेरिका उडेका नेपाली क्रिकेट इतिहासमै चन्द पहिलो अध्यक्ष हुन् ।
आईसीसीबाट प्राप्त हुने २५ सदस्यीय सुविधाबाहेक सम्बन्धित संघहरूले आफ्नै स्रोतबाट खर्च बेहोर्नेगरि थप खेलाडी तथा अफिसियलहरू राष्ट्रिय टोलीमा समावेश गर्न पाउने प्रावधानअनुसार संघबाट खर्च बेहोर्नेगरि आईसीसीको स्वीकृतिमा टोलीमा समावेश गरिएको र विश्वकप क्रिकेट प्रतियोगिता अवधिभरका लागि एक जना स्थानीय अमेरिकन डाक्टर होमनाथ पन्तलाई समेत राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको व्यहोरा अनुरोध छ,’ क्यानका सचिव पारस खड्काले राखेपलाई लेखेको पत्रमा उल्लेख छ ।
यसअघि सन् २००८ मा विश्व क्रिकेट लिग डिभिजन ५ खेल्न नेपाली टोली जर्सी जाँदा व्यवस्थापकका रुपमा गएका तत्कालीन महासचिव टंक पनेरु विवादमा परेका थिए । यसपटक अध्यक्ष चन्द आफैंले अमेरिका भ्रमण गर्ने निर्णय गरेका हुन्, त्यो पनि स–पत्नी ।
आइसीसीले दिएको अफिसियल टोलीमा चन्दबाहेक १५ जना खेलाडी, प्रशिक्षक मोन्टी देसाई, बलिङ प्रशिक्षकमा रोडेरिक ओर्भिल इस्टविक, रमन सिवाकोटी (एनालिस्ट), विक्रम न्यौपाने (फिजियो), अब्दुल सतार (ट्रेनर), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दन हनमन्त फाडनिस (कन्सलटेन्ट प्रशिक्षक) अमेरिका गएका छन् । आईसीसीले संवादका लागि आवश्यक परेमा विभिन्न देशका मिडिया म्यानेजरलाई सम्पर्क गर्नु भनेर मिडिया नोट पठाए पनि क्यानले अझै मिडिया म्यानेजर उपलब्ध गराउन सकेको छैन ।
उता काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत पनि क्रिकेट हेर्ने बहानामा अमेरिका पुगेका छन् । उनले आफूलाई क्रिकेट प्रतियोगिता हेर्न भनेर क्यानले नै पत्र लेखेको भन्दै नगरपालिकामा बिदा स्वीकृत गराएका थिए ।
‘नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत समेत आफ्नै खर्चमा नेपालको खेल अवलोकनका लागि अमेरिका भ्रमणमा जानुभएको बुझिन आएको व्यहोरा उल्लेख छ,’ सचिवले राखेपलाई पठाएको पत्रमा भनिएको छ । नगरप्रमुख बस्नेतले भ्रमणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृति समेत लिएका छैनन् । अफिसियल भिजिटमा जाने हो भने मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाटै स्वीकृत हुनुपर्ने हुन्छ ।
क्यानका एकपछि अर्को विवादित कदमहरु बाहिरिसँग राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ र युवा तथा खेलकुद मन्त्रालय छानविनको घेरामा पर्ने पक्का छ । तथापी, क्यानका सचिव पारस खड्काले संस्थाभित्रकै सदस्यहरूले नेपाली क्रिकेटमा अराजकता फैलाउन खोजिरहेको र उनले त्यसविरुद्ध कानूनी कारबाही गर्ने चेतावनी दिएका छन्।
सोमबार सचिव खड्काले पछिल्लो नौं महिनायता क्रिकेटभित्र आफ्नो नेतृत्वले गरेका केही सराहनीय कार्यको फलस्वरुप संस्था सही मार्गमा अघि बढिरहेको उल्लेख गर्दै संस्थाको हित नचाहने जिम्मेवार व्यक्तिहरूले आफू र संस्थाविरुद्ध अराजगता फैलाएको बताएका हुन्। उनले त्यस्ता गतिविधिविरुद्ध छानबिन गरी कानूनी कारबाहीमा जाने चेतावनी पनि दिएका छन्।
"